काठमाडौं । अन्य मौसमको तुलनामा जाडो मौसममा बच्चाको हेरचाहमा विशेष ध्यान पुर्याउन पर्छ । जाडो मौसममा बच्चाको छाला सुख्खा, फुस्रो हुने गर्छ । बालबालिकालाई यो मौसममा विशेष हेरचाहको आवश्यक्ता पर्छ । यो मौसममा बालबालिकाको छालामा एलर्जी तथा र्यासेस पनि आउँछ ।
साथै, जाडो मौसममा बालबालिकालाई बाक्ला लुगा लगाइदिने भएकाले उनीहरूको छाला चिलाउनेदेखि पसिनासमेत आउँछ । जाडो मौसममा बालबालिकाको छाला हेरचाहका लागि मसाज र स्नानमा विशेष ध्यान दिनुपर्ने बाल रोग विशेषज्ञको सुझाव छ ।
दैनिक मसाज गर्नुहोस्
चिकित्सकका अनुसार बालबालिकालाई दैनिक मसाज गर्नु उत्तम हुन्छ । दैनिक मसाजले बच्चाको ब्लड सर्कुलेशनलाई राम्रो गर्छ । तेल सहितको मसाजले बच्चाको छाला नरम राख्छ । तर, हाम्रो समाजमा भर्खर जन्मेको शिशुबाहेक अन्य बालबालिकालाई दैनिक मसाज गरेको त्यति धेरै पाइदैन् ।
दैनिक मसाज गर्दा केहीं कुरामा भने ध्यान पुर्याउनै पर्छ । बालबालिकालाई चिसोमा राखेर वा झ्याल ढोका खोलेर मसाज गर्नु हुँदैन् । किनकी खुला ठाउँ वा चिसोमा मसाज गर्दा बच्चालाई उल्टै चिसो लाग्ने संभावना धेरै हुन्छ ।
चिकित्सककाअनुसार मसाज गर्ने कोठाको तापक्रम २८ देखि ३२ डिग्री सेल्सियसको बीचमा हुन आवश्यक हुन्छ । मतलब कोठा अलि तातो हुनपर्छ । मसाज गर्दा ध्यान पुर्याउनै पर्ने अर्को कुरा घरमा हिटर छैन् र कोठा पनि चिसो छ भने दैनिक मसाज गर्नु हुँदैन् ।
बरु दिउँसो घाममा बच्चालाई मसाज गर्न सकिन्छ । साथै, जाडो मौसममा मसाज गर्दा गर्मीको जस्तो लामो समय लगाएर मसाज गर्नु हुँदैन् १० देखि १५ मिनेट भित्रमा बच्चालाई मसाज गरिसक्नु पर्छ ।
मसाज गर्दा कुन तेल प्रयोग गर्ने ?
भर्खर जन्मेका शिशु वा अलि ठूला बालबालिकालाई मसाज गर्ने बेलामा अभिभावक दुविधामा पर्छन्, बालबालिकालाई कुन तेलले मसाज गर्नु ठिक हो ? किनकी पछिल्लो समय हामीले परम्परादेखि लगाउँदै आएको तोरीको तलले मसाज गर्दा बच्चालाई हानी हुने बताइन्छ, तर तोरीको तेलले बच्चालाई मालिस गर्दा समस्या नआउने चिकित्सक बताउँछन् ।
तोरीको तेल तताएर तपाईंले आफ्ना नानीबाबुलाई मसाज गर्दिन सक्नुहुन्छ । जाडो मौसममा जैतुनको तेल (ओलिभ वेल) प्रयोग गर्दा उत्तम हुन्छ । साथै, आल्मन्डको तेल छ भने पनि यसको प्रयोग गर्न सक्नु हुन्छ ।
तोरीको तेलमा चिल्लो पना धेरै रहन्छ भने आल्मण्ड र जैतुनको तेल बच्चाको शरीरमा छिटो मिल्छ र चिल्लोपना बढी रहँदैन् । यसरी बच्चालाई दैनिक तेलले मसाज गर्दिनु भयो भने उनीहरूको हड्डी मजबुद हुनुका साथै छाला नरम बन्नेछ ।
दैनिक नुहाइदिनु होस्
बच्चालाई दैनिक नुहाउँदा चिसो लाग्छ भनिन्छ । तर, चिकित्सक भने बच्चालाई दैनिक नुहाइदिन सुझाव दिन्छन् । बच्चालाई दैनिक नुहाउँदा उनीहरूमा दैनिक नुहाउने बानी बस्नुका साथै, फ्रेस पनि हुन्छन् । बच्चालाई दैनिक नुहाउँदा हामीले केहीं कुरामा भने ध्यान दिनु पर्छ । किनकी जाडो मौसममा बच्चा नुहाउने काम गर्मीमा जस्तो सजिलो हुँदैन् ।
बच्चालाई नुहाउँदा ५ देखि १० मिनेट भित्रमा नुहाइ सक्नुपर्छ । दैनिक नुहाउँदा धेरै पानीको आवश्यक्ता पर्दैन । बच्चालाई नुहाउने पानी मन तातो मात्र हुनु पर्छ न कि धेरै तातो वा चिसो ।
नुहाउनु अघि नै बच्चाले लगाउने कपडा, तौहियालगायतका सामान तयारी अवस्थामा राख्नु पर्छ । बच्चालाई नुहाइसकेर यी सामान खोज्न थाल्नु हुँदैन् ।
बाहिर धेरै जाडो छ र बच्चालाई नुहाउन सकिएन भने बच्चालाई ननुहाइकन टावेललाई मनतातो पानीमा चोबेर त्यसलाई निचोरेर त्यहीं टावलले पुछ्न पनि सक्नु हुन्छ । बच्चाको कपडा दैनिक फेरिदिनु पर्छ ।