सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा हाजिर जमानीमा रिहा

0
157

काठमाडौं । सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा बिहीबार हाजिर जमानीमा छुट्नु भएको छ । घाँटीको  क्यान्सरकी बिरामी सुब्बालाई उपचार निम्ति हाजिर जमानीमा छाडिएको राजस्व अनुसन्धान विभागले बताएको छ। उनलाई बुवा र श्रीमानको जिम्मामा लगाइएको छ ।

त्‍यस्तै, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पक्राउ परेका छन्।
यो प्रकरणमा अहिलेसम्म १८ जनालाई पक्राउ गरिएको थियो। तीमध्ये सुब्बामात्र छुट्नु भएको हो।

उनीहरूमाथि विभागले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट साउन २ गते छुटेको अन्दाजी १०० किलो सुन विभाग टोलीले बरामद गरेको थियो।

हङकङबाट क्याथे प्यासिफिक एयरवेजको जहाजबाट ल्याइएको ब्रेक(शुमा लुकाएर सुन भित्र्याइएको थियो। रेडी ट्रेड प्रालिले उक्त सामान मगाएको थियो।