चलचित्र ‘प्रसाद–२’ प्रदर्शन नगर्न अन्तरिम आदेश

0
37

काठमाडौं । उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ प्रदर्शन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुदर्शनराज पाण्डेको एकल इजलासले आज उक्त चलचित्रको आउँदो शुक्रबारदेखि प्रदर्शन गर्ने कार्य तत्काल नगर्न नगराउन आदेश दिएको हो ।

निर्माता केशव पाण्डेले दिनुभएको रिट निवेदनमा चलचित्र निर्माता सुवास थापाले आफ्नो रकम नदिएको र निर्माताका रुपमा नाम पनि हटाएको भन्दै चलचित्र प्रदर्शन रोक्न माग गर्नुभएको थियो ।

पाण्डे अदालत जानुअघि चलचित्र विकास बोर्डमा उजुरी दर्ता गर्न अस्वीकार गरेपछि अदालत पुग्नुभएको हो । उक्त विवादमा दुवै पक्षलाई छलफलका लागि यही चैत २६ गते बोलाइएको छ ।

यसअघि पाण्डेले सुवासले दिनुभएको ६२ लाख ५० हजारको चेक बाउन्स र ठगीको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराउनु भएको थियो । अदालतले पक्राउ पुर्जीसमेत जारी गर्यो ।

अहिले प्रहरी निर्माता सुवासलाई खोजिरहेको अवस्थामै निर्माण टिमले फिल्म प्रदर्शन गर्दा प्रसाद २ को सेन्सर रोक्न भन्दै चलचित्र विकास बोर्डमा मागसमेत गरेका थिए । तर, सोमबार चलचित्र विकास बोर्डमा भएको छलफलमा फिल्म रोक्न नहुने निर्णय हुँदा निर्माता पाण्डे उक्त कुरामा असहमत हुनुभएको थियो ।