‘क्यान्सर भएको थाहा पाउनसाथ आत्मबललाई दह्रो बनाए’ : सांसद रावल

0
303

काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी रावल (पार्वती) राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति हुनुहुन्छ । चितवनको खैरहनी नगरपालिका (साविक चैनपुर ९) की सामान्य किसान परिवारमा जन्मनु भएकी रावल विद्यार्थी राजनीतिबाट अगाडि बढ्नु भयो ।

२०५९ सालमा विवाह भई पश्चिम चितवन हालको भरतपुर १६ की स्थायी बासिन्दा रहनु भएकी रावल पहिलोपटक २०६४ सालमा संविधान सभाको चुनावमा नेकपा एमालेबाट प्रत्यक्ष टिकट पाउँदा मात्र २९ वर्षकी हुनुहुन्थ्यो ।

कम उमेरमा नै राजनैतिक सफलता हासिल गर्नुभएकी रावलले जनसंगठन तथा पार्टीका प्रत्येक तहगत कमिटीको जिम्वारी वहन गर्दै अगाडि बढ्दा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवासंघ नेपालको पहिला महिला अध्यक्ष साथै, नेकपा एमाले जिल्ला कमिटि चितवनको पहिलो महिला अध्यक्षको भूमिका निर्वाह पूरा गर्नु भएको थियो ।

हाल पार्टी केन्द्रीय सदस्यको जिम्वेवारीमा रहनु भएको छ । २०७४ सालमा राष्ट्रिय सभामा निर्वाचित सदस्य रहँदै आउनु भएकोमा २०७५ साउनबाट राष्ट्रिय सभा अन्र्तगतको महत्वपूर्ण समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिको भूमिकामा क्रियाशिल रहँदै आउनु भएको छ ।

नेकपा एमालेको दसौं महाधिवेशन चितवनमा सम्पन्न भइरहँदा उहाँले जिल्ला अध्यक्षको हिसावले महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । राजनीतिमा सक्रिय रावल अहिले ब्रेष्ट क्यान्सर रोगको उपचारमा हुनुहुन्छ । ब्रेष्ट क्यान्सरसँग सम्बन्धित रहेर नारी नेपालले सांसद रावलसँग गरिएको कुराकानीको सम्पादित अंश ।

राजनीति, संसदीय जिम्वेवारी र पारिवारिक भूमिका सँगसँगै निर्वाह गरिरहँदा गत भाद्र महिनामा बे्रष्ट (स्तन) मा सामान्य समस्या देखियो । शुरूमा विपी कोइराला क्यान्सर अस्पताल भरतपुरका चिकित्सकसँग परामर्श गरी विभिन्न चेकजाँच र परीक्षण गरियो । परीक्षणको रिपोर्टमा खासै समस्या पहिचान हुन सकेन ।

सामान्य दुखाइबाट शुरू भएको रोग केही समयपछि स्तनमा सानो गिर्खा पनि देखियो । त्यपछि भक्तपुर क्यान्सर अस्पतालमा थप चेकजाँच र परीक्षण गरे । साथमा एमआरआई लगायत अन्य परीक्षण गर्दा पनि समस्या एकिन हुन सकेन । चिकित्सक र अभिभावकको सल्लाह अनुसार एकपल्ट दिल्ली गएर चेकजाँच गराउने निष्कर्षमा पुगे ।

गत कार्तिक महिनाको पहिलो साता दिल्लीको अपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गरे । परीक्षणको प्रारम्भिक रिपार्टमा खासै समस्या पहिचान हुन नसकेपछि दश दिनपछि पुनः परीरक्षण गर्नेगरी नेपाल फर्किए ।

सोही समयमा प्रतिनिधि सभा तथा प्रदेश सभाकाको चुनाव हुन गइरहेको थियो । म सक्रिय कार्यकर्ताका हिसावले चितवनमा नै चुनावमा ब्यस्त भए । दश दिनपछि सोही अस्पतालमा पुनः परीक्षण गराउन गए । पुनः परीक्षण गर्दा क्यान्सर प्रारम्भिक (प्री–इनिशियल) शुरूवाती चरणको अवस्थामा रहेको पत्ता लाग्यो ।

चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि सोही अस्पतालमा भर्ना भए । र, स्तनको शल्यक्रिया पनि गरे । भविष्यमा आउन सक्ने जोखिमलाई न्यूनीकरण गर्नका लागि किमो थेरापी लिनु उचित भन्ने चिकित्सकको परामर्श अनुसार २१ दिनको फरकमा चार साइकल थेरापी पूरा गरे ।

चार पटक किमो चढाउँदा मेरो खानपिनमा परिवर्तन आएपनि दैनिकी काममा कुनै परिवर्तन गरिन । म बिरामी छु भन्ने अवस्थालाई कम गर्न कामामा निरन्तर जोडिरहे । यसो गर्नुको पछाडि मैले आफ्नो आत्मवललाई दह्रो पार्नु थियो । काममा ब्यस्त हुँदा अन्य कुरा सोच्ने समय पनि नहुने ।

बिरामी भएको वेलामा आत्मबल बढाउनु सबैभन्दा ठूलो चुनौती हुन्छ । आत्मबल दह्रो हुँदा रोग निको हुनलाई धेरै मद्धत गर्छ । मलाई पनि डर नलागेको होइन । तर, क्यान्सर भएको थाहा पाउदा पनि आत्मबललाई कमजोर हुन दिइन् । ‘मर्ने एक दिन हो ।

मर्नका लागि क्यान्सबाट मात्र होइन । जुनसुकै समयमा जुनसुकै कारणले पनि मर्न सकिन्छ । जीवन अस्थायी हो भन्ने साश्वत कुरा मनन गर्नु पर्छ । रोग निको हुनका लागि सही उपचार र औषधीको प्रयोगसँगै आत्मबलभन्दा अर्को शक्ति केही हुँदैन । मैले हरदम मनमा यो रोगलाई परास्त गर्न सक्छु र पूर्ण रूपमा ठिक हुन्छु भन्ने सोचिरहे । हामी जति बाँच्छौँ सक्रिय रूपमा बाँच्नु पर्छ भन्ने मेरो धृण इच्छा हो ।

चिकित्सकले क्यान्सर शुरूवाती चरणमा रहेको बताएपछि मलाई यो रोग निको भइहाल्छ भन्ने पनि लाग्यो । तनाव लिएर रोगलाई बढाउनु भन्दा तनाव कम गरेर राम्रो उपचार तिर लाग्नु नै उचित सम्झिए । क्यान्सरबाट म चाँडै मुक्त हुन सक्छु भन्ने सकारात्मक सोच राख्दैँँ म छिटो निको भइरहेको छु भन्ने अनुभूति गरे ।

विरामी अवस्थामा चिकित्सकको सहि उपचार पद्धति, व्यवहार, परिवार, आफन्तहरूको साथ र हौसला पनि ज्यादै महत्वपूर्ण हुने रहेछ ।

हाम्रो समाजमा मानिस क्यान्सर र किमो थेरापी सुन्नसाथ फरक व्यवहार र दृष्टिकोण राख्छन् । कुनै पनि रोग समयमा पहिचान हुन सक्यो र सही उपचार भयो भने पूर्ण रूपमा निको हुन्छ ।

नेपालमा उपचार भन्दा पनि समयमा रोगको पहिचानमा समस्या देखिएको छ । रोग पहिचानका लागि अत्याधुनिक उपकरणहरू नेपालमा अझैँ पर्याप्त छैनन् ।

म जस्तै अन्य धेरै महिला स्तन क्यान्सरसँग जुधिँरहेको देखेपछि राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति भएका नाताले यो रोग विश्वव्यापी रूपमा कस्तो अवस्थामा छ ? उपचार कसरी हुन्छ ? हाम्रो देशमा यो रोगको अवस्था कस्तो छ ? के कारणले हाम्रो देशमा क्यान्सर रोग बढिरहेको छ भन्ने बारेमा समितिमा नै छलफल गरे ।

 

डब्लुएचओका प्रतिनिधि, स्वास्थ मन्त्रालयका पदाधिकारी, यससँग सम्बन्धित चिकित्सक, क्यान्सर रोगी, क्यान्सर रोग विजेतालगायत सरोकार बोलाएर समितिमा छलफल गर्दा के निश्कर्षमा पुगियो भने नेपालमा महिलाहरू समयमा उपचार गर्न नजाने, रोग लुकाएर बस्ने र अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने आदि कारणले स्तन तथा पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलाहरूको मृत्यु हुने रहेछ ।

अझ हाम्रो देशका दुर्गम क्षेत्रका महिलामा सूचना पहुँचको अभाव तथा स्वास्थ समस्याको कारण अकालमा ज्यान गुमाउनु परिरहेको छ ।महिलाहरू आफ्नो स्वा स्थ्य भन्दा पहिला परिवारको स्वास्थ, शिक्षा, तथा खानपानमा ध्यान राख्नाले उहाँहरूको सीघ्र उपचार असम्भव हुने गरेको छ ।

एक महिला स्वस्थ रहनु भनेको एक आमा, परिवार र सिंगो समुदाय नै स्वस्थ रहनु हो । हाम्रो वरिपरिको वातावरण, खानपिन, ब्यस्त दिनचर्या लगायतका कारण विभिन्न गम्भीर रोगको उच्च जोखिममा नै छौं । साथै, हामीले नियमित स्वस्थ परीक्षण गर्नु पर्ने रहेछ । फलफूल तथा पौष्टिक खानेकुरा खान विरामी नै हुनुपर्ने अवस्था छ ।

साथै, उपचार पद्धती पनि नेपालमा अत्यन्त महंगो छ । जस्तो सरकारी अस्पतालमा चेकजाँचका लागि पालै नआउने पालो आएपनि अत्याधुनिक मेशिन नै नहुने । अनि प्राइभेट अस्पताल जानु पर्ने । प्राइभेट अस्पतालमा सामान्य मानिसले तिर्न सक्ने शुल्क नै हुँदैन् ।

एक ठाउँमा रोग पहिचान नभएपछि अर्को ठाउँमा जाँदा पुनः सबै जाँच गर्नुपर्ने । एक हप्ता अघि गरेको रिपोर्ट एकहप्ता पछि अर्को अस्पतालले मान्दैन । वास्तवमा एउटा विरामी उपचारको क्रममा अस्पताल धाउँदा धाउँदै सबै सम्पती सक्ने र उपचार पनि ढिला हुने विद्यमान परिस्थिति छ । अर्कोतिर महिलाहरूसँग पैसा हुँदैन् ।

आफूसँग पैसा नभएपछि घरपरिवारको भर पर्नुपर्छ । परिवारको सल्लाहमा उपचार गर्नुपर्ने हुन्छ । साथै, रोग सुन्नसाथ घरबार नै पो सकिने हो कि भनेर झन डराएर राम्रो अस्पताल नै नपुग्ने गरेका उदाहरण पनि छन् । महिला मात्र होइन जो कोहीले पनि आफूलाई रोग लागेको शंका हुनसाथ उपचारका लागि अस्पताल जानै पर्छ ।

यसरी अस्पताल गएमा उपचार संभव हुनेमात्र होइन् खर्च पनि कम लाग्छ । अहिले म सक्रिय रूपमा दैनिक क्रियाकलाप तथा समितिको काम र संसदको काममा ब्यस्त छु । सायद यस्तो हुनुमा मेरो सही समयमा उपचार, दह्रो आत्मबल र परिवारको साथ समर्थन नै हुनुपर्छ ।