एउटी महिलाको हिम्मतले नेपाली नारीले पढ्न पाए

0
37

काठमाडौं । करिब ७५ वर्ष पहिले एक नारीले गरेको हिम्मतले आज करिब डेढ करोड नेपाली महिलाले स्वतन्त्रपूर्वक आफ्नै मताधिकार तथा शिक्षा लिन पाउने अधिकार प्रयोग गर्न पाएका छन् । यसको श्रेय जान्छ, नेपाली कांगे्रसकी नेता मंगलादेवी सिंहलाई । तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरलाई चुनौती दिँदै महिलाले पनि भोट हाल्ने अधिकार प्राप्त गर्नुपर्छ भन्ने आँट गरेकी थिइन् उनले ।

साथै, देशमा खुलेका केही स्कुलमा पुरुषमात्र पढ्न पाउने महिला पढ्नबाट वञ्चित भएको कुरा उनले पद्मशमशेरलाई राखेकी थिइन् । त्यस समयसम्म नेपाली महिलाले सावा अक्षर चिन्न स्कुल जान पाउँदैनथे । महिलाले पढ्न पाउनुपर्छ र शिक्षाले मात्र महिला अधिकार स्थापित हुन्छ भन्ने चेत थियो, मंगलादेवीमा ।

नेपाली महिलाका लागि स्कुल खोलियोस् भन्दै पद्मशमशेरकै अगाडि गएर निडर भई बोल्नु आपैmमा राणा शासनविरुद्धको आवाज थियो । उनले त्यो आँट गरेकी थिइन् । आफूसहित केही महिलाले पद्मशमशेरलाई भेटी कसरी महिला मताधिकार र शिक्षाको माग गरेका थिए भन्ने दृष्टान्तलाई उनले आप्mनो पुस्तक ‘नारी संघर्षका पाइलाहरू’ मा यसरी उप्काएकी छन् ।

भोट र स्कुलका बारेमा मंगलादेवीको प्रसङ्ग
केही जागरुक महिला साथीहरूसँग मंगलादेवी तत्कालीन सरकार पद्मशमशेरको दरबार पुगिन् । केही छिनको प्रतीक्षापछि पद्मशमशेरबाट भेट्नलाई अनुमति भयो । प्रधानमन्त्री पद्मशमशेरले सोधे के भन्न आयौ तिमीहरू ? मंगलादेवीले भनिन्, ‘नगरपालिकाको चुनाव हुन लागेको छ । हामी महिलाहरूलाई पनि भोट दिने अधिकार दिनुपर्छ सरकार !’
‘महिलाहरूलाई भोट दिने अधिकार कहाँ छ ? पद्मशमशेरले प्रश्न गरे । उनले भनिन्, ‘सबैतिर नहोला । जहाँजहाँ अधिकार दिइएको छ, ती समाजमा महिलाको स्थिति राम्रो छ ।’
‘अरू केही छ ?’ पद्मशमशेरले सोधे ।
‘महिलाहरूले पनि स्कुलमा पढ्न जान पाउनुपर्छ सरकार !’ उनले भनिन् ।
‘स्कुल खोले कसले पढ्छ ?’ पद्मशमशेरले सोधे ।
‘स्कुल मात्र खोलियोस् सरकार पढ्ने महि लाहरूको खाँचो हुँदैन । सरकार ! आप्mनै नामबाट खोलियोस् । सरकारको नाम रहने, हामीले पनि पढ्न पाउने,’ मंगलादेवीले भनिन् ।
‘अहिले जाओ । भोट अधिकार पाउँछौं । स्कुलको कुरा राम्रो छ । म विचार गर्छु ।’ यति भनेर पद्मशमशेरले उनीहरूलाई बिदा दिए ।
पद्मशमशेरले त्यो भेटघाटको केही दिनपछि नै डिल्लीबजारस्थित आफ्नै जग्गा र भवनमा पद्मकन्या स्कुलको स्थपना गराए । नगरपालिकाको चुनाव त भएन तर २०१५ सालको चुनावमा महिलाले पनि भोट हाल्न पाए ।
(मंगलादेवी सिंहको कृति ‘नारी संघर्षका पाइलाहरू’ बाट साभार ।)

नेपाली राजनीतिमा मंगलादेवीको योगदान अतुलनीय र अवर्णनीय छ । मंगलादेवीलाई गणेशमानकी श्रीमतीका रूपमा मात्र लिन मिल्दैन । उनी नेता गणेशमान सिंहकी श्रीमती भए पनि विवाह गरेको ४ महिनामा नै गणेशमान जेल परे । त्यसपछिको समय मंगलादेवीले आप्mनो राजनीतिक संघर्षको रेखा आपैm कोरिन् ।

नेपाली महिला अधिकार तथा महिला मुक्तिका लागि उनको भूमिका र संघर्षको जति नै प्रशंसा गरे पनि पुग्दैन् । देशमा राजनीतिक चेतना भर्खर बीजारोपण हुँदै गर्दा उदाएकी थिइन्, मंगलादेवी । राजनीति पारिवारिकमा भए पनि राजनीति गर्ने नगर्ने उनको निर्णयमा भर पर्ने कुरा थियो । घरको सुख सयललाई त्यागेर मंगलादेवीले राजनीति रोजिन् ।

राजनीतिमा नहोमिन परिवारको चर्को दबाबलाई बेवास्ता गर्दै उनी राजनीतिमा होमिइन् । १९८१ सालमा काठमाडौंमा जन्मिएकी मंगलादेवीले १९९७ सालमा नेपाली कांग्रेसका नेता गणेशमान सिंहसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । विवाह गरेको ४ महिनामा नै उनका श्रीमान् गणेशमानलाई जन्मकैदको पैmसला सुनाइयो ।

१० वर्षको कारवासपछि मात्र उनी र गणेशमानको भेट भएको थियो । त्यसै समयमा उनले भूमिगत रूपमा संगठनको काम अघि बढाइरहिन् । २००४ सालमा उनले ‘नेपाल महिला संघ’ स्थापना गरेर त्यसको अध्यक्षसमेत बनिन् । उक्त महिला संघमा साहना, साधना प्रधानसमेतको सक्रिय भूमिका थियो ।

महिला संघले पत्रिका निकाल्ने, पुस्तकालय स्थापना गर्ने, विद्यालय चलाउनेलगायत काम गर्ने गरेको थियो । मंगलादेवीको क्रान्ति र सक्रिय राजनीतिलाई एउटा सामान्य योगदानका रूपमा हेर्न मिल्दैन ।

अहिलेको जस्तो सञ्चार, शिक्षा, स्वास्थ्य, तथा सर्वप्रथम त जनचेतना नै नभएको समाजमा जहाँ महिलालाई मान्छे नै गनिन्दैनथ्यो । महिला पढ्नुपर्छ । महिलाले आफ्नो अधिकार स्थापित गर्नुपर्छ भन्ने चेतना नभएको समाजमा उनले गरेको योगदान अतुलनीय नै छ ।

आज नेपालमा ३३ प्रतिशत महिला सहभागिता छ, यसको श्रेय पनि तिनै महिलालाई जान्छ, जसले हाम्रै लागि र हाम्रा अधिकार संरक्षणका लागि लड्दै अघि बढे । २००७ सालको क्रान्तिमा मंगलादेवीको ठूलो भूमिका थियो । सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि त्यसको विरोधमा ५ वर्ष कैद गरियो ।

जेल नेल भोगेकी मंगलादेवी नेपालका अब्बल पुरुष नेताभन्दा कम थिइनन् । राजनीतिक रूपमा २०२५ सालमा उनी ८ वर्ष प्रवासमा रहेर पार्टी र नेपाली महिलाका लागि काम गरिरहिन् । मंगलादेवी नेपाली महिलाको सशक्तीकरण, आर्थिक, राजनीतिक तथा अधिकारका बारेमा वकालत गरेकी थिइन् ।

राजनीतिक कार्यक्रमलाई अघि बढाउँदा उनले साढे २ सय तोला सुनको गरगहना बेचेर राजनीतिक कार्यकर्ता तथा पार्टीलाई सघाएकी थिइन् । तत्कालीन समाजमा महिला पुरुषको ‘चरणको दासी’ बनेर मात्र बस्ने नभई आप्mनो अधिकारका लागि पनि लड भन्ने आत्मविश्वासी, परिपक्व, जिम्मेवार नारी थिइन्, मंगलादेवी ।

निरकुंशताको साङ्लो चुडाउनु त्यति सजिलो कुरा होइन । नेपाली महिलालाई आफू महिला मात्र भएको थाहा थियो । न शिक्षा न जनचेतना । महिला दास, दमन, श्रमशोषण विरुद्ध आवाज उठाएकी थिइन् उनले ।

सिंहले २०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भएकी थिइन् । सिंहको वि.सं. २०५३ भदौ १० गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।