उहाँ एमालेकै कार्यकर्ता हो, अध्यक्ष ओलीलाई आक्रमण गर्न खोजेको होइन : श्रीमति

0
92

धनकुटा । भोजपुरबाट धनकुटा जाने क्रममा बिहीबार लेगुवा बजारमा एमाले अध्यक्ष केपी ओली माथि मुक्का प्रहारको प्रयास गरेको भनि प्रचार गरिएका महेश राई नेकपा लमाएकै कार्यकर्ता भएको उहाँको परिवारले जनाएको छ ।

राई एमाले कार्यकर्ता मात्र नभई एमाले अध्यक्ष केपी ओलीका फ्यान समेत भएको उहाँकी पत्नीले सञ्चारमाध्यमलाई बताउनुभएको छ । एमाले अध्यक्ष केपी शर्मा आली नेकपा एमालेले सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्रामा आउने भनेपछि उहाँको सम्मानको तयारीमा राई खट्नु भएको पनि उहाँले बताउनुभयो । गएको निर्वाचनमा समेत उहाँ पार्टीको प्रचारमा सक्रिय सहभागी रहनुभएको उहाँले जानकारी दिनुभयो ।

हिजो बेलुकादेखि उहाँले खाना नखाएको र बिहानदेखि नै रक्सीले मातेको कारण त्यस्तो असामान्य अवस्था सिर्जना भएको राईकी पत्नीले जानकारी दिनुभयो । एमाले अध्यक्ष माथि उहाँले आक्रमण गर्ने कुरा कल्पना नै गर्न नसकिने उहाँले बताउनुभयो । ‘कि अँगालो मार्छु भन्दा, कि भिडमा ठेलमठेल गर्दा उछिट्टिनु भएको हो, उहाँले हातपात गर्ने कुरा त सोच्नै सकिँदैन’, उहाँले भन्नुभयो ।

हल्लाखल्ला सुन्ने बित्तिकै आफू पुग्दा उहाँलाई प्रहरीले समातेर लगिसकेको राईले बताउनुभयो । ‘त्यस्तो नियत होइन, उहाँलाई छाडि दिनु पर्यो, उहाँले गल्ती गर्नुभयो, माफी दिनु पर्यो, उहाँले त्यस्तो गर्छु भनेर गरेको होइन, उहाँ मात्तिनु भएको थियो, उहाँले कि माला लगाइदिन्छु भन्दा हुत्तिनुभयो, कि अङ्कमाल गर्न खोज्दा जोतिएर जानुभयो, मात्तिएको मान्छे अडिन सक्नु भएन’, राईकी पत्नीले भन्नुभयो ।

उहाँका छिमेकीले पनि रमेश फस्ने मान्छे नभएको बताउनुभयो । ‘केपी ओलीको प्रचार गरेर हिँड्ने मान्छे, त्यस्तो गर्ने मान्छे नै होइन, केपी ओली आउनुहुन्छ भन्दा खुसी भएर बसेको मान्छे, होस् गुमेको बेलामा ऊ उभिन सकेन, त्यो अपराधी मान्छे हुँदै होइन, ऊ केपी ओलीकै मान्छे हो, त्यो सोझो मानिसलाई फसाउनु हुन्न, छाडिदिनु पर्छ’, उहाँले भन्नुभयो ।