छाउ नबार्ने महिलालाई सम्मान

0
65

बझाङ ।  गत साता खप्तडछान्ना गाउँपालिका–७ गडरायमा छाउपडी प्रथा तोड्ने महिला एक कार्यक्रममा सम्मानित हुनुभएको थियो । गडरायमा लागू भएको गरिमा परियोजनाले छाउपडी कुप्रथा तोडेको भन्दै १० जना महिलालाई सम्मान गरेको हो ।

 

आज सम्मानित भएका महिलाले महिनावारी भएको समयमा घरभित्र बस्ने, दही दूध खाने, गाईभैँसी दुहुनेजस्ता घरायसी काममा सक्रिय भएपछि सम्मान गरेको गरिमा परियोजनाले जनाएको छ ।

सामाजिक कुरीतिविरुद्ध डटेर सम्मानित हुनेमा प्रमिला रोकाया, गीता रोकाया, पारू रोकाया, अस्मिता रोकाया, पद्मा सिंह, उजेली थापा, विमला सार्की, शान्ति थापा, मनादेवी जोशी र जसु थापा छन् । गडरायमा अहिले धेरै महिलाले छाउपडी नमान्ने गरेको प्रमिला रोकायाले बताउनुभयो । उहाँले देउता मान्ने धामी झाँक्रीले पनि पछिल्लो समय छाउपडीलाई त्यति विभेद नगरेको बताउनुभयो ।