काठमाडौं । बाबा रामदेव सधैँ भन्नुहुन्छ ‘सब्जी तथा फलफूल काँचो खानु होस् उमेर बढाउनु होस्’ । नभन्दै केही सब्जी र फलफूललाई काँचै खाँदा धेरे फाइदा हुन्छ ।
आज हामी सात फलफूल तथा सब्जीको बारेमा बताउन गइरहेका छौँ जो काँचै खाएमा आफ्नो उमेर बढाउन तथा शरीरलाई फिटनेस राख्न धेरै नै सहयोग पुग्ने छ। तर, यी चिज काँचै खाने भएकाले रााम्ररी सफा गरेर खान आवश्यक छ ।
प्याज

प्याज शाकाहारी र मांसाहारी दुवैले प्रयोग गर्ने सब्जीमा पर्छ । प्याजलाई हामीले तरकारीमा मात्र पकाएर खाँदैनौ यसको सलाद पनि खाने गर्छौँ । प्याजलाई पकाएर भन्दा पनि काँचो खाएमा अझ धेरै फाइदा हुने विभिन्न अध्ययनले देखाएको छ ।
प्याजमा क्यान्सरसँग लड्न सक्ने एंटी–आक्सिडेंट्स तत्व हुने गर्छ । यसको जुस बनाएर पिउनु वा यसलाई काँचै खाने गर्नाले फोक्सो र प्रोस्टेट क्यान्सरबाट टाढा रहन सकिन्छ ।

नरिवल
नरिवललाई धेरै किसिमले प्रयोग गर्न सकिन्छ । कलिलो नरिवलको पानी पिउन सक्छाँै । नरिवलको पानी हाम्रो शरीरका लागि अति नै उपयोगी छ । गर्भवती महिलाका लागि त नरिवलको पानी झनै उपयोगी भएको चिकित्सक बताउँछन् ।
काँचो नरिवलले मष्तिष्कलाई चलायमान राख्ने गर्छ । यसले मष्तिष्कमा हुने अल्जाइमर रोग लाग्नबाट बचाउँछ र रोग लागिसकेकालाई पनि नरिवलको पानीले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने चिकित्सकको भनाइ छ ।
साथै, नरिवलको पानीले मुटुलाई समेत स्वास्थ राख्छ । तौल घटाउन मद्धत गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले हाम्रो छालालाई चम्किलो र सुन्दर बनाउँछ । स्वास्थ कपालका लागि पनि काँचो नरिवल अति उपयोगी रहेको बताइन्छ ।
पालुङ्गोको साग

पलुङ्गोको साग बच्चाका लागि मात्र होइन बयस्क र बुढाबुढीका लागि पनि उत्तिकै उपयोगी छ । पालुङ्गोको सागलाई हामीले सब्जी र सलादका रूपमा पनि खाँदै आएका छौँ । पालुङगोलाई काँचै सलादका रूपमा खाँदा अझ यसले बढी फाइदा गर्ने चिकित्सक बताउँछन् ।
पालुङ्गोमा क्लोरोफिंल, एेंटी–आक्सिडेण्ट, भिटामिन सी, ऐजाइम्स र अमिनो एसिड्स प्रचुर मात्रामा हुने भएकाले यसले हाम्रो स्वास्थका लागि अति लाभदायक छ । पालुङ्गोलाई पकाएर खाँदा यसमा रहेका तत्वहरु नष्ट भएर जाने विज्ञहरुको भनाइ छ । यदि पालुङ्गालाई काँचो सलादका रूपमा खान सकिएन भने यसलाई हलुका पकाएर खानु पर्छ ।
लसुन

लसुनलाई विभिन्न व्यञ्जनमा स्वाद बढाउनका लागि प्रयोग गर्ने कुरा त हामी सबैलाई थाहा छ । तर, यसको धेरै गुणहरुका बारेमा हामी सबै जानकार नहुन सक्छौँ । लसुन खानुका अनेक फाइदा छन् । यसमा पनि काँचो लसुन खानुका धेरै फाइदा छन् ।
यसमा एलिसिन नामक फायटोन्यूट्रिएंट हुने भएकाले लसुन काँचो खानाले हाम्रो शरीरमा राम्रोसँग अवशोषित गर्न सक्छ । मेडिकल डेलीको अध्ययनका अनुसार लसुन पकाएर खाँदा यसमा भएको एलिसिन नामक एन्जांइम खत्तम हुन्छ । एलिसिन तत्वले मुटुसम्बन्धि विरामी र क्यान्सरबाट समेत बचाउँछ ।
ब्रोकाउली

ब्रोकाउली साना बच्चाका लागि अति उपयोगी सब्जी हो । ब्रोकाउलीमा हुने भिटामिन के प्रचुर मात्रामा पाइन्छ । साथै, यसमा क्याल्सियम, पोटासियम, र प्रोटिनको मात्रा पनि अत्यधिक हुन्छ । यसमा क्यान्सरसँग लड्ने सल्फोराफेन नामक तत्व समेत हुन्छ ।
जर्नल अफ एग्रीकल्चर एण्ड फूड केमेष्ट्रीमा छापिएको एक अध्ययनका अनुसार जो मानिस काँचो ब्रोकाउली खान्छन् उनीहरुको शरीरमा सल्फोराफेनको मात्रा बढी पाइन्छ । यसले पनि ब्रोकाउली काँचो खानुमा कति फाइदा छ भनेर जान्न सकिन्छ ।
आँप

फलको राजा आँप सबैको रोजाइमा पर्छ । यसमा हुने विभिन्न तत्वले हाम्रो शरीरलाई अत्यधिक फाइदा गर्छ । प्रायः हामी पाकेको आँप खान मनपराउँछौं । तर, पाकेको आपभन्दा काचो आपले हाम्रो शरीरलाई बढी फाइदा गर्ने अध्ययनले बताउँछ ।
यसमा भिटामिन ए र सी, क्याल्सियम, आइरन र म्याग्नेसियमको मात्रा अधिक हुने गर्छ । काँचो आँपको जुसले हाम्रो पाचन शक्तीलाई राम्रो बनाउनुका साथँै छालालाई चमक दिन्छ ।
तर, आँप खाँदा हामीले ठिक्क मात्रमा खानुपर्छ किनकी यसले गर्मी बढी गर्ने भएकाले ठिक्क उपयोग शरीरका लागि फाइदाजनक हुन्छ ।
मेवा

पाकेको मेवाको गुणको बारेमा त हामी सबैलाई थाहा छ । तर, काँचो मेवाले पनि हाम्रो शरीरलाई अझ बढी फाइदा गर्छ भन्ने कुरामा जानकार नहुन सक्छौँ । यसमा भएको म्याग्निसियम, पोटासियम जस्ता मिनिरल्स और भिटामिन ए,सी,ई तथा बी को मात्रा अधिक हुन्छ ।
काँचो मेवामा पापाइन र काइमोपापाइन नामक दुइवटा इन्जाइम पाइन्छ । जसले बोसोलाई पतल्याउने काम गर्छ । यदि तपाईलाई वजन कम गर्नु छ भने काचो मेवाको जुस सेवन गर्न सक्नुहुनेछ ।
काँचो मेवा खाँदा वा यसको जुस पिउनाले महिनावारीको दुखाइबाट पनि राहत मिल्ने चिकित्सक बताउँछन् । काचो मेवाको सेवनले कब्जियतबाट पनि राहत मिल्छ ।
श्रोतः विभिन्न स्वास्थ म्यागेजिन