गठबन्धनले महिलालाई नेतृत्वमा पुग्न झन अफ्ट्यारो पारेको छ : नेता अनिता देवकोटा

0
100

लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय माननीय अनिता देवकोटा अहिले राष्ट्रिय सभाको सदस्य हुनुुहुन्छ । गृह जिल्ला दाङ रहनु भएकी नेता देवकोटा राजनीतिमा प्रवेश गर्दा नेपाली महिलाले घर बाहिर निस्कन पनि मुस्किल थियो । महिला राजनीतिमा आउँदा समाजले कैयौँ लाञ्छन लगाउने डर हुन्थ्यो । समाजले महिला माथि लगाएका अनेक सामाजिक बन्धनलाई पन्छाउँदै राजनीतिमा होमिनु भएकी नेता देवकोटा अहिले राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतक हुनुहुन्छ । नेता देवकोटासँग नारी नेपालकी सम्पादक पूजा ढकालले गरेको कुराकानी :

लामो समयदेखि तपाईं राजनीतिमा सक्रिय हुनुहुन्छ र नेतृत्व तहसम्म पनि पुगिसक्नु भएको छ । कसरी राजनीतिमा आउनु भयो ?
करिब चौँध/पन्द्र वर्षको उमेर स्कुल पढ्दैदेखि नै म राजनीतिमा सक्रिय भए । २०३६ सालको जनमत सग्रहमा मेरो भोट दिने उमेर नै पुगेको थिएन । त्यतिखेर राजनीति दलहरू भूमिगत थिए । म राजनैतिक दलका विभिन्न कार्यक्रममा भाग लिने गर्थे ।

त्यससमयमा पञ्चायत विरुद्ध देशव्यापी रूपमा विभिन्न आन्दोलन भइरहेका थिए । आन्दोलनमा म घरबाट लुकीलुकी भाग लिन्थे । २०१७ सालमा सैलजा आचार्यले पञ्चायत विरुद्ध कालो झण्डा देखाएर साहसी कार्य गर्नु भएको थियो । उहाँले गरेको कार्यको देशभरि चर्चा थियो । उहाँको प्रेरणाबाट म राजनीतिमा लागेकी हुँ ।

२०४२ सालमा पञ्चायत विरुद्घ विभिन्न राजनैतिक दलले सत्यग्रह शुरु गरेका थिए । त्यस बेला म क्याम्पस पढ्थे । मैले सत्यग्रहमा भाग लिएर क्याम्पसमा विभिन्न कार्यक्रम सञ्चालन गरे । त्यसका आधारमा मलाई सरकारले ‘वारेन्ट’ जारी गर्‍यो । मलाई जहाँ भट्यो त्यही प्रहरीले पक्रने भएकाले म तीन महिना दिदीको घरमा पढाइ छाडेर लुक्न बाध्य भए ।

त्यससमय महिलाले राजनीति गर्दा छोरी बिग्री भन्ने थियो । अहिलेको जस्तो राजनीति गर्न सहज अवस्था थिएन । त्यसवेला महिलाले राजनीति गर्न समाज र पञ्चायतको डर उत्तिकै थियो । यही कुराले धेरै महिला राजनीतिमा आउँनै सक्दैँनथे । अवस्था कस्तोसम्म थियो भने हामी कक्षा कोठामा कक्षा लिइरहेका हुन्थ्यौँ । उता प्रहरीले कक्षा कोठा घेरिसकेको हुन्थ्यो ।

एकातिर कार्यक्रम छ भन्ने र भित्रभित्रै कार्यक्रम अर्कै तिर गर्‍थ्यौँ । मेरो बुबा राजनीति शास्त्रको प्रध्यापक हुनुहुन्थ्यो । म राजनीति गर्ने । बुबालाई निकै दवाव हुन्थ्यो । सबैले बुबालाई तपाईंकी छोरी विग्री समेत भन्नुहुन्थ्यो ।

विवाहपछि धेरै महिलाले राजनीति छोड्नुहुन्छ । तपाईं राजनीतिमा कसरी सक्रिय रहनु भयो ?

यतिसम्म भयो कि भूमिगत अवस्थमा मेरो विवाहको मिति तोकियो । म प्रहरीको खोजीमा थिए । मेरो विवाह दाङबाट हुन नसकेर नोपलगञ्जबाट गरियो । विवाह भएपछि २०४६ सालमा जनआन्दोलनमार्फत वहुदलीय व्यवस्था लागू भयो । अब राजनीति खुला रूपले गर्न सकिन्थ्यो । घरमा ससुरा र श्रीमान राजनीति गर्ने भएकाले घरको माहोल राजनीति नै थियो ।

यसबेलामा मलाई राजनीति गर्न सहज भयो । पेटमा बच्चा थियो । म महिला संघलगायत अन्य पार्टीको काममा हिडेको हिड्यै गर्नु पर्ने । तर, घरबाट रोकतोक थिएन । घरको काम सकेर म स्वतन्त्रपूर्वक राजनीतिमा हिड्न पाउँथे । राजनीतिमा आउने महिलालाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्छ । मलाई त्यसवेला घरपरिवार, श्रीमानले राजनीति गर्न रोकेको भए आज म यो स्थानमा हुने थिइन ।

२०४८ सालको निर्वाचनमा दिनभरी नै म बाहिर हुन्थे । २४ घण्टा खट्नु पर्थ्यो । घरबाट बाहिर हुने भएकाले ससुराले तिमी निर्वाचनमा धेरै खटी रहेकी छौं । खाजा खान पनि पाउँदिनाँै होला भन्दै सय रुपैयाँ हातमा हालिदिनु भयो । त्यो सय रूपैयाँ नै मेरो राजनीतिमा लाग्ने अर्को प्रेरणाको श्रोत बन्यो ।

श्रीमान र म घरको काममा बाडफाँट गरेर गर्थ्यौँ । जहाँ तपाईंले इच्छा गर्नुहुन्छ त्यहाँ उपाय पनि हुन्छ । राजनीति निणर्यक गर्ने थलो हो यसैले राजनीतिमा जो कोही महिला आउनै पर्छ । एउटी महिलाले इतिहास बनाउनु भन्दा धेरै महिलाहरु इतिहास लेख्ने काममा आउनुका साथै नीति बनाउने ठाउँमा महिला हुनुपर्छ । घर परिवारको सहयोगका कारण म राजनीतिमा स्वतन्त्रपूर्वक आउन सके ।

पछिल्लो समय महिलालाई प्रत्यक्षमा भागलिन पार्टीले टिकटै दिदैन र दिएकालाई पनि हार्ने ठाउँबाट मात्र दिइन्छ भनिन्छ । प्रत्यक्षमा महिलाले हार्ने र पुरुषले जित्ने भनेर महिलालाई टिकट नदिएको हो ?

महिलाहरू प्रत्यक्ष चुनाबी प्रतिशपर्धामा आउन चाहदैँन भन्ने कुरा सरासर गलत छ । पार्टीले टिकट दिने हो भने महिलाहरू प्रत्यक्ष चुनाबमा भाग लिन्छन् । तर, यहाँ महिलाहरूलाई प्रत्यक्ष चुनावमा टिकट नदिने अनि महिलाले हार्छन भन्न मिल्छ । परीक्षामा सामेल नगराने अनि फेल भइस भन्न पाइन्छ ।

चुनाबी प्रतिशपर्धाबाट आएका महिला नेतृत्वमा पुग्छन् । जनताको नेता हुन्छन् । समानुपातिकबाट आएका महिलालाई नेतृत्वतहमा पुग्न गाह्रो हुन्छ । अर्कोतिर, अहिले गठबन्धनले महिलालाई समस्यामा पारेको छ । गठबन्धन गरेर जित्ने ठाउँमा महिलालाई टिकटै दिइदैँन । ३३ प्रतिशत महिलाको आरक्षण व्यवस्थालाई समानुपातिकमा प्रतिस्थापन गरिएको छ ।

त्यसमा परिमार्जन गरेर प्रत्यक्ष चुनावमा नै ३३ प्रतिशत महिला पठाउनु पर्ने व्यवस्था गर्नु पर्छ । प्रत्यक्षमा आउन सकेनन् भने मात्र सामानुपातिकबाट कोटा पुर्‍याउनु पर्छ । महिलासँग मसल र मनी (पाखुरा र पैसा) छैन् भन्ने गरिन्छ । हामीले ब्रेनले काम गर्ने हो गरिरहेका छौँ एजेण्डामा काम गर्छौं । मसल र मनीका नाममा महिलालाई बञ्चित गरिनु हुँदैन ।

राष्ट्रपतिमा विपरीत लिंगको हुनुपर्ने संविधानमा उल्लेख छ । तर, वा छिद्रभित्र छिरेर पुरुष नै ल्याइयो । गठबन्धनका नाममा महिला त झनै बढी प्रभावित भएका छन् । म नेपाली काग्रेसको गठबन्धन गरैको पार्टीबाट छु तर, गठबन्धनले महिलालाई अझ धेरै प्रभावित पारेको छ ।

नेतृत्वतहमा अझै पनि महिला पछि नै परेको अवस्था छ । नेतृत्वमा महिलाको संख्या बढाउन के गर्नुपर्ला ?

अझै पनि नेपाली नारी नेतृत्वमा नगन्य संख्यामा हुनुहुन्छ । नेतृत्वमा महिला ल्याउनका लागि स्थानीय, प्रदेश, केन्द्र सबैमा महिलालाई भोटर मात्र बनाइनु हुँदैन् । राज्यका विभिन्न निकायमा नेतृत्वदायी भूमिका पनि महिलालाई दिनुपर्छ । तर, अझै पनि त्यसो हुन सकिरहेको छैन् । राजनीति दलले स्थानीय तहमा वडाध्यक्षमा ३३ प्रतिशत महिलालाई टिकट दिनुपर्छ ।

यसले स्थानीय तहमा महिलालाई नेतृत्वमा पुर्‍याउँछ । अझै पनि कुनै पनि प्रदेशमा महिला प्रमुख हुनुहुन्न । प्रदेश र केन्द्रको मन्त्रिपरिषद्मा ३३ प्रतिशत पनि महिला हुनुहुन्न । यहाँ महिला अनिवार्य ३३ प्रतिशत गर्नुपर्छ ।

यसैपालीको स्थानीय तहमा मेयरमा हेराँै सबै पार्टीले दक्ष कार्यसम्पादन गरेका पूर्व उत्कृष्ट उपमेयरलाई नै मेयरमा टिकट दिएन । अनि कसरी महिला नेतृत्व तहमा पुग्ने ? पार्टीमा समान योगदान गरेका व्यक्तिलाई महिला र पुरुष भनेर छुट्याइनु हुँदैन् । दुवैलाई बराबरी नेतृत्व तहमा पुर्‍याउनु पर्छ ।

महिला सशक्तिकरणका लागि के गर्न सकिन्छ ?
सर्बप्रथम महिलालाई शिक्षाका साथै वित्तीय पहुँच आवश्यक छ । महिला आफैँ सक्षम भयो भने आफैँ निणर्य गर्न सक्छ । ऊ कसैको भर पर्नु पर्दैन । महिलालाई शिक्षामा लगानी गर्नु पर्छ । शिक्षा, स्वास्थ र आर्थिक क्षेत्रमा महिलालाई अघि बढाउनु पर्छ ।

महिलालाई उद्यमी बन्नुपर्छ । महिला प्रविधिमा पनि अघि बढ्नु पर्छ । महिला र पुरुषको ब्रेन पावर उस्तै हो । प्रजनन क्षमता महिलामा मात्र हुने भएकाले महिलाले दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । महिला र पुरुषले घरको काममा समान दाहित्व बहन गर्नु पर्छ । जसले गर्दा महिला घर बाहिर निस्कन पाउँछन् ।

सम्पतीमा महिला र पुरुषको समान निणर्य हुनुपर्छ । जसले महिलाले केही गर्छु भन्दा आर्थिक संकट नहोस् । यी कुरा महिला सशक्तिकरणका लागि आवश्यक छन् ।

राजनीतिमा महिला हिंसा छ भनिन्छ नी यो कस्तो किसिमको हिंसा हो ?

राजनीतिमा महिला हिंसा भनेको महिलाले पाउनु पर्ने अधिकारबाट बञ्चित गरिनु महिला हिंसा हो । जस्तो अघिपनि कुरा गर्‍यौँ, महिलालाई नेतृत्वमा पुग्न निकै गाह्रो छ । आफूभन्दा जुनियर र कम क्रियाशिल मानिस पुरुष भएका कारण नेतृत्वमा पुग्ने तर, महिलालाई अनेक बाहनामा रोकिने गरिन्छ यो पनि हिंसा हो ।

प्रत्यक्षमा महिलालाई सहभागी अत्यन्त कम संख्यामा गरिन्छ यो पनि हिंसा नै हो । महिलालाई मसल र मनीको कुरा गरेर पछि पार्न खोजिन्छ यो पनि हिंसा नै हो । राजनीतिमा महिला हिंसा एकदमै छ ।