विद्यार्थी करिष्माको स्कुले अनुभव : दुई/चार दिन त मैँले पछाडि बेञ्चमा पनि हेरिनँ’

0
139

सदावहार नायिकाको उपाधि पाउनु भएकी करिश्मा मानन्धरलाई नचिन्ने नेपाली विरलै पाइएलान् । कुनै समय, नेपाली सिने जगत्मा नायकभन्दा नायिका करिश्माको चर्चा बढी हुन्थ्यो । उहाँपछि सयौं नायिकाले नेपाली सिने उद्योगमा आफ्नो स्थान बनाइसक्नु भएको छ । नायिका करिश्मा मानन्धर अझै नेपाली दर्शकको मनमा बस्न सफल हुनुहुन्छ । करिश्मा जो अहिले नाम, दाम, पद प्रतिष्ठाले भरिपूर्ण हुनुहुन्छ । यो अवस्थामा आइपुग्न उहाँले कैयौं आरोह अवरोहलाई चिर्नु भएको छ ।

करिश्मा नेपाली सिनेक्षेत्रमा सात कक्षा पढ्दै गर्दा प्रवेश गर्नु भयो । उहाँ प्रवेश गर्दा यो क्षेत्र वामे मात्रै सर्दै थियो । उहाँ सिनेक्षेत्रमा मजाले जम्नुभयो । जीवनको उत्तराद्र्धमा उहाँले फेरि स्कुल गएर कक्षा ७ मा छाडेको अध्ययनलाई निरन्तरता दिनुभयो र एक वर्षअघि कक्षा १२ उत्र्तीण हुनुभयो । लाखौं महिलाकी पे्ररणाकी स्रोत बन्नु भएकी करिश्मा भन्नुहुन्छ्, ‘कुनै पनि काम गर्न उमेर बाधक हुँदैन ।’ समाजका कुरीति र कुप्रथालाई चिर्दै अघि बढ्नुपर्ने बताउनुहुन्छ्, उहाँ ।

करिश्मा मानन्धर बाहिरी रूपमा जति सुन्दर हुनुहुन्छ् त्यति नै उहाँको भित्री रूप पनि कोमल र सुन्दर छ । उहाँ अहिले समाज सेवामा समेत लाग्नु भएको छ । सदाबहार नायिका करिश्मा मानन्धरसँग नारी नेपालकी सम्पादक पूजा ढकालले ‘करिश्माको स्कुले जीवन’का विषयमा केन्द्रित भएर गरेको कुराकानी :

तस्वीर: करिष्मा मानन्धरको फेसबुकबाट

अघिल्लो बर्ष तपाईले कक्षा १२ पास गर्दा कस्तो अनुभूति गर्नुभयो ?

सात कक्षामा छाडेको मेरो पढाइलाई निरन्तरता दिंदै कक्षा १२ पास गर्दा निकै खुशी भएँ । यसले अगाडिको अध्ययनका लागि बाटो पनि खुला गर्‍यो । अझैँ अध्ययन गर्ने हौसला जागेको छ ।

अब म झोला बोकेर स्कुल जाँदैछु भन्दा कस्तो अनुभूति भएको थियो ?
शुरुमा त म अलमल भएँ, केही गाह्रो पनि भयो । पढ्नै पर्छ भन्ने कुरामा म तयार थिएँ । स्कुले जीवन सम्झनयोग्य र अद्भूत रह्यो । सात कक्षाको परीक्षा दिँदा नियमित स्कुल गइन । स्कुलका शिक्षकसँगको सहकार्यमा घरमा सात कक्षाको तयारी गरेर परीक्षा दिए । कक्षा ८ बाट म नियमित पढ्न गए ।

हुनत अनुभव र व्यवहारका आधारमा मैले १२ कक्षासम्मको अध्ययन अनुभवबाटै प्राप्त गरिसकेकी थिए । व्यवहारिक अनुभव र नियमित कक्षाको पढाइ फरक कुरा भयो ।

तस्वीर: करिष्मा मानन्धरको फेसबुकबाट

कक्षा आठमा नियमित स्कुल जाँदा मलाई निकै गाह्रो भयो । दिनभर बच्चासँग बस्नुपर्ने आफ्नो बच्चा हुर्केर त्यत्रो भइसकेको थियो । प्रिन्सिपल सरलाई म कहिलेकाहीँ भन्ने पनि गर्थे, ‘दिनभर कक्षा कोठामा बस्न त गाह्रो पो हुने रहेछ ।’

फेरि सामाजिक सञ्जालले पनि तनाव दिइरहन्थ्यो । करिष्माले मर्ने बेलामा के स्कुल गइरहेको भनेको देख्दा कताकता मन दुख्थ्यो । म गोदावारीमा बस्ने र पढाइका लागि काठमाडौं आउनुपथ्र्याे ।

दैनिक तीन घण्टा मैले ड्राइभिङमा बिताउनुपर्ने, खानेकुरा पनि नमिल्ने । हेर्दा करिष्माले सजिलै पढीहोला भन्ने लाग्छ तर मैँले पनि धेरै अफ्ठेरारूको सामाना गर्नुपर्‍यो । म जुन प्रकारको जीवनशैली बाँचिरहेको थिए ।

स्कुल गएपछि सबै परिवर्तन भएको थियो । स्कुलमा बिहान ८ बजेदेखि ४ बजेसम्म बेन्चमा बस्नुपर्ने । वर्क आउट गरिरहनेलाई बँस्दा पनि समस्या हुनेरहेछ । मलाई स्पाइनल समस्या देखियो ।

गह्रुङ्गो व्याग बोक्नाले कुम दुख्ने समस्या पनि भयो । त्यतिबेला मेरो सात केजी वजन घट्यो । पढ्ने कुरा सामान्यचाहिँ होइन रहेछ । स्कुलबाट पाँच/छ बजे घर आएर झोला खाटमा फुत्त फालेर एक थाल भात खान्थे । आफूलाई बच्चा जस्तो लाग्थ्यो । अहिले त्यो सम्झदा चाहिँ रमाइलो लाग्छ ।

चर्चित नायिका कक्षामा जाँदा माहोल कस्तो हुन्थ्यो ?
आठ कक्षामा कत्रा पो विद्यार्थी हुन्थे र, म पहिलो बेन्चमा बसे । मसँग ‘फष्ट ब्वाइ’ थियो उ र म बस्थिम । दुईचार दिनसम्म त मँैले पछाडि बेञ्चमा पनि हेरिन । पछि विस्तारै उनीहरूसँग घुलमिल भएर खेल्न थाले । उनीहरूसँग खेलेको सबै भिडियो अहिले पनि मसँग छ । पछि एकदम सहज भयो ।

करिष्मा मानन्धरको एक झल्को हेर्न टाढा–टाढाबाट ‘सुटिङ’स्थल आउने दर्शकको भीड निकै ठूलो हुने गर्‍थ्यो । नायिका सहपाठी हुँदा कस्तो प्रतिक्रिया जनाउँथे विद्यार्थीले ?
मसँग पढ्ने विद्यार्थी धेरै पछिको ‘जेनेरेशन’ हो तर, पनि मलाई उनीहरूले चिन्थे । अहिलेका नायक नायिकाका बारेमा मलाई प्रश्न गरिरहन्थे । नायक अनमोल केसी, नायिका साम्राज्ञी कस्तो हुनुहुन्छ भनेर सोधिरहन्थे । स्कुलमा मसँगसँगै नाच्दा उनीहरू रमाइलो मान्थे । मेरा लागि यो नितान्त नयाँ अनुभव थियो ।

स्कुल र कलेज पढ्दा विद्यार्थी र शिक्षकबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
शिक्षकको सहयोग एकदम राम्रो रह्यो । मलाई सधैँ हौसला प्रदान गर्नुहुन्थ्यो । सहपाठीहरूले पनि सधैँ म्याम तपाईले गर्न सक्नुहुन्छ अघि बढ्नुहोस् भन्थे । अहिले पनि कलेजका साथीसँग मेरो राम्रो दोस्ती छ ।

जीवनको उत्तरार्धमा पढ्न के कुराले हौसला बढायो ?
अरुले के भन्ला भनेर हामी डराउँछौ । हामी आफू जे हो त्यो देखाउँदैनौ त्रासमा बाँचिरहेका हुन्छौँ । यसलाई तोड्नुपर्छ, मैँले पनि समाजले के भन्छ भन्ने डरलाई तोडेर यो उमेरमा पढेकी हूँ । विभिन्न परिस्थितिले सानोमा अध्ययन छुटेको थियो । मलाई सधैँ जसरी भए पनि पढाइ पूरा गर्नुपर्छ भन्ने भित्री इच्छा थियो ।

तस्वीर: करिष्मा मानन्धरको फेसबुकबाट

अरुले मलाई के भन्ला कहिल्यै सोचिन । यो उमेरमा स्कुलमा भर्ना भएर अध्ययनलाई निरन्तरता दिएँ । यसले मलाई अब्बल बनाएको छ । कुनै पनि काम गर्न उमेरले छेक्दैन । मेरो अठोट, लगन र मिहिनत नै मेरो हौसला थियो ।

सार्वजनिक जीवनमा पनि मैँलै पढ्नै पर्छ भन्ने कुनै त्यस्तो विन्दु थियो कि ?
धेरै बिन्दुहरु थिए, म चलचित्र खेल्न पाकिस्तान, भारतको मुम्बईसमेत गएँ । त्यहाँ जाँदा मलाई भाषाले ठूलो असहज भयो । केटीहरूले लाइन लागेर अडिसन दिनुपथ्र्यो, म अन्य कुरामा अब्बल भए पनि भाषाको कमी अनुभव गर्थे ।

नेपालीभन्दा अन्य भाषामा दख्खल नहुँदा अघि बढेका पाइला रोकिए । पत्रकारले विभिन्न समयमा हाम्रा नायिकाहरूको पढाइ कति भनेर प्रश्न गर्नुहुन्थ्यो, यसले मलाई कताकता ‘पिन्च’ गराउँथ्यो ।

रूप, धन दौलत, कृति, मान प्रतिष्ठाले भरिपूर्ण करिष्मालाई त पढाइ चाहियो भने सामान्य महिलालाई पनि शिक्षा अपरिहार्य होला नि ?
म राजनीतिमा पनि चासो राख्ने मान्छे । राजनीतिमा लाग्दा म देश दौडाहामा निस्किएँ । सुटिङको क्रममा देशका कुना काप्चा पुगेकै थिएँ तर, सुटिङ र राजनीतिमा फरक थियो । सुटिङमा जाँदा मैले दूरदराजलाई नजिकबाट नियाल्ने मौका पाइनँ ।
नेपाल पछाडि पर्नुुमा शिक्षाको कमी हो कि जस्तो लाग्यो । महिला साक्षरता दर त अझै कम छ । महिला शिक्षित भएमा सुख र समृद्धी पनि आउँछ ।

तस्वीर: करिष्मा मानन्धरको फेसबुकबाट

करिष्माले पढेर राम्रो गरी भन्ने किसिमका प्ररेरणादायी कुरा कति सुन्नुहुन्छ ?
गाउँतिर जाँदा कतिले तपाईले यो उमेरमा पढ्दा हामीलाई हौसला जागेको छ भन्नुहुन्छ । पढाइ छाडेका कत्तिले मैँले पढ्न शुरु गरेपछि आफूले पनि शुरु गरेको बताउँछन् । मेरा केही साथी मैँले पढेको देखेर अहिले पढाइ पूरा गर्नतिर लाग्नुभएको छ ।
तपाईको दैनिकी कसरी शुरु हुन्छ ?
हाम्रो जीवनमा सबैभन्दा ठूलो कुरा स्वास्थ हो । मेरो दिनको शुरुवात योग र प्रणायाम गरेर हुन्छ । म प्राथना पनि गर्छु र तीन/चार चिज माग्छु । स्वास्थ त्यसपछि सन्तान सुख, धन, विद्या र सम्पूर्ण जगतलाई राम्रो होस् भन्ने कामना गर्छु ।
करिष्मा मानन्धरले सदावहार नायिकाको उपाधि पाउनुको रहस्य के होला ?
सदावहार नायिका भन्छन तर त्यस्तो पनि होइन । इच्छा शक्तीले मानिसलाई सधँै सत्कर्म गर्न र आफूलाई चुस्त राख्न प्रेरित गर्छ । यो नाशवान शरीर हो । त्यसैले बाचुञ्जेल म ठिक छु भनेर बाच्नुपर्छ । बुढो हुनबाट यो संसारमा कसैले कसैलाई रोक्न सक्दैन ।

तस्वीर: करिष्मा मानन्धरको फेसबुकबाट

अमेरिकामा लामो समय बिताउनुभयो ? महिलाको स्थिति कस्तो पाउनुभयो ?
अमेरिकामा प्रत्येक महिला आत्मनिर्भर छन् । त्यहाँ ‘सिष्टम’मा देश चल्छ । नेपाली महिला अमेरिका जानुभयो भने छिटै प्रगति गर्न सक्नुहुन्छ । म आफैँ पनि विनोदजी(श्रीमान्) मा धेरै निर्भर थिए । अमेरिका गएपछि महशुस भयो, आफ्नो काम आफैँ गर्नुपर्ने रहेछ । अमेरिकामा पनि राजनीतिमा महिलाको उपस्थिति कम नै छ । विकासको हिसावले अमेरिकामा महिला धेरै अघि छन् ।