ख्यातिको दुरुपयोग गर्दै सन्दीपले बलत्कार गरेको अदालतको ठहर

0
22

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेले आफ्नो ख्याति (स्टारडम) को दुरुपयोग गरेर बलात्कार गरेको ठहर गरेको छ । जिल्ला अदालतले यो मुद्दाको फैसलाको पूर्णपाठमा सो कुरा बताएको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले २५ पुस, २०८० मा गरेको फैसलाको पूर्णपाठमा क्रिकेट खेलेर बनाएको व्यक्तित्वको दुरुपयोग गरी पीडितको कमजोर अवस्थाको फाइदा उठाएको भनिएको छ ।

जिल्ला अदालतले यो मुद्दाको फैसलाको पूर्णपाठमा बलात्कार भएको हो कि होइन र पीडित बालिग हुन् कि होइनन् भन्ने विवाद निरुपण गरेको छ । अदालतले सन्दीपले ख्यातिको दुरुपयोग गरेको बताएको छ । एक नजिर उल्लेख गर्दै जिल्ला अदालतले कुनै क्षेत्र विशेषका ख्याति प्राप्त व्यक्ति र समर्थकबीच पनि यस्तो सम्बन्ध हुनसक्ने उल्लेख गरेको छ । जिल्ला अदालतले असमान शक्ति सम्बन्धका कारण कमजोर व्यक्तिहरु सहजै विश्वासमा पर्ने भन्दै पीडित गौशाला–२६ माथि त्यही भएको ठहर गरेको हो ।

‘यस्ता निर्बल व्यक्तिलाई अर्को पक्षले सहजै दुरुपयोग गर्नसक्ने हुँदा त्यस्ता व्यक्तिहरु यौन जोखिममा रहेका हुन्छन्’ फैसलामा भनिएको छ, ‘यसरी जोखिममा रहेका व्यक्तिसँग हुने यौनक्रियाका सम्बन्धमा मञ्जुरीको प्रश्न उठेमा असमान शक्ति सन्तुलनको दृष्टिकोणबाट हेरिनुपर्ने हुन्छ ।’

२०७९ भदौमा भएको उक्त घटना सहमतिमा भएको भन्दै सन्दीपका कानुन व्यवसायीले भने पनि त्यसलाई पीडित गौशाला २६ ले प्रतिकार गर्ने अवश्था नरहेको अदालतको पूर्णपाठमा उल्लेख छ । साथै अदालतले सन्दीपले करणी गर्ने मनसाय राखेको समेत बताएको छ । दिनभर नगरकोट घुमेको र बेलुका सिनामंगलस्थित होटल काठमाडौं इनमा ल्याएर राखेको र पीडित बसेकै कोठामा बस्नुले करणी गर्ने मनसाय देखिएको फैसलाको पूर्णपाठमा उल्लेख छ ।

जिल्ला अदालतले घटना भएको बेला पीडितको उमेर १८ वर्ष पूरा भइसकेको पनि ठहर गरेको छ । विभिन्न कागजातमा उल्लिखित जन्ममिति र पत्राचारहरुको व्याख्या गर्दै जिल्ला अदालतले गौशाला २६ को जन्ममिति १८ असार २०६१ मा भएको किटान गरेको छ ।