चेतना महिला अनौपचारिक विद्यालयले ल्याएको ‘चेतना’

0
178

दाङ । केही वर्षअघिसम्म पढ्न र लेख्न नसक्ने घोराही उपमहानगरपालिका–१६ सर्रा निवासी ५२ वर्षीय देवीकुमारी खड्कालाई हिसाबकिताब गर्न, बैंकमा पैसा जम्मा गर्नका लागि भौचर भर्न र पैसा निकाल्न चेकमा केके लेख्नुपर्छ भन्ने थाहा थिएन तर अहिले भने त्यो सबै समस्या टरेको छ ।

घोराही उपमहानगरपालिका–१८ रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा पढ्न थालेपछि अहिले उहाँका ती समस्या टरेको हो ।सामान्यरुपमा पढ्न र लेख्नदेखि बैंकमा भौचर भरेर पैसा जम्मा गर्नसक्ने भएको खड्का बताउनुहुन्छ ।

घोराही उपमहानगरपालिका–१८ रझेना निवासी ४९ वर्षीय विमला मानन्धर पनि कक्षा १ मा अध्ययन गर्दै आउनुभएको छ । पछिल्लो समय अन्य विद्यार्थी जस्तै उहाँ हरेक दिन किताब, कापी झोलामा बोकेर अध्ययनका लागि विद्यालय आउने गर्नुहुन्छ ।

घरायासी कामसँगै छोरीले पढ्नु हँुदैन भन्ने परम्परागत सोचका कारण सानोमा पढ्न नपाउनुभएकी विमला अहिले भने अनौपचारिक शिक्षामा सहभागी हुन थाल्नुभएको हो । सानै देखिको पढ्ने रहर पूरा गर्नकै लागि ४९ वर्षको उमेरमा पनि उहाँ नियमित विद्यालय जाने गर्नुभएको छ ।

चेतना महिला अनौपचारिक विद्यालयमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म पढाइ हुने गरेको छ । विमला भन्नुहुन्छ, “सानो छँदा पढ्छुभन्दा पनि छोरीले पढ्न पाउने अवस्था थिएन । बिहेपछि घर व्यवहारले च्यापी हाल्यो । त्यसैले गर्दा बुढेसकालमा पढ्न थालेको छु ।”

चौध वर्षअघि दाङको घोराहीमा स्थापना भएको चेतना महिला अनौपचारिक विद्यालयमा कक्षा १ देखि ७ सम्म अहिले ३० महिलाले अध्ययन गर्दै आएका छन् । महिलाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीकै कोर्षअनुसार पठनपाठन गर्दै आएको विद्यालयकी प्रधानाध्यापक सुमित्रा पन्थी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “अहिले पनि समाजमा पढ्ने र लेख्ने रहर भएर पनि पढ्न नपाएका महिला हुनुहुन्छ । उहाँहरुलाई मध्यनजर गरेर खुलेको यो विद्यालय हो । यस विद्यालयमा अध्ययन गरेका महिला एसइईसँगै कतिपयले स्नाकोत्तरसम्म अध्ययन गरिरहेका छन् ।

करिब १४ वर्षको अवधिमा दुई हजार पाँच सयभन्दा बढी महिलाले यस विद्यालयबाट आध्ययन गरिसकेका छन् ।” विसं २०६८ मा छ महिला मिलेर सञ्चालन गरिएको यस विद्यालयले जेष्ठ महिलालाई पढाएबापत रू चार सय शुल्क लिने गरेको छ । अध्यापनका लागि चार महिला शिक्षक छन् तर उनीहरु दरबन्दीवाला भने होइनन् ।

विद्यालयले नै शिक्षक राखेर तलबको व्यवस्था गर्ने गरेको छ । तलबबापत मासिक रु चार हजार दिने गरिएको प्रधानाध्यापक पन्थी बताउनुहुन्छ । करिब डेढ कट्ठा जग्गामा दुई वटा भवन निर्माण गरेर पठनपाठनको काम हुँदै आएको छ तर गृहिणी महिलाले पढ्ने विद्यालयलाई कतैबाट सहयोग आउन नसकेकाले रझेनामा भवन निर्माणको सुरु भएको सात/आठ वर्ष पूरा हुँदासमेत पूर्णता पाउन नसकेको शिक्षिका सुधा गौतम बताउनुहुन्छ ।