अनुहारमा चाउरी पर्न नदिन अपनाउनुहोस् यी उपाय

0
127

काठमाडौं । ३० वर्ष कटेपछि महिलाहरूको सौन्दर्यमा परिवर्तन देखिन थाल्छ । आजभोलि मोबाइल, कम्प्युटर, ल्याप्टपमा बस्ने बानीले पनि हाम्रो छालालाई चाँडो बूढो बनाउँदै लगेको छ । सूर्यको प्रत्यक्ष किरणले पनि हाम्रो छालामा चाँडै चाउरीपना ल्याउँछ । यसैले उमेर बढेसँगै आफ्नो सौन्दर्यको पनि उचित हेरचाह गर्नुपर्छ ।

३० वर्ष कटेपछि विशेषगरी अनुहार र हातको छालालाई कसरी हेरचाह गर्ने भनि हामीले ब्यूटीसियनलाई सोधेका छौं । उहाँहरूका भनाइअनुसार तपाईंले आफ्नो छालाको हेरचाह यसरी गर्नुहोस् ।

३० वर्षपछि हाम्रो छालामा देखिन सक्ने समस्या


छाला सुस्त हुने
चाँडै बूढोपन देखिने
छाला तन्किने
छालमा सुक्खापन आउने
चाउरी पर्ने

समाधानको उपाय

मोइस्चराइजर लगाउनुहोस्
आँखा वरिपरिको छालाको हेरचाह गर्नुहोस्
रातमा पनि अनुहार र छालाको होरचाह गर्नुहोस्
डाक्टरको सल्लाह
सन्तुलित आहार
मोइस्चराइजर लगाउनुहोस्


३० वर्ष पुगेपछि नियमित रूपमा छालामा मोइस्चराइजर लगाउनुपर्छ । मोइस्चराइजर गर्नुपूर्व आफ्नो छाला कस्तो किसिमको छ चिल्लो वा ड्राइ त्यो छुट्ट्याउनुपर्छ । छालाअनुसार घाममा निस्कनुअघि अनुहार र हातलाई फेसवास गर्नुहोस् ।

त्यसपछि मोइस्चराइजर लगाउनुहोस् । मोइस्चराइजरपछि आफूले लाउने गरेको जुनसुकै क्रिम लगाउन सक्नु हुनेछ । मोइस्चराइजरले छालालाई पोषण दिने काम गर्छ । र, छालामा हुने चाउरी पनालाई कम गर्छ । साथै, भिटामिन सी र बायो तेल भएको मोइस्चराइजर प्रयोग गर्नुभयो भने यसले छालालाई नरम बनाइराख्छ ।

आँखा वरिपरिको छालाको हेरचाह
३० वर्ष कटेपछि हामीले नियमित आँखाको हेरचाह गनुपर्छ । उमेर बढ्दै गएपछि आँखाको वरिपरिको छालामा चाउरीपना देखिन थाल्छ । चाउरी पनाले उमेर बढ्दै गएको संकेत गर्छ । आँखाको हेरचाहका लागि आँखा वरिपरि लगाउने क्रिम प्रयोग गर्न सक्नु हुनेछ ।

क्रिमले आँखाको भागलाई नरम बनाउनुका साथै आँखामा हुने थकानलाई पनि मेटाउँछ । आँखाको हेरचाह गर्दा बारम्बार रगड्ने र बारम्बर पानी छ्याप्ने गर्नु हुँदैन । यसले आँखामा नोक्सान गर्छ । तर, बिहान र बेलुका अनुहार सफा गर्दा आँखामा पानी छ्याप्दा आँखामा हुने विकार हटाउन सहयोग गर्छ ।

रातमा अनुहार र छालाको हेरचाह गर्नुहोस्
हिजोआज हामी घरबाट बाहिर निस्कनसाथ दूषित प्रदूषणको सम्पर्कमा पुग्छौं । दूषित प्रदूषणले अनुहार तथा अन्य भागको छालालाई प्रत्यक्ष असर गर्छ । वातावरणमा भएको धूलो हाम्रो शरीरमा टासिन पुग्छ । साथै, बाहिर निस्कँदा कटन सलले आफ्नो अनुहार छोप्न आवश्यक छ । सलले अनुहार छोप्दा केही हदसम्म तपाईं प्रदूषणबाट बच्न सक्नुहुन्छ ।

साथै, रातमा घर फर्किएपछि अनुहारको हेरचाहमा जुट्नुपर्छ । राति अनुहारलाई राम्ररी धुनुपर्छ । दिनमा लगाएको मेकप पखाल्न पनि हामीले रातको समयमा अनुहार सफा गर्नुपर्छ । रातमा नबिर्सिकन अनुहार फ्रेस पानीले सफा गर्नुहोस् ।

डाक्टरको सल्लाह
छालालाई राम्ररी हेरचाह गर्दागर्दै समस्या आएमा तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् । डाक्टरको सल्लाहअनुसार समस्याको सामधान खोज्नुपर्छ । डाक्टरको सल्लाहअनुसार गरिएको उपचारले पुनः अनुहारमा पहिलाकै जस्तै चमक ल्याउन सहयोग पुग्छ ।

सन्तुलित आहार
उमेर बढ्दै गएपछि छालाको हेरचाहका लागि खानपानमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ । खासगरी, ३० वर्ष कटेपछि खानपानमा विशेष ध्यान दिनुपर्छ । सन्तुलित आहारले हाम्रो शरीरलाई मात्र फाइदा गर्दैन, यसले छालालाई सुन्दर बनाउन पनि सहयोग गर्छ । हामीले हाम्रो आहारमा तोफु, माछा, मेवा, एभोकाडो, सोयविनजस्ता खानेकुरा समावेश गर्नुपर्छ । सलाद अनिवार्य खानुहोस् ।

छालालाई कागतीको पानी र नरिवलको पानीले धेरै फाइदा गर्ने भएकाले यसको सेवन गर्नुहोस् । लामो समयसम्म भोको बस्नु हुँदैन, समय–समयमा हल्का–फुल्का खाना खाइरहनुपर्छ । छाला चाउरिनबाट जोगिन यी विधि अपनाउनु भयो भने तपाईंले फरक अनुभव त गर्नु हुन्छ नै साथै, स्वास्थ्यमा पनि परिवर्तन पाउनुहुन्छ ।