बालबालिकालाई कसरी हुर्काउने ? अभिभावकलाई नौं टिप्स

0
88

काठमाडौं । तपाईंले जति राम्रो वातावरणमा आफ्ना सन्तानलाई हुर्काउनु हुन्छ, त्यतिनै उनीहरूले जीवनमा सफलता प्राप्त गर्छन् । बालबालिकालाई उचित हेरविचार, सही पालनपोषण हुनुपर्छ ।

आफ्ना बालबालिकाको ख्याल राख्ने कुरा होस् वा माया दिने वा कडा रूपमा प्रस्तुत हुने, हरेक बच्चासँग भिन्न–भिन्न तरिकाले प्रस्तुत हुन जरूरी छ । हरेक बच्चाको स्वभाव र प्रकृति पनि फरक–फरक हुने गर्छ । उनीहरू जस्तो छन् त्यहीं अनुसार व्यवहार गर्नुपर्छ ।

बच्चा तपाईंको निम्ति सौभाग्य हो

आफ्ना बच्चाबच्चीलाई हामी सामान्यतया सम्पती नै ठान्छौ तर, बच्चा हाम्रो सम्पतीभन्दा पनि सौभाग्य हुन् । यो सौभाग्य खुसीको बहारको रूपमा तपाईंमार्फत आएको हो । आफ्ना बालबालिका माथि अधिकार जमाउन नखोज्नु होस् । उनीहरूलाई सहारा दिँदै हुर्काउनु होस् अनि उनीहरूको साथको आनन्द लिनु होस् । तपाईं आफ्ना बच्चाहरूलाई भविष्यको लागि गरिने लगानी नबनाउनु होस् ।

उनीहरू जे बन्न चाहन्छन्, त्यही बन्न दिनु होस्

बच्चा तपाईंको हो, तर उनीहरू जे बन्न चाहन्छन्, त्यही बन्न दिनु होस् । तपाईंले जीवनलाई जुन रूपमा बुझ्नुभएको छ, त्यसलाई आफ्ना बच्चाहरूमाथि थोपर्ने प्रयास नगर्नु होस् । तपाईंले आफ्नो जीवनमा जे–जति गर्नु भयो, तपाईंको बच्चाले पनि त्यही गर्न आवश्यक छैन ।

तपाईंका बच्चाहरूले केही यस्तो गर्नुपर्छ, जसको बारेमा तपाईंले आफ्नो जीवनमा कल्पना गर्ने हिम्मत समेत गर्नु भएन । उनीहरूलाई जे बन्न चाहन्छन्, त्यही बन्न दिनुहोस् तबमात्र, यो संसार अगाडि बढ्नेछ । त्यसो भएमा मात्र उनीहरु तपाईंभन्दा दुई कदम अघि हुनेछन् । साँचो माया दिनुहोस, जे माग्यो त्यही होइन

अभिभावकहरूमा यो गलत बुझाइ छ कि आफ्ना बच्चाहरूलाई माया गर्नु भनेको उनीहरूको हरेक इच्छा पूरा गर्नु हो । उनीहरूले जे–जे माग्छन्, ती सबै उनीहरुलाई उपलब्ध गराउँदै जानु हो । यदि तपाईंले यसो गर्न थाल्नुभयो भने, यो ठूलो मूर्खता हुनेछ ।

जब तपाईं स्नेह र प्रेमले भरिनुहुन्छ, तपाईंले त्यही मात्र गर्न सक्नुहुन्छ जे आवश्यक छ । तपाईं आफना बच्चा प्रति साँच्चिकै माया गर्नुहुन्छ र उनीहरुलाई अत्यावश्यक कुरामा ध्यान दिनु हुन्छ भने उचित हेरचाह, पालन पोषण गर्नुहोस् । त्यहीं नै तपाईंको असल प्रेम हो । न कि बजारमा देखेका सबै कुरा किन्दिएर माया गरेको हुन्छ ।

बच्चाहरूलाई ठूलो बनाउन हतार नगर्नु होस्, आत्मविश्वासी बनाउनु होस्

यो एकदमै महत्वपूर्ण छ कि एउटा बच्चालाई बच्चा नै हुन दिनुपर्छ; बच्चालाई एकैचोटि जवान बनाउने हतार नगर्नु होस्, किनकि पछि त्यसलाई उल्ट्याउन सकिँदैन । ऊ बच्चा छँदा, बच्चाको जस्तो व्यवहार गर्छ भने, यो राम्रो कुरा हो । बच्चालाई आरामले हुर्किन दिनुहोस; बच्चा हतार–हतारमा जवान हुनुपर्ने कुनै आवश्यकता छैन । बच्चालाई आत्मविश्वासी बनाउन सहयोग गर्नुहोस् ।

यो सिक्ने बेला हो, न कि सिकाउने

आफ्ना बच्चालाई सिकाउनको लागि तपाईंले जीवनको बारेमा के नै जान्नुभएको छ र ? यसो भनिरहँदा तपाईंलाई रिस उठ्न सक्छ तर साच्चै तपाईं हामीले कति धेरै नै जानेका होलाऔं र ?

तपाईं हामी बच्चालाई जीविको–पार्जनका केही तरिकाहरू मात्र सिकाउन सक्छौं किनकी जेनेरशन ग्याप र प्रविधिले विश्वमा दिन दिनै अनेक परिवर्तन आइरहेका हुन्छन् । ती सबै हामी सिकाउन सक्दैनौँ ।

जब तपाईंको जीवनमा बच्चाको आगमन हुन्छ, यो केही सिक्ने समय हो, न कि सिकाउने । जब घरमा बच्चा आउँछ, नजानिकनै तपाईं हाँस्नुहुन्छ, खेल्नुहुन्छ, गाउनुहुन्छ, उसको लागि खाटमुनि पनि घिस्रिनु हुन्छ ।

तपाईं ती सबै चीजहरू गर्नुहुन्छ, जुन तपाईंले बिर्सिनु भइसकेको थियो । त्यसैले, यो जीवनको बारेमा सिक्ने समय हो । न कि बच्चालाई यसो गर उसो गर भनेर कराइ कराइ सिकाउने ।

बच्चाहरू स्वाभाविक रूपमा आध्यात्मिक हुन्छन्

यदि बच्चाहरूलाई जथाभावी नसिकाइने हो भने, उनीहरू आध्यात्मिकतासँग एकदमै नजिक हुन्छन् । सामान्यतया, हामी आमाबुबा, शिक्षक, समाज तथा टेलिभिजनलगायत कसै न कसैले उनीहरूमा केहीं न केहीं थोपरिरहेका हुन्छौं ।

हामीले बच्चालाई यस्तो परिवेश सृजना गर्नुपर्छ्, जहाँ यस्तो बाहिरी हस्तक्षेप निकै कम होस् । जहाँ, बच्चालाई कुनै धर्मसँग पहिचान स्थापित गर्नको लागि नभई आफ्नो प्रज्ञा वा बुद्धिमतामा बढ्न प्रोत्साहन गर्नु होस् । त्यसबेला, अध्यात्म शब्द नजानिकनै बच्चा स्वतः आध्यात्मिक बन्दछ ।

प्रेम र साहाराले भरिएको वातावरण बनाउनु होस्

यदि तपाईं आफैँ डर, निराशा, रिस, जलन वा चिन्ताको दलदलमा फस्नु भएको छ भने, तपाईं कसरी आफ्नो बच्चाबाट खुसी र आनन्द अपेक्षा गर्न सक्नुहुन्छ ? उनीहरूले पनि त्यही सिक्ने छन्, जुन तपाईंले गरिरहनु भएको छ । तपाईंले गर्न सक्ने सबैभन्दा उत्तम काम भनेको माया, प्रेम, स्नेह, हाँसो र खुसीको माहोल सृजना गर्नु नै हो ।

बच्चालाई आफ्नो साथी बनाउनु होस्

बच्चाहरूमाथि आफ्नो कुरा थोपर्ने काम बन्द गर्नु होस् । साथै, उनीहरूको अगाडि हाकिम जस्तो व्यवहार गर्नुको सट्टा आफ्नो नजिकको साथी बन्नु होस् । आफूलाई बच्चाभन्दा माथि राखेर उनीहरूमाथि शासन नगर्नु होस् । बरु, आफूलाई उनीहरूभन्दा मुनि राख्नुहोस्, ताकि उनीहरू तपाईंसँग सहज भई कुरा गर्न सकून् ।

मान–प्रतिष्ठा नखोज्नुहोस्

तपाईं आफ्नो बच्चाहरूबाट माया र प्रेम चाहनुहुन्छ, होइन र ? तर, थुप्रै आमाबुबाहरू आफ्ना बालबालिकालाई यो भन्नुहुन्छ कि, ‘मेरो इज्जत गर्न सिक ।’ तपाईं यो संसारमा केही समय अगाडि आउनुभयो, शारीरिक रूपमा तपाईं बच्चाभन्दा ठूलो हुनुहुन्छ,

अनि तपाईंले जीवन निर्वाह गर्ने केही तरिकाहरू जान्नुभएको छ— यो बाहेक अरू के कुरामा हामी आफ्ना बच्चाहरूभन्दा उत्तम जीवन बाचेका छौं र ? यदि छौं भनेत धेरै राम्रो । बच्चालाई संस्कारी बनाउनु पर्छ तर, संस्कारका नाममा जर्वजस्ती नगर्नुहोस् । प्रेमले भनेका कुरा उनीहरुले विस्तारै सिक्दै जान्दछन् ।

बच्चाको आकर्षणको केन्द्र बन्नु होस्

बच्चालाई थुप्रै चिजले प्रभावित गरेको हुन्छ जस्तो परिवार, टेलिभिजन, छरछिमेक, शिक्षक, विद्यालय अनि अरू लाखौँ कुराले । बच्चालाई सबैभन्दा बढी जे आकर्षक लाग्छ, उसले त्यहीं कुरालाई पछ्याइरहेको हुन्छ । अभिभावकको रूपमा तपाईंले आफूलाई यस्तो बनाउनुपर्छ कि उसलाई आफ्ना आमाबुबासँग समय बिताउने कुराले सबैभन्दा बढी आकर्षित गरोस् ।

यदि तपाईं आनन्दित, बुद्धिमानी र अद्भुत मानिस हुनुहुन्छ भने, उसले बाहिर अरूको साथ खोज्दैन । हरेक कुराको लागि, उसले तपाईंलाई नै सोध्ने छ ।
यदि तपाईं साँच्चिकै आफ्ना बच्चाहरूको निम्ति राम्रो हेरचाह र पालन–पोषण सुनिश्चित गर्न चाहनुहुन्छ भने, सर्वप्रथम तपाईंले आफूलाई एक शान्त, स्नेही र आनन्दित मनुष्यमा रूपान्तरण गर्नु अपरिहार्य छ ।