काठमाडौं । आजको जंक फूडको जमनामा सातुलाई सामान्य खाद्यका रुपमा लिन्छौं । सातुलाई हामी धेरैले बच्चालाई मात्र खुवाउने खाद्य सामग्रीका रुपमा मात्र पनि लिन्छौं । तर सातु एउटा सामान्य खाजामात्र नभएर यो शाकाहारीमा प्राप्त हुने प्रोटिन र उर्जाको पावरहाउस नै हो ।
यो एउटा सुपरफुड हो, प्रोटिनको घर नै हो, जुन चाहिँ हामीले परम्परादेखि खाँदै आएको सातुमा पाउँछौ । सातुमा बलियो पोषक तत्व पनि पाइन्छ । सातु सामान्य खान्कीका रुपमा लिंदै आएका हामीलाई पछिल्लो समय विभिन्न खाद्य विज्ञले पनि सातु खान सुझाउन थालेका छन् ।
सातुमा विविध सूक्ष्म र म्याक्रोन्युट्रिएन्टहरु हुन्छन् । जसले हामीलाई अद्भूत स्वास्थ लाभ दिन्छ । सातुमा प्रोटिनको गुणस्तर त्यति नै राम्रो हुन्छ । यसमा विभिन्न अनाज मिसाएर बनाउने भएकाले यसमा प्रोटिन प्रशस्त पाइन्छ । सातु सबै प्रकारका विरामी वा स्वस्थ मानिसले खान सक्छन् ।
अझ यसलाई कम वजन र ऊर्जा कम भएका व्याक्तिले त खानै पर्छ । सातु पनि कम ग्लाइसेमिक इन्डेक्स र ग्लाइसेमिक लोड भएको कार्बोहाइड्रेट युक्त खाना हो । यसलाई मधुमेह रोगीले पनि खान सक्छन् ।
साथसाथै, यसमा फाइबरको मात्रा प्रचुर हुनाले पनि पेटको समस्या भएका मानिसलाई पनि अति लाभदायक हुन्छ । यसले कब्जियतलाई पनि कम गर्छ । साथै, तौल घटाउन पनि मद्दत गर्छ ।
यो सुपरफुड ग्लुटेन–रहित र शाकाहारी खाद्य हो । यो लामो शेल्फ–लाइफ उत्पादन क्याल्सियम, फलाम, म्याग्नेसियम, जिंक र फस्फोरस जस्ता सूक्ष्म पोषक तत्वहरुले भरिएको छ ।
जसले हाम्रो हड्डी र मांसपेशीको स्वास्थलाई सुधार गर्नुका साथै प्रतिरक्षा प्रणाली निर्माण गर्न मद्दत गर्दछ । यसमा भएको आइरनले कपालमा आउने समस्याहरुलाई समेत सामधान गर्छ । यसले कपाल झर्न कम गर्नुका साथै, जराहरुमा अक्सिजनको मात्रा प्रवाह गर्दछ ।
कपालको गुणस्तरलाई सुधार गर्छ । यसमा हुने उच्च बी जटिल भिटामिन सामाग्रीले ऊर्जा प्रदान गर्नुका साथै मस्तिष्कको विकास र सेल मेटाबोलिज्ममा मद्दत गर्न सहयोग गर्छ ।
कसरी बनाउने सातु
हामीले अलिकती मिहिनेत गर्यौ भने उच्च गुणस्तरको सातु घरमा नै बनाउन सक्छौं । सातु बनाउँदा बजारबाट मकै, गहुँ, फलेको जौं, मुंगको दाल, भटमास, चना ल्याउने र त्यसलाई पखालेर भुट्ने ।
यसमा काजु,देशी बदाम,ओखर र छोगडा पनि थोरै थोरै भुटेर सँगै मिलमा लगेर पिस्ने अब सातु खानका लागि तयार हुन्छ ।
सातु खाने तरिका
–सामान्य पानीमा घोलेर

सातुलाई हामीले जसरी परम्परागत रुपमा मनतातो पानी वा गर्मीको समयमा चिसो पानीमा घोलेर र त्यसमा नुन, चिनी, कागती राखेर खाने गरेका छौं त्यसरी पनि खान सक्छौ ।
यसरी खाँदा २ चम्चा सातुमा स्वादअनुसार नुन र चिनी राख्ने र छ भने अलिकति कागती निचोरेर एक गिलास पानीमा घोलेर खान सकिन्छ । यसले तपाईलाई उच्च उर्जा दिन्छ ।
अन्य आहारमा पनि सातु समावेस गर्न सक्नु हुन्छ
तपाईले खाने अन्य आहारमा सातु समावेश गर्ने अनगन्ती तरिकाहरु छन् । सातुले शरीरलाई चिसो पार्ने यूएसपीसँग इलेक्ट्रालाइट सन्तुलनमा मद्दत गर्छ । र, शरीरलाई भित्रबाट हाइड्रेट गर्छ । गर्मीमा तपाईले एक दुई चम्चा सातुमा चिसो फ्रेस पानी राखेर पिउँदा अन्य तयारी पेय पदार्थ पनि पिउनु पर्दैन् ।
यसरी सातु पानी पिउँदा अन्य पेय पदार्थमा हुने चिनीको मात्राबाट तपाई टाढा रहनु हुन्छ । सातुमा तपाईले तुलसीलगायत अन्य आयुर्वेद औषधी, नुन, थोरै मह वा चिनी र कागती राखेर पनि पिउन सक्नु हुन्छ । यो एउटा आदर्श शीतल पेय पदार्थ बन्छ बिशेषगरी गर्मीका लागि ।
सातुलाई तपाईले परठामा पनि समावेश गरेर खान परठा बनाएर खान सक्नु हुन्छ । चोखा, सातु बर्फी, सातु दलिया आदि बनाएर पनि खान सक्नु हुन्छ । सातुलाई गाउँको हर्लिक्स पनि भनिन्छ । यसको सामूहिक स्वास्थ लाभ छन् । यो एक धेरै सामग्री मिलाएर बनाउने शक्ति वर्दक खाने कुरा हो ।

जो बच्चादेखि वृद्धसम्मका लागि काम आउँछ । आजभोली हामीले हाम्रो दैनिक जीवन र खानेशैली परिवर्तन गरेकाले सातुलाई दैनिक खानामा कम समावेश गरेपनि यसको पौष्टिक आहार र शक्तिलाई आज पनि नकार्न सकिदैन् । स्वास्थ जीवनशैलीका लागि सातु अपरिहार्य नै छ ।
सातुको शक्ती र उर्जाको बारेमा धेरै कुरा गर्यो । ल आउनुहोस् अब ग्रीन सातु बनाएर खाऔं ।
ग्रीन सातु बनाउने तरिका
सामग्री
१ देखि २ चम्चा सातु
२/४ वटा पुदिनाको पत्ता
केहीं हरियो धनियाँ
हरियो खुर्सानी स्वादअनुसार
१ चम्चा जिरा पाउडर
१ चम्चा चाट मसला
आधा चम्चा मरिच धुलो
आधा चम्चा अज्वाइन
१ चम्चा कागतीको रस
विरे नुन वा सामान्य नुन स्वादअनुसार
विधि
सबै सामग्रीलाई थोरै पानीमा मिसाएर पेष्ट बनाउनुहोस् । थप पानी थपेर पुन घोल्नुहोस् । गर्मी मौसम छ भने चिसो पानीमा चिसो मौसम छ भने मनतातो पानीमा बनाएर खानुहोस् ।