आरजुमाथि तत्काल कुनै थप अनुसन्धान नहुने

0
325

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा राणाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिले पनि उहाँमाथि   तत्काल थप अनुसन्धान नहुने प्रहरीले जानकारी दिएको छ ।  प्रहरीआइतबार राणालाई ‘उजुरी छानबिनको प्रगति जानकारी’ दिँदै सामाजिक सञ्जालमा सार्वजनिक अडियो शर्माको आवाजसँग मेल खाएको जनाएको हो ।

राणाले आफ्नो उजुरी माथिको छानबिनका विषयमा प्रगति विवरण के(कस्तो भयो भनेर प्रहरीसँग सूचना माग गर्नु भएको थियो । त्यसको जवाफमा सार्वजनिक भएको अडिओमा बोल्ने व्यक्ति सन्देश शर्मा नै हो भनेर राणालाई जवाफ पठाइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिनु भएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भन्दै कराडौं असूली गरिएको प्रकरणको अनुसन्धान गरिरहेका बेला दुई महिना अघि कांग्रेस सांसद् आरजु राणा र मञ्जु खाँणको नाम जोडिएको अडियो सार्वजनिक भएको थियो । त्यो अडियो सम्वादमा दाङका सन्देश शर्माले अर्का व्यक्तिसँग आरजुलाई साढे २ करोड र मञ्जुलाई ६ करोड रकम बुझाएको जिकिर गरेका थिए ।

प्रहरीका अनुसार पीडितहरुले डेढ वर्षअघि उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरमा जाहेरी दिँदा उपलब्ध गराएको ८ मिनेट २० सेकेण्डको अडियोमा आरजु र मञ्जु जोडिएको ‘क्लीप’ पनि बुझाएका थिए ।

आफ्नो नाम मुछिए पछि आरजु राणाले छानबिन गर्न भन्दै प्रहरीको साइबर ब्यूरोमा निवेदन दिनुभएको थियो । आफूलाई जोडेर फेक अडियो बदनियतपूर्ण ढंगबाट रेकर्ड गराइएको भन्दै उनले २७ वैशाखमा प्रहरीमा उजुरी दिनु भएको थियो।

र, अडियोबारे ‘अत्याधुनिक प्रविधिको प्रयोग गरेर सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गरेर दोषीमाथि कारबाही’ गर्न माग समेत गर्नु भएको थियो । नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण, सन्देश शर्मा सहित १६ जना पूर्पक्षका लागि थुनामा छन् ।