जनसंख्यामा महिला बढी, साक्षरता दर पुरूषकोभन्दा १४ प्रतिशतले कमी

0
95

काठमाडौं । महिला साक्षरता दर पुरुषको भन्दा कम रहेको तथ्याङ्कले देखाएको छ । पुरुषभन्दा महिलाको जनसंख्या ६ लाख ५० हजारले बढी भएपनि महिला साक्षरता दर भने पुरुषभन्दा १४ प्रतिशतले कमी रहेको छ ।

आज केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार महिलाको साक्षरता दर ६९.९ रहेको छ भने पुरुषको साक्षरता दर ८३.६ प्रतिशत रहेको छ । नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ । यस्तै, सबैभन्दा धेरै साक्षरता दर काठमाडैंको रहेको छ ।

जसमा पुरुष ९४.१९ छ भने ८४.१६ प्रतिशत महिला साक्षर रहेका छन् । यसैगरी सबैभन्दा थोरै साक्षरता दर रोतहट जिल्लामा रहेको छ । रौतहटमा पुरुषको साक्षरता दर ५७.७५ प्रतिशत रहेको छ भने महिलाको साक्षरता दर ४९.४८ प्रतिशत रहेको छ ।

२०६८ सालको जनगणनाभन्दा अहिले महिलाको साक्षरतादर बढेको तथ्याङ्कले देखाएको छ । २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।

शुक्रबार सार्वजनिक गरिएको विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ ।