चुचुरोकी रानीका ‘अन्तरकथा’

0
183

शिखर आफैमा चुचुरो हो । चुचुरोको फेदमा बसेर जो कोही पनि शिखर चुम्न चाहन्छन् । तर, त्यो भाग्य एका/दुईलाई मात्र मिल्छ । अल्ट्रा धावक मिरा राई तिनै एका/दुई मध्येकी एक हुनुहुन्छ । पहाडका चुचुराहरूमा उच्छलकूद गर्ने मिरालाई त्यही चुचुरोले नै विश्वसामु चिनायो ।

तर, मिराको अन्तरकथा यतिमा मात्र सीमित छैन् । संघर्षै संघर्षले भरिएको उहाँको जीवन, कर्म जीवन पनि संघर्ष नै रोज्नु भयो । यी दुई संघर्षले उहाँलाई अब्बल मात्र बनाएन अल्ट्रा धावक खेलमा संसारमै छुट्टै पहिचान समेत दिलायो ।

भोजपुर पौवादुङ विकट गाँउमा जन्मिनु भएकी मिराको वाल्यकाल कठिन संघर्षमा गुज्रियो । दुई छाक अघाउन्जेल खान र, सामान्य विछ्यौँनामा आरामले सुत्न पाउनु नै उहाँका लागि ठूलो सपना थियो । मिरा यस्तो परिवारमा जन्मिनु भएको थियो जहाँ परिवारका सबै दस्यले बर्षभरी १६ घण्टा मिहिनेत गर्दा पनि दुःखले तीन/चार महिनाभन्दा बढी खान पुग्दैँनथ्यो ।

तर, मिरामा एउटा अद्भूत शक्ति थियो । सानो उमेरमा अत्यधिक उच्छलकूद गर्ने मिरा विहानको उषा किरणमा नै खाली खुट्टाले पहाडका चुचुरा छिचोली सक्नुहुन्थ्यो ।

उहाँ सुनाउनु हुन्छ ‘खै धेरै त थाहा छैन् । तर, मेरो खुट्टामा कुनै जाँदु चाहिँ हुनुपर्छ । म हातभन्दा बढी खुट्टा नै चलाउँथे । मलाई विस्तारै हिड्नै आउँदैनथ्यो । आँगनमा पनि म कुदिनैँ रहन्थे ।’ उहाँ धेरै कुद्ने भएकाले उहाँका आमा बुबाले कहिलेकाही मिरालाई बाधेर समेत राख्नु पर्‍थ्यो ।

मिजासिली स्वभावकी मिराले घरको आर्थिक समस्यालाई सानै उमेरदेखि नजिकैबाट निहाल्नु भएको थियो । त्यसैले होला उहाँ बालखैँ उमेरमा परिपक्क बन्नु पर्‍यो । लगभग ६ वर्षको उमेरमा त उहाँ घरमा भएको मुठी मानु सामान बोकी एकाहदिन हिडेर धनकुटा बजारसम्म पुग्नुहुन्थ्यो । र, ती सामान बेचेर नुनु तेल किनेर पुनः घर फर्कनु हुन्थ्यो ।

अभावै अभावको जिन्दगीमा पनि मिरा सपना भने देख्न छाड्नु हुन्थेन । ‘एकदिन त कसो मैले पनि केही नगरौला र ?’ मनमनै यी शब्द दोह्रयाइ रहनु हुन्थ्यो तर, उहाँले देख्ने सपनालाई पहाडका अत्यासलाग्दा डाडाले छेकिदिन्थे ।
आमाबाबुको त्यो कठिन परिस्थिति मिराको वाल मस्तिष्कमा निकै नमज्जाले गडेको थियो । उहाँलाई जीवनको महत्व कसैले बुझाइरहनु परेन ।
उहाँको वालमस्तिष्कमा आफ्नो आमाबुबाको बोझ कसरी कम गर्ने र आफू कसरी अब्बल बन्ने भन्ने मात्र प्राथमिकतामा प¥थ्यो । ‘मैले थाहा पाउँदादेखि मेरो सपना नै दुःखको यो भूमरीबाट परिवारलाई कसरी निकाल्ने भन्ने हुन्थ्यो । वास्तवमै ती दिन कठिन थिए,’ उहाँ स्मरण गर्नु हुन्छ ।
तर, कहाँबाट कसरी सुखी जीवनको अध्ययाय शुरु गर्ने कुनै अत्तोपत्तो थिएन् । मिरा मात्र १४/१५ वर्षकी हुनुहुन्थ्यो गाँउमा नयाँ राजनैतिक शक्ति ‘माओवादी’ देखा पर्‍यो । यो राजनैतिक शक्ति जसले मिराको जीवनमा परिवर्तन ल्याइ दुःखको भूमरीबाट बाहिर निकाल्छ भन्ने मिरालाई लाग्यो ।

उहाँका सहयात्री, गाउँका अन्य मानिस सबै पार्टीमा लागे र, उहाँ पनि १४ वर्षको कलिलो उमेरमा माओबादीको पूर्णकालीन योद्धा बन्न घरबाट सुटुक्क हिड्नु भयो । र, जनमुक्ति सेनामा भर्ती हुनुभयो । सेनामा भर्ती हुनु मिराको एउटै उदेश्य थियो, परिवार र आफ्नो भविष्य उज्वल पार्नु ।

दुःखको दलदलबाट बाहिर निस्कनु । तर, मिराले सोचेको त्यो काम कहाँ सजिलो थियोर ! बन्दुकको नालमा हिडेको मान्छे कुनबेला लास बन्ने हो पत्तै थिएन । ‘बाचे भविष्य बन्ने मरे शहीद’ मिरा यस्तै सोच्नुहुन्थ्यो ।

१२ वर्षे जनयुद्धमा बन्दुकका गोलीलाई छल्दै मिरा बाच्न त सफल हुनुभयो तर, उहाँ उमेर हदका कारण अयोग्य लडाकु बन्नु पर्‍यो । अयोग्य लडाकु बन्नुको पीडा मिरालाई मात्र थाहा थियो ।

मनमा ठूलो धक्का लागेपनि केही गर्छु भनि अठोट बोक्नु भएकी मिरा चुप बस्नेवाला लडाकु हुनुहुन्थेन । उहाँ भित्रैबाट संघर्षले पाके थाकेकी लडाकु हुनुहुन्थ्यो । उमेरले लडाकु बन्न नपाए पनि आफैं योग्य बन्ने प्रयास गरिरहनु भयो । मिरा जनयुद्धमा लाग्दा खेलकुदमा धेरै नै सक्रिय हुने मौका पाउनु भयो । खेलकुदकै क्रममा उहाँले केही खेलकुद क्षेत्रका मानिसलाई पनि चिन्नु भएको थियो ।

अयोग्य लडाकु भएपछि मिराले मलेसिया गएर आर्थिक स्थिति सुधार गर्ने विचार समेत गर्नुभयो । तर, उहाँको भाग्यमा अर्कै लेखेको थियो । संयोगले भनौ वा जीवनको टर्निङ पोइन्ट । उहाँको जीवन अन्तै मोडियो ।

मिराले एक प्रशिक्षक गुरूलाई फोन गर्नु भयो र आफू काम गर्नका लागि मलेसिया जान लागेको जानकारी गराउनु भयो । ‘तिमी अझै एक दुई वर्ष खेल नत्याग त्यसपछि पनि केही लागेन भने विदेश जानु’ ती प्रशिक्षले ठाडै सुझाव दिनुभयो ।

उनै प्रशिक्षकले मिरालाई काठमाडौं बसेर म्याराथन गर्ने वातावरण पनि मिलाइ दिनु भयो । मिराका लागि यो निकै ठूलो अवसर थियो । अर्को तिर यो अवसरलाई कसरी सफलतामा पुर्‍याउने उहाँलाई चुनौति पनि थियो । ती दिन सम्झदै मिरा भन्नुहुन्छ ‘गर वा मर’ को समय थियो ।’
मिरा विहान ५ वजे उठिसक्नु हुन्थ्यो र, चप्पलमै काठमाडौंका सडक छिचोलिसक्नु हुन्थ्यो ।

दौडिने क्रममा एक दिन उहाँले बुढानिलकण्ठको सडकमा आफ्ना केही खेलकुदका दाइहरूलाई जंगल भित्र जाँदै गरेको देख्नु भयो । उहाँ पनि ती दाईहरू तिरै जंगल लाग्नु भयो । जंगलमा रेस रहेछ । अर्को हप्ता ५० किलोमिटरको म्यारथन रेस हुने आयोजकले उहाँलाई बताउनु भयो ।

मिराले त्यो रेसमा भाग लिनुभयो । बाटो निकै कठिन थियो ५० किलोमिटरको रेस चानचुने थिएन । उकालो, ओरालो, भिरालो, समथल, चुचुरो सबै । मिराले ती कठिन पहाडका चुचुरा लगातार १२ घण्टा कुदेरै पार गर्दै लखतरान हुँदासम्म प्रथम स्थान हासिल गरिसक्नु भएको थियो । यो नै उहाँको जीवनको टर्निङ प्वाइन्ट बन्यो ।

त्यसपछि उहाँले जीवनमा कहिलल्यै पछाडि फर्केर हेर्नु परेन । मिराले अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो क्षमता देखाउने मौका पाउनु भयो । पहिलो पटक २०१४ मा उहाँ ट्रेल रेसका लागि इटाली जानु भयो ।

‘भोजपुरबाट काठमाडौं मेरा लागि कल्पनाको यात्रा थियो । युरोप अमेरिका सबै मेरा लागि काठमाडौं थियो । तर, यो पनि पार गरेर म इटाली म्याराथन रेसमा भाग लिन जाँदैथिए । मलाई लाग्यो रेस त मैले काठमाडौं एयरपोर्ट छिर्दै जितिसके । अब कुद्न मात्र बाँकी थियो ।’ उहाँ भन्नुहुन्छ । नभन्दै उहाँले त्यो रेसमा पहिलो स्थान हासिल गर्नु भयो ।

यसपछि त उहाँ अन्तराष्ट्रिय जगतमै छाउनु भयो । सन् २०१५ मा ८० किलोमिटर विश्व च्याम्पियन म्याराथन दौडमा पहिलो स्थान प्राप्त गर्न सफल हुनुभयो । त्यो म्याराथन मिराले १२ घण्टा ३२ मिनेट १२ सेकेण्डमा पार गर्दै उहाँ पहिलो पटक विश्व च्याम्पियन बनी रेकर्ड समेत राख्नु भयो ।

त्यसपछि स्पेनमा भएको ‘अल्ट्रा पिरिनेउ’ ११० किलोमिटर म्यारथन रेसमा दोस्रो स्थान हासिल गर्नु भयो । उहाँले एसिया च्याम्पियन हुँदै धेरै पटक विश्व विजेता रेकर्ड राखि सक्नु भएको छ । धेरै मेडलहरू हात पारिसक्नु भएको छ । २०१६ मा विश्वका विलक्षण साहसी काम गर्ने विश्वका १३ महिलामा मिरा पनि पर्न सफल हुनु भयो ।

यसपछि २०१७ मा मिरा २०१७ को नेशनल जियोग्राफिक एडभेन्चरर अफ द इयरको विजेता हुनुभएको थियो । यद्यपि, मिरालाई बेलाबखत उनलाई विगतको पीडादायी स्मृतिले झस्काइरहन्छ ।

मिराले आफू कठिन घडिबाट बाहिर निस्किएर खेलकुदमा लागेकाले खेलकुदमा लाग्न चहाने १५ वर्षमाथिका किशोरी तथा महिलाका लागि ‘मिरा इनिसिएटिभ फाउण्डेशन’ मार्फत अल्ट्रा धावक सम्बन्धि तालीम दिइरहनु भएको छ । वर्षमा ९ महिनासम्म सञ्चालन हुने यस अल्ट्रा धावक रेस तालीमम उहाँले आफूजस्तै अब्बल महिला म्यारथन खेलाडी निकाल्ने लक्ष राख्नु भएको छ ।

अहिलेसम्म उहाँको संस्थाबाट २१ जना किशोरी तथा महिलाले तालीम लिइसकेका छन् । मिरा अहिले फ्रान्सको खेलकुद उपकरण निर्माता सालोमोन कम्पनीकी ब्राण्ड एम्बास्डर पनि हुनुहुन्छ । सालोमोनमार्फत उहाँले विभिन्न देशमा गएर आफ्नो खेल प्रस्तुत गर्नुका साथै, आफूलाई थप तालीम पनि दिलाउँदै आउनु भएको छ ।

प्रस्तुति: पूजा ढकाल