रेष्टुरेन्टको भन्दा मिठो मुसुरो, पालुङ्गो र चकुन्दरको तातो–तातो सुप, यसरी बनाउनुहोस्

0
51

काठमाडौं । जाडो मौसममा तातो तातो सुप सबैको रोजाइमा पर्छ । जाडो मौसममा मात्र होइन कोरोना कहरमा त सुपको महत्व र आवश्यक्त अझ धेरै बढेर गयो ।

ताततातो सुपले हाम्रो शरीरको तापमानलाई सन्तुलित राख्नुका साथै यसले ताजगी, स्फूर्ती पनि प्रदान गर्छ । साथै यसमा भएका सामग्रीले हामीलाई पोषण पनि मिल्छ । सुप पकाउन सजिलो हुनुका साथै मोटोपन घटाउनका लागि सहयोग पुग्छ ।

आज हामी जाडोमा खान सकिने ३ वटा भेज सुपको परिकार तपाईहरुलाई पस्कदैछौं । तातो सुप बनाएर खानुहोस् ।


मुसुरो दालको सुप


प्रसस्त प्रोटिन पाइने मुुसुरो दाल हामी सबैका घरमा हुन्छ । सामान्य दालका रुपमा मात्र खाँदै आएका हामीले यसालाई सुपका रुपमा पनि खान सक्छौं । यसरी मुसुरो दाललाई सुप बनाएर खानुहोस् जसले तपाईलाई न्यानो पन मात्र दिंदैन् तपाईको शरीरमा प्रोटिनको मात्रा प्रसस्त पुर्‍याउँछ भने स्वास्थ पनि राम्रो राख्न सहयोग गर्छ ।

सामग्रीः
मुसुरोको दाल एक कचौरा, २ वटा गाजर, ३/४ वटा टमाटर, स्वादअनुसार नुन, थेरै बेसार, मरिचको धुलो, हरियो धनियाँको पत्ता, एकचम्चा चिनी –आवश्यक भएमा, प्याजको सानो टुक्रा ।

बनाउने विधि
मुसुरीको दाल, गाजर र टमााटरलाई राम्ररी पानीले पखाल्ने । कुनै पनि सब्जी पखाल्दा सब्जी काटेर भन्दा पनि काट्नु अघि नै पखाल्नुपर्छ । काटेर पखाल्दा सब्जीमा भएको पोषण पनि केहीं पखालिन सक्छ ।


गाजर र टमाटरलाई सानो सानो टुक्रामा काट्ने । धोएर राखेको मसुरोको काचो दालमा भर्खरै काटेको टमाटर र गाजरलाई एउटा कुकरमा हाल्ने र, यसमा ३ गिलास पानी राख्ने, स्वाद अनुसार नुन र थोरै बेसार पनि हाल्ने र कुकरको विर्को लगाइ दुई सिट्टी लगाउने ।

दुई सिट्टी लागेपछि ग्यास वा आगो बन्द गरेर बाहिर निकाल्ने र केहीं बेर चिसो हुन दिने । चिसो भएपछि मिक्चरमा पिस्ने । मिक्सर नभए तपाईले कुकरमा ३ सिट्ठी लगाएर डाडुले गाजर र टमाटरलाई घोल्न सक्नु हुनेछ । मिक्चरबाट निकाले सुपलाई पुनः उमाल्नु पर्छ ।

उम्लिदै गरेको सुपमा कालो मरिचको धुलो हाल्नुहोस् । अब सुप खानका लागि तयार पएको छ । यसरी तयार पारिएको दालको सुपले तपाईको शरीरलाई प्रोटिनको मात्रा पनि पुर्‍याउँछ र मोटो पन हुनेलाई मोटाइ घटाउन पनि सहयोग पुग्छ ।

चुकन्दर सुप


चुकन्दर विषेशगरी वजन घटाउनेका लागि फलदाही छ । चुकंदरमा आइरन, सोडियम, पोटाशियम, फास्फोरस तथा अरु पोषक तत्वहरु हुन्छ । यसलाई खाँदा शरीरमा रगत सफा हुने र रगतको कमी हुन दिदैन ।

यदि तपाई सुगरको रोगी हुनुहुन्छ भने चुकंदर तपाईको लागी निकै फाइदाजनक हुन्छ किनभने यसलाई खाँदा सुगर लेवल नियन्त्रण हुन्छ ।

डाक्टरहरुले पनि एनीमियाको विरामीलाई स्वास्थ्यको लागी चुकंदर खानको लागी सल्लाह दिन्छन्, किनभने यसमा भरपुर मात्रामा आइरन, भिटामिन र मिनरल्स् पाइन्छ ।

यसलाई रगतलाई त बढाउछ नै साथै रगतलाई सफा बनाउने काम पनि गर्दछ । महिलाहरुले आफनो खानामा चुकंदर पनि समावेश गर्नु पर्दछ किनभने रगतको कमीको समस्याहरुबाट महिलाहरु धेरै प्रभावित हुने गर्दछन् ।

चुकन्दर सुपका लागि चाहिने सामग्रीः
सानो सानो दुई वटा चुकन्दर, दुई वटा टमाटर, दुई वटा गाजार, मरिचको धुलो, नुन स्वादअनुसार, पनिरका टुक्रा, बेसार
बनाउने विधि
गाजार, टमाटर, र चुकन्दरलाई राम्ररी पखाल्ने र सानो सानो टुक्रामा काट्ने । दालको सुप बनाए झै यसलाई पनि कुकरमा २ सिट्ठी लगाउने । यसरी प्रेशर कुकरमा सिट्ठी लगाउँदा यसमा भएको पोषणको मात्रा कम हुँदैन् ।

कुकरमा सिट्ठी लगाएपछि यसलाई पनि झिकेर केही बेर चिसो हुन दिनुहोस् । चिसो भएपछि मिक्सचरमा राखेर घोल्ने । यसरी घोलेको चुकन्दर सुप बाक्लो हुन्छ ।

आफूले चाहे जसरी यसमा थोरै पानी र कालो मचिरको धुलो तथा स्वादअनुसार नुन राखेर पुन एकछिन उमाल्ने । यसमा केहीं पनिरका टुक्रा पनि हाल्न सक्नु हुने छ । पनिरले सुपलाई अझ स्वादिष्ट बनाउँछ । अब तातो तातो चुकन्दर सुप तयार भएको छ बटुका वा कपमा राखेर पिउनुहोस् ।

पालुङगोको सुप


पालुङगोको सुप धेरै नै सावादिष्ट र पोषण युक्त पनि हुन्छ । पालुङगोको सुप बालबालिका लागि पनि पौष्टिक आहारका रुपमा अति फलदायी छ । पालुङगोको सुप बनाउनका लागि पनि गाजर र टमाटर भने छुटाउँनु हुँदैन् ।

पालुङगोको सुपका लागि चाहिने सामग्रीः
हालको मुठीको एक मुठा पालुङगोको साग, २ वटा गाजर, २ वटा टमाटर,
सानो कचौराको एक कचौरा मुङ दाल, स्वादअनुसार नुन, थोरै बेसार, मरिचको धुलो, उपलब्ध छ भने कलिलो दुधे मकै ।

बनाउने विधि
यी सबै सामग्रीलाई प्रेसर कुकरमा ३ देखि ४ सिट्ठी लगाउने । मुङको दाल भएकोले सिट्ठी अली बढी लगाउनु परेको हो । पाकिसकेको सुपलाई सेलाउन केहीं बेर छोडेने र चिसो भएको सुपलाई मिक्सचरमा घोल्ने ।

अन्य सुपमा झैं यसमा पनि मरिचको धुलो र स्वादअनुसार नुन राख्ने र केही बेर उमाल्ने । मन पर्छ भने यसमा तपाईले कागती पनि राख्न सक्नु हुन्छ । यसमा तपाईले हरियो कलिलो मकै छ भने राखेर उमाल्न पनि सक्नु हुन्छ ।

हरियो कलिलो मकैले सुपलाई अझ स्वादिष्ट बनाउन मद्दत गर्छ । यसरी बनाएको तातो–तातो सुपलाई बाउल वा कपमा राखेर खान सक्नु हुने छ ।