कस्तो रह्यो नेपाली महिलाका लागि २०७० को दशक ?

0
243

हामी २०८० सालमा प्रवेश गरेका छौँ । एउटा दशक पार गरेर अर्को दशकमा प्रवेश गर्दैँगर्दा अघिल्लो २०७० को दशकमा नेपाली समाजमा धेरै परिवर्तन देखा परे । यसै दशकमा नेपालले ‘नेपालको संविधान २०७२’ प्राप्त गर्‍यो ।

यो दशकमा नेपालले धेरै उत्तरचढावको पनि सामना पनि गर्नु पर्‍यो । भूकम्प, नाकाबन्दी, विश्वव्यापी कोभिड माहामारीको समस्या पनि नेपालले यसै दशकमा झेल्यो ।

आज हामी ७० को दशक समाप्त गरेर २०८० को नयाँ दशकमा प्रवेश गर्दैँगर्दा नेपालमा सबै क्षेत्रमा परिवर्तन देखिए पनि नेपाली महिलाले कस्तो अनुभूति गरे यो दशकमा । नेपाली महिलाका लागि कस्तो रह्यो यो दशक ? यसै सन्दर्भमा हामीले विभिन्न क्षेत्रमा रहनु भएका केही महिलाहरूसँग कुराकानी गरेका छौँ । उहाँहरूको अनुभवमा कस्तो रह्यो त २०७० को दशक ?

उर्मिला अर्याल
माननीय उपाध्यक्ष, राष्ट्रिय सभा

२०७० को दशक नेपाली महिलाका लागि उपलब्धीमूलक र ऐतिहासिक रह्यो । यस दशकमा महिला राजनीतिक, आर्थिक, सामाजिक सबै क्षेत्रमा एउटा पहिचानसहित उदाए । यस अघिका दशकमा मिहिला नेतृत्वमा पुग्न सकेका थिएनन् । यो दशकमा महिला नेतृत्वमा पुग्न सफल भए ।

हिजो विभिन्न क्षेत्रमा महिलाको उपस्थिति शून्य थियो । आज शून्यबाट धेरै क्षेत्रमा महिलाको उपस्थिति संख्यामा वृद्धि भएको छ । स्थानीय निकायदेखि राष्ट्रपतिसम्म महिलाको पहुँच पुग्न सफल भयो । तर, यो नै पूर्ण हो भन्ने होइन् । अझै महिलाका हक अधिकारका विषयमा काम गर्न धेरै बाँकी छ ।

हामी महिलाले नैसर्गिक रूपमा पाउनु पर्ने कतिपय अधिकारबाट अहिले पनि बञ्चित छौँ । पाएका अधिकार पनि कार्यान्वयन नहुँदा धेरै समस्या भएको छ । प्रत्यक्ष निर्वाचनमार्फत महिला चुनिएर आउँने संख्या प्रतिनिधि सभामा कम हुँदै गएको छ ।

अबको हाम्रो एजेण्डा र संघर्ष महिलालाई समान हैसियतमा पुरूषसरह प्रत्यक्षमा ३३ प्रतिशत महिला आउनु पर्छ भन्ने हुनेछ । यो दशकमा महिलाका लागि आर्थिक, सामाजिक, राजनैतिक हिसावले निकै महत्वपूर्ण दशक रह्यो ।

मिरा ढुगांना
वरिष्ठ अधिवक्ता


समग्रमा हेर्दा यो दशकमा महिलाले धेरै कुरा पाए जस्तो लाग्छ तर, अहिले पनि व्यवहारमा धेरै कुरा कार्यान्वयन हुन बाँकी छ । तरपनि यो दशक महिलाका लागि सुनौलो दशक रह्यो । यो दशकमा नेपाली महिला नेतृत्वमा पुगे । न्याय क्षेत्रको कुरा गर्दा न्यायलयले पहिलो पटक महिला प्रधानन्यायधीश प्राप्त गर्‍यो ।

साथै, यसै दशकमा संविधानमा महिलाका कतिपय हकअधिकारका विषय लिपिबद्ध भए । कानूनमा पनि विभिन्न संशोधन भए । जस्तो यो दशकमा पैतृक सम्पतीमा छोरीलाई पनि छोरा सरह समान हकको व्यवस्था भयो । अपुताली सम्पतिमा पनि छोरीलाई समान हक प्राप्त भयो । यो निकै ठूलो उपलब्धी हो ।

तर, अहिले पनि महिलाले पाएका हक अधिकारको कार्यान्वयन पक्ष भने फितलो रहेको छ । यो दुःख लाग्दो कुरा हो । यो दशकमा महिला राष्ट्रपतिदेखि मुख्य नेतृत्वतहसम्म पुग्नु भयो ।

तर, भर्खरै सम्पन्न भएको उपराष्ट्रपति चुनावमा जसरी पुरूषलाई ल्याइयो यसले हामीलाई झस्काएको छ । कानूनमा भएका छिद्र प्वालभित्र पसेर महिलाको हक अधिकारलाई बञ्चित गर्न पाइदैँन ।

यसरी महिलाको हकअधिकारमा हस्तक्षेप हुँदा कति दशक हामीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री जस्ता पदमा महिला नेतृत्व पर्खनु पर्ने हो ? यसैले महिलाका हक अधिकार स्पष्ट रूपमा संविधानमा नै लिपिवद्ध गर्नुपर्छ । कानूनमा लिपिवद्ध नभएका कुरामा महिलाले अझैँ पनि समान अधिकार पाएका छैनन् ।

अहिले पनि मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला पुग्नुहुन्न । कुनै पार्टीले एक÷दुई जना महिलालाई मन्त्री बनाए भने सम्पूर्ण मन्त्रिपरिषद्लाई पुगिहाल्छ । प्रत्यक्ष निर्वाचन मै हेरौन प्रत्यक्षमा महिलालाई टिकट नै दिइदैँन ।

अर्कोतिर नागरिकताको कुरा गर्ने हो भने अहिले पनि आमाले सन्तान जन्माउने तर बच्चालाई आफ्नो पहिचान दिन पाउँदैनन् । अबको दशक महिलाले अहिले प्राप्त गरेका कुरालाई कार्यान्वयन गराउने र कानूनमा नै आफ्ना अधिकार लिपिवद्ध गराउन संघर्ष हुनेछ ।

बबिता बस्नेत
वरिष्ठ पत्रकार


यो दशक महिलाका लागि निकै महत्वपूर्ण रह्यो । कारण यो दशकमा संविधान बन्यो र संविधानमा महिलाका हकअधिकारका कुरा लिपिवद्ध भए । यो संविधानले राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिता हुनुपर्ने संवैधानिक व्यवस्था गर्‍यो ।

यस व्यवस्थाले स्थानीय निकायदेखि प्रदेशहुँदै केन्द्रसम्म महिलाको पहँुच बढायो । अहिले नगरपालिका र पालिकामा उपप्रमुख महिला अनिवार्य (गठबन्धन बाहेक) र केही महिला प्रमुख पनि बन्नु भएको छ । यो यसै दशककै उपलब्धी हो ।

यस्तै, मिडिया, कानून, राजनीतिक, व्यवसाय, खेलकूद आदि सबै क्षेत्रमा महिलाको सहभागित बढेको छ । ट्याक्सी, टेम्पु ड्राइभरदेखि ठूल–ठूला उद्योग धन्दामा महिला उपस्थिति बाक्लिदै गएको छ ।

आर्थिक उपाजर्नमा महिला अघि बढेका छन् । यस अघि महिला परम्परावादी खेति किसानीमा बिना ज्याला मजदुरी गर्दै आएका थिए । यसै दशकमा प्रधानमन्त्री बाहेक सबै क्षेत्रमा महिला पहिलो पटक नेतृत्व तहमा पुग्न सफल भए ।

यो दशकमा महिलाले धेरै क्षेत्रमा आफूलाई स्थापित गर्दै लगेको भएपनि सम्पूर्ण नेपाली महिलाको समग्र हैसियतमा भने ठूलो फेरबदल आएको देखिएन् । यसै दशकमा अत्यधिक महिला हिंसाका घटना बढ्न पुगे ।

विगतका महिलाले ‘महिला शसक्तिकरण’का लागि बाटो खनिदएका कारण हामीले केही अधिकार प्राप्त ग¥यौँ । अहिले हामीले त्यसै बाटोलाई ग्राबेल गर्दैछौँ ।

अब ८० को दशकमा यसलाई पिच गर्दै राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रमा महिला सशक्तिकरणको गाडीलाई गुडाउने छौँ । विकास क्रमिक रूपले हुने कुरालाई पनि हामीले विर्सनु हुँदैन् ।

स्वस्तिमा खड्का
नायिका


यो दशकमा अन्य क्षेत्रमा झैँ फिल्म क्षेत्रमा पनि महिला कलाकारका लागि धेरै परिवर्तन देखिए । दशक अघि छोरीले फिल्म खेल्न जान्छु भन्दा जिब्रो टोक्ने समाज अहिले छोरीलाई कलाकार बनाउन उद्दीत छ ।

यसो हुनुको पछाडि यो दशकमा फिल्म क्षेत्रमा धेरै सकारात्मक परिवर्तन आए । फिल्म नै पढेका महिला यो क्षेत्रमा प्रवेश गरे ।
अहिले धेरै पढेलेखेका महिला फिल्म क्षेत्रमा आएका छन् । फिल्म निर्माण र निर्देशनमा पनि यो दशकमा धेरै महिला प्रवेश गरे । यो दशकमा महिलाका विषयमा पनि धेरै फिल्म बने । सबैभन्दा राम्रो यस दशकमा महिला कलाकारले आफूमाथि भएको हिंसाका विरूद्ध निर्धक्क बोल्न सके ।

महिला कलाकारले निर्धक्क आफूमा भएको हिंसामाथि बोल्दा आउने पिढी अझ सुरक्षित बनेको छ । महिला कलाकारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । यो परिवर्तनको संघारमा हामी महिला कलाकारले आफ्नो पहिचानका लागि निकै मिहिनेत गर्नुपर्ने समय रह्यो ।

आफूलाई प्रमाणित गर्ने समय पनि यहि थियो । म १० वर्ष अघि एक अडियन्सको रूपमा रहँदा र अहिले आफू स्वयम् फिल्म क्षेत्रमा प्रवेश गरी अनुभव गर्दा धेरै नै परिवर्तन देख्न पाए । तर, अझैँ पनि फिल्म क्षेत्रमा परिवर्तन हुनु पर्ने कुरा धेरै छन् । अझैँ पनि फिल्म क्षेत्रमा महिला र पुरूषमा गरिने व्यवहारमा असमान छ ।

महिला र पुरूषको समान कामका लागि पारश्रमिक समान छैन् । यो समान हुनुपर्छ । नायक र नायिकाको फिल्ममा भूमिका उत्तिकै हो तर, पारिश्रकि किन असमान ? यी कुरालाई भत्काउनु छ ।

फिल्म क्षेत्रमा मात्र होइन् यो दशकमा देशभरीका महिलाले धेरै परिवर्तन देख्न पाए । यो दशकमा महिला घर बाहिर निस्कन सके । आफ्ना लागि आफैँ संघर्ष गर्दै शिक्षा, स्वास्थ र आर्थिक क्षेत्रमा महिलाको पहुँच बढाउन सके । यसै दशकमा महिला शिक्षामा आमूल परिवर्तन आएको छ ।

१० वर्ष अघि छोरी भएकै कारण पढ्नलाई कत्ति अफ्ट्यारो थियो । अहिलो त्यो छैन् । महिलाको स्टाटसमा यो १० वर्षमा धेरै परिवर्तन आएको छ । यी सबै कुरा परिवर्तन हुँदैगर्दा जति नै महिलाले सम्पती कमाए पनि, जति नै पढे पनि, जत्रै अफिसमा काम गरे पनि आज पनि महिला आफ्नो प्रोफेश्नल जीवन र घर परिवार दुवै हेर्नेु पर्ने दोहोरो जिम्मेवारीमा छन् ।

घरको सम्पूर्ण जिम्मा महिलाको मात्र झैँ गरिन्छ । घर र परिवारको जिम्मेवारी महिलाको मात्र होइन । यसमा श्रीमानदेखि परिवारले पनि उत्तिकै भूमिका निर्वाह गर्नु पर्छ । समग्रमा यो दशक महिलाका लागि उल्लासपूर्ण रह्यो ।

ज्योत्सना सुब्बा श्रेष्ठ
महिला व्यवसायी

यो दशक आर्थिक क्षेत्रमा धेरै महिलाहरू उदाउनु भयो । घरधन्दा, खेतीमा संलग्न भइरहनु भएका महिला पछिल्लो समय उद्यम व्यवसायमा आउनु भयो । यहि दशकमा नेपाल उद्योग बाणिज्य महासंघले महिला नेतृत्व पायो । अहिले भर्खरै सम्पन्न महासंघको निर्वाचनमा धेरै महिला निर्वाचित हुनु भयो ।

यो दशकमा घर र श्रीमानसँग निर्भर भइरहेका महिला आफ्ना लागि आफैँ आर्थिक उपार्जन गर्न सक्ने हुनु भयो । आगामी दिनमा व्यापार व्यवसायमा आउन चाहने महिलाका लागि बाटो बनाइदिनु भयो । साथै, यो दशकमा महिलामा म पनि केही गर्न सक्छु है भन्ने कुराको आत्मविश्वास बढ्यो ।

यी तमाम कुरा हेर्दा यो दशक महिलाका लागि आर्थिक क्षेत्रमा फलदायी रहेपनि भूकम्प, नाकाबन्दी र कोभिड जस्ता महामारीको सामना पनि यसै दशकमा गर्नु पर्‍यो । जसका कारण नेपाली अर्थतन्त्रले पटक–पटक ठूलो उत्तरचढावको सामना गर्नु पर्यो ।

कोभिडको समयमा व्यवसायीले घरवेटीलाई ताला चाबी बुझाउनु पर्ने अवस्था आयो । त्यसअघि भूकम्पले थिलथिलो बनाएको बजार व्यवसायमा नाकाबन्दीले अर्को संकट थपिदियो । अहिले वर्तमानमा पनि आर्थिक संकटको सामना गरिरहेका छौं । एक सानो व्यवसाय गर्ने महिलादेखि ठूलै व्यवसाय गर्ने महिलाहरू वर्तमानमा चरम आर्थिक संकट झेलिरहनु भएको छ ।

व्यापार व्यवसाय बन्द हुने अवस्थामा पुगेको छ । बैंकको ऋण ब्याजदर बढेर कहाँ पुगेको छ । उत्पादन गर्ने कच्चा पदार्थ बाहिरबाट आउन सकेन । सरकारले कतिपय कुरामा आयात रोक्यो जसका कारण कच्चापदार्थको अभावमा उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्थासम्म आयो ।

यी तमाम समस्या अहिले हामीले भोगिरहेका छौँ । समग्रमा महिलाले यो दशकमा धेरै कुरा प्राप्त गर्नु भएको छ । ती पाएका कुरालाई संस्थागत गर्दै हामी अगाडि बढ्नु पर्छ ।