हामी छुट्टै पहिचानसहित तपाईंहरू समक्ष ‘नारी नेपाल डटकम’ www.naarinepal.com लिएर आएका छौं । नारी नेपाल लिएर आउँदा हामी निकै हर्षित छौं । महिलाका विविध पक्षका विषयवस्तुलाई उचितरूपमा समेट्ने प्रयत्नसहित आएका छौँ ।
विभिन्न क्षेत्रमा महिलाले भोगिरहेका समस्याका विषय उठाएर तिनको नीतिगतदेखि व्यवहारिक समाधानका लागि पनि नारी नेपालमार्फत प्रयास गर्नेछौँ । सञ्चारमार्फत उद्यमका क्षेत्रमा महिलाको सहभागिता बढाउन र महिलालाई आत्मनिर्भर बन्ने बाटो देखाउन पनि हाम्रो प्रयास रहनेछ । महिला स्वास्थ्यका विशिष्ट पक्षमा पनि हामीले कलम चलाउँछौँ ।
महिलाका विषयवस्तुलाई सशक्त ढंगलले उठाउने र सञ्चार तथा सूचना प्रविधिमा महिलाको पहुँच वृद्धिका लागि हाम्रो निरन्तर प्रयास गर्नेछौं । नारी नेपालले समग्र महिलाका विषयवस्तुलाई स्थान दिनेछ । हामी शहरकेन्द्रित मात्रै हुने छैनौं । सौन्दर्य प्रतियोगिता र शहरका महिलाका विषय मात्र हाम्रा समाचार सामग्री बन्ने छैनन् ।
मकै पोलेर आफ्नो घर चलाएका सङ्घर्षशील महिलाका विषयवस्तुदेखि उच्च ओहदामा पुगेका सम्पूर्ण महिलाका विषय नारी नेपालमा अटाउनेछौँ । नारी नेपाल एउटा समाचार मात्र दिने अनलाइन पोर्टल मात्र नभएर महिला शसक्तीकरण, महिला र राजनीति, महिला र अर्थ, महिला र स्वास्थ्य, महिला सौन्दर्य लगायतका विषयवस्तुलाई समेट्ने छौ ।
महिला अधिकार, महिला शिक्षा, रोजगार, महिला अवसरका विषयवस्तुमा केन्द्रित भएर हामीले समाचार सामग्री पस्कनेछौ।
पछिल्लो दशकमा महिलाको प्रयास विभिन्न क्षेत्रमा सार्थक हुँदै गएको छ । महिलाले आफ्नो प्रयासबाट राजनैतिक, आर्थिक, कानुनी क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको अवस्था छ । सबै क्षेत्रमा महिलाको उपस्थितिलाई उल्लेखनीय बनाउन सञ्चार माध्यमको ठूलो योगदान छ ।
महिलाका सफलता र संघर्षका कथालाई सञ्चार क्षेत्रले अगाडि ल्याएकै कारण आज महिलालाई अगाडि बढ्न उत्पे्ररणा मिलेको छ । नारी नेपाल पनि अझै थप महिलाहरूलाई उत्पे्ररित गर्न निरन्तर लाग्नेछ ।
सञ्चार क्षेत्रमा महिलाको उपस्थिति उल्लेखनीय भइरहेको अवस्था हुँदाहुँदै पनि नेतृत्वदायी भूमिकामा भने अझै आउन सकेको अवस्था छैन । अब सञ्चार क्षेत्रमा पनि महिलाको नेतृत्व स्थापित हुर्नपर्छ भन्ने लाग्छ ।
नारी नेपालको स्थापना पनि यही सोचको उपज हो । हामी विस्वस्त छौं कि नारी नेपालको यो यात्रा समग्र महिलाको लागि महत्वपूर्ण कोशेढुंगा बन्नेछ । यसका लागि हामीलाई तपाईंहरूको निरन्तर सल्लाह सुझाव, प्रेरणा र शुभकामनाको आवश्यक छ ।