महिनावारी हुँदा किन अत्यधिक पेट दुख्छ ? यसरी गर्नुहोस् सामधान

0
71
1279813225 RealPeopleGroup/Getty Images

भनिन्छ, महिनावारीमा पेट दुखाइको पीडा दुख्नेलाई थाहा हुन्छ, त्यसको पीडा कस्तो हुन्छ । यो कुरा सत्य पनि हो । महिनावारीमा अधिकांश महिलाले पेट दुखाइको अनुभव लिएकै हुन्छन्, फरक यति छ कि कसैलाई कम दुख्छ त कसैलाई अधिक ।

महिनावारीमा यसरी बेस्सरी पेट दुख्नुलाई चिकित्सा विज्ञानमा dysmenorrhea भनिन्छ । यस्तो दुखाइ तल्लो पेट, कम्मर, ढाडको तल्लो भाग, तिघ्रा र शरीरका जोड्नी भएका भागमा हुने गर्छ । महिनावारी हुँदा रगत बाहिर पठाउन पाठेघरमा छिनछिनमा संकुचन आउँछ र त्यस क्रममा पेट र शरीरको अन्य भाग झनै दुख्छ ।

यसरी दुख्नुमा पाठेघरको मुख कम खुलेर पनि हो । किशोर अवस्थामा तरुण अवस्थाभन्दा पाठेघरको मुख कम खुल्नाले पनि किशोर अवस्थामा बढी पेट दुख्ने गर्छ । पछि सन्तान भएपछि त पाठेघरको मुख खुल्ने भएकाले पीडा कम मात्रमा महसुस हुनसक्छ वा हुँदैन पनि ।

साथै, महिनावारीमा महिलाको शरीरमा हार्मोनको उत्तारचढावका कारण पनि पीडा हुन्छ । हार्मोन परिवर्तनका कारण महिलामा शारीरिक पीडामात्र होइन, चिन्ता बढ्ने, स्तन दुख्ने, जिउ भारी हुने, पेट फुलेजस्तो हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन हुने, गोडा वा अन्य भाग सुनिने जस्ता समस्या देखिन सक्छ ।

दुखाइ कसरी कम गर्ने ?

केहीलाई त यति पेट दुख्छ कि सहन निकै मुस्किल पर्छ । महिनावारीको समयमा महिलालाई सबैभन्दा धेरै आरामको आवश्यकता पर्छ । आरामका साथसाथै तपार्इंले कम दुखेको वा न दुखेको बला भने व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । दुखाइ कम गर्न हट वाटर ब्यागमा तातो पानी राखेर सेक्नुपर्छ ।

कसैलाई पेटमा सलले कसेर बस्दा पनि दुखाइ कम हुन्छ । यस्तो बेलामा प्रशस्त झोलिलो र तातो खानेकुरा खानुपर्छ । यो समयमा हलुका किसिमका कसरत वा व्यायामले पनि गर्न सक्नुहुन्छ । हलुका व्यायामले शरीरलाई स्फूर्त बनाउनुका साथै दुखाइ पनि कम गर्छ । दुखेको सहनै सकिएका छैन भने महिनावारी हुँदा पेट दुखाइ कम गर्ने औषधी लिनु भए हुन्छ ।

तपाईंलाई पेट अत्यधिक दुख्छ भने एकपटक चिकित्सकको सल्लाह लिनु नै सबैभन्दा उपयुक्त हुन्छ । महिनावारीमा पेट दुख्नु सामान्य भएकाले यसले भविष्यमा कुनै असर गर्दैन । तर, यस किसिमको पेट दुख्नुमा यसका अन्य केही समस्या छन् कि भनेर एकपटक चिकित्सकलाई देखाउन भने सक्नुहुन्छ ।

चिकित्सकसँगको कुराकानीमा आधारित