आफूलाई ढाँट्न कहाँ सकिन्छ ?

0
232

रमा सुवेदी

अरूलाई हो ढाँट्ने, आफूलाई ढाँट्न कहाँ सकिन्छ ?
घाँटी रेट अरूको,आफ्नो औंला काट्न कहाँ सकिन्छ ?

सबैले बोक्नै पर्छ आफ्नो आफ्नो दुःखको भारी,
कठै बिचारा भन्छौ, भारी साट्न कहाँ सकिन्छ ?

आफ्नो सोझो हुनेगरी सोझ्याउँछन् सबले दुनो,
सुनै होस् न अर्काको जूठो चाट्न कहाँ सकिन्छ ?

आफैं चरी, आफैं विचरी, दोष जति सबै तेरो,
आफैं दोषी आफैं साक्षी डाट्न कहाँ सकिन्छ ?

घाँटी हेरी निल्नु पर्छ हाड भन्छिन् आमै मेरी
पुच्छर छिर्यो हात्ती पनि आँट्न कहाँ सकिन्छ ?

अरूलाई हो ढाँट्ने, आफूलाई ढाँट्न कहाँ सकिन्छ ?
घाँटी रेट अरूको,आफ्नो औंला काट्न कहाँ सकिन्छ ?