अन्धविश्वासलाई तोड्दै सुदुरपश्चिमकी संगिता सगरमाथाको चुचुरोमा

0
131

काठमाडौं । सुदुरपश्चिम प्रदेशकी २६ वर्षिया संगिता रोकायाले हिजो शनिबार दिनको १२ बजेर ३८ मिनेटमा सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले सरगमाथाको चुचुरोमा ‘छाउपडी उन्मुलन’ को ब्यानरसहितको तस्वीर पनि खिचाउनु भएको छ ।

पाँच वर्षको कठिन मिहिनेत र दह्रो आत्मबलका कारण आफू विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न सफल रहेको उहाँको भनाइ छ । सगरमाथा चढ्नका लागि एक महिना अघि बेसक्याम्प पुग्नु भएकी संगिताले कयौं कठिनका बावजूद आरोहण सफल पार्नु भएको हो ।

बझाङ जिल्लाको साईपाल गाउँपालिकामा जन्मिनु भएकी संगिता सोही गाउँकै वडा नं ४ की वडाध्यक्षकी छोरी पनि हुनुहुन्छ । सात जना भाइवैनीकी अभिभावक संगिता घरकी जेठी छोरी हुनुहुन्छ । संगितालाई आफ्ना आँखा अघि देखिने साइपाल हिमाल चढ्न निकै रहर लाग्थ्यो ।

तर, हिमाल चढ्ने पेशा वा हिमालको यात्रा गरेका न त उहाँका घरमा कोहीँ थिए न सुदुरपश्चिममा हिमाल चढ्न महिलालाई प्रोत्साहान गरिन्थ्यो । हिमाल कसरी चढिन्छ उहाँलाई थाहा पनि थिएन ।

अहिले बेसक्याम्पमा ओर्लिनु भएकी संगितासँगको कुराकानीमा उहाँ भन्नुहुन्छ ‘सुदुरपश्चिमा महिलाले हिमाल चढ्न त्यति राम्रो मानिदैन तर आफूले सुदुरपश्चिमकै नाम राख्दै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दा औधी खुसी लागेको छ ।’  सुदुरपश्चिममा महिलाले हिमाल चढ्नु हुँदैन भनिन्छ । हिमालमा भगवानको बास हुने भएकाले महिलाले हिमाल चढ्नु हुँदैन भन्ने अन्धविश्वास अझै पनि रहेको छ ।

उहाँ अगाडि भन्नुहुन्छ ‘म समाजमा छुट्टै पहिचान बनाउन चाहन्थे । र, महिलाले पनि साहसी कार्य गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्थे । यही इच्छाले होला मैले सगरमाथाको सफल आरोहण गर्न सके ।’

संगिताले सगरमाथाको चुचुरो चुम्नु अघि निकै संघर्ष गर्नु प¥यो । उहाँको मनमा हिमाल चढ्ने सपना भएपनि कसरी हिमाल चढ्ने कुनै मेलोमेसो थिएन । सन् २०१८ मा सुदुरपश्चिममा एउटा अभियान चल्यो महिलालाई साइपाल हिमाल चढाउने । साइपाल हिमाल चढ्नका लागि संगिता राजी हुनुभयो ।

उहाँसगै अन्य चार जना महिला पनि हिमाल चढ्न जानु भयो । सामान्य ट्रेनिङ लिनु भएका उहाँहरूलाई हिमाल चढ्न निकै गाह्रो भयो । उहाँहरूको मिसन पनि सफल हुन सकेन । लगत्तै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको माहामारीले उहाँको सपनालाई पनि अघि बढ्न दिएन । कोरोना भाइरस कम भएसँगै उहाँले मनास्लु हिमाल चढ्ने अठोट गर्नु भयो । मनास्लु हिमालको आरोहण पनि सफल हुन सकेन ।

एकपछि अर्को असफलता भएपनि संगिताले हार मान्नु भएन । उहाँले अब सगरमाथा नै चढेर सफल यात्रा तय गर्ने भन्दै आफ्नो मनलाई सान्त्वना दिनु भयो र अगाडि बढेका पाइला रोक्नु भएन । संगिताको एकपछि अर्को असफलताका कारण गाउँमा अब यसले हिमाल चढ्न सक्दिन पैसा मात्र सकि भन्न थालिसकेका थिए । तर, संगिता हार मान्नेवाला केटी हुनुहुन्थेन उहाँको भित्री मनमा एकदिन सगरमाथा चढेर देशमा नाम राख्ने छु भन्ने थियो ।

नभन्दै पाँच बर्षको अथक प्रयास र कयौं ट्रनिङका बावजूद उहाँ आज सिंगो देश र सुदुरपश्चिमको नाममा सगरमाथाको शिखर चुम्न सफल हुनुभयो । उहाँ हिमाल चढ्दाको समय सम्झदै भन्नुहुन्छ ‘हिमाल चढ्ने कुरा चानचुने कुरा होइन । चढ्दा चढ्दै मृत्यु कुनबेला हुन्छ पत्तो पनि हुन्न ।

सँगै हिडे खाएको साथी पक्लक्क मर्छ । त्यसको साक्षी आफै भइन्छ । हिमालको बतासले उढाएर कहाँ पु¥याउँछ जस्तो हुन्छ । बेसक्याम्पमा बेलुका सुत्दा भोलीपल्ट जिउँदै रहने होकी होइन भन्ने त्रास हुन्छ । संझदा पनि कहाली लाग्छ । तर, चुचुरोमा पुग्दा सबै कुरा विर्सने रहेछ । मात्र अनुपम आनन्द ।’

संगितासँग चार जनाको टिम सगरमाथा पुगेको हो । चौथो वेसक्याम्पबाट गत शुक्रबार राती नौ बजे सगरमाथा चुचुरोतर्फ लागेको संगिताको टिम शनिबार दिउसो चुचुरो चुम्न सफल रह्यो । उहाँका अनुसार मौसका कारण रातको समयमा सगरमाथा यात्रा गर्दा कम जोखिम हुन्छ ।

सगरमाथा चढ्नका लागि संगितालाई ३० लाख रूपैयाँ लागेको र त्यसमा केही रकम सुदुरपश्चिमका सहयोगीले सहयोग गर्नु भएको छ भने नपुगेको पैसा उहाँ आफैले ऋण लिएर सगरमाथा चढ्नु भएको हो । संगिता आउने अक्टुबरमा मनास्लु हिमाल चढ्ने योजनामा हुनुहुन्छ ।उहाँलाई सगरमाथा चढाउन पायोनियर एड्भेन्चर प्रालीको पनि सहयोग रहेको छ ।