झारखण्डकी महिलाका एकै पटक जन्मिए पाँच सन्तान

0
380

भारतको झारखण्डमा एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिनु भएको छ । बिबिसी हिन्दीका अनुसार झारखण्डको राँचीस्थित राजेन्द्र आयुर्विज्ञान संस्थान (रिम्स) मा गत सोमबार २७ वर्षीया अंकिताले पाँच सन्तानलाई जन्म दिनु भएको हो ।

रिम्समा भर्ना हुनु भएकी अंकिताका पेटमा एकभन्दा बढी बच्चा रहेको खुलेपछि चिकित्सकले विशेष निगरानीमा राखेका थिए। अंकितालाई २२ मेमा प्रसव व्यथा लागेको थियो। लगत्तै उहाँले प्रत्येक आधा–आधा घन्टाको फरकमा पाँच छोरीलाई जन्म दिनु भएको थियो ।

अंकिता र उहाँका श्रीमानको विवाहको सात वर्षमा एकै पटक पाँच सन्तान जन्मिएका हुन् । एकैपटक पाँच सन्तान जन्मिएपछि श्रीमान प्रकाश र अंकिता दंग हुनुहुन्छ।

पाँच बच्चालाई जन्म दिनुभएकी अंकिताको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न डाक्टर बुलिप्रियाले बिबिसीलाई बताउनु भएको छ । नवजात शिशुलाई अहिले एनआइसियू वार्डमा राखिएको छ। रिम्स अस्पतालमा पहिलो पटक एकैसाथ पाँच बच्चाको जन्म भएको हो।

‘यो सामान्य प्रक्रिया हो, महिलाको गर्भमा एकभन्दा बढी अण्डा उत्पादन हुँदा एकभन्दा बढी भ्रुण विकास हुन्छन्,’ चिकित्सकले बताउनु भएको छ ।

एकभन्दा बढी बच्चा गर्भमा रहेकाले अंकितालाई सात महिनामै सुत्केरी गराउनु परेको थियो। बच्चाहरूको तौल सामान्यभन्दा कम छ। बच्चाको फोक्सोसमेत कमजोर भएका कारण एनआइसियूमा राखिएको छ।

डाक्टरले अझै केही साता बच्चालाई एनआइसियूमै राख्न सुझाव दिएका छन्। विवाह गरेको सात वर्षसम्म पनि सन्तान नभएपछि अंकिताले आफ्ना श्रीमानसँग सल्लाह गरी स्थानीय अस्पतालबाट इन भिट्रो फर्टिलाइजेसन ९आइभिएफ० विधिबाट गर्भाधान गर्नु भएको थियो ।

अस्पतालमा जाँचका क्रममा एकभन्दा बढी बच्चा रहेको पाइएपछि रिम्स रेफर गरेको थियो।
अंकिताको डेलिवरी रिम्सकी वरिष्ठ डाक्टर शशिवाला सिंह नेतृत्वको टिमले गरेको थियो। उहाँका तीन बच्चा सुल्टो र दुई बच्चा उल्टो बसेका थिए।

जन्मनेबित्तिकै पाँच बच्चालाई एनआइसियूमा राख्नुपर्ने भएको थियो। अस्पतालमा एनआइसियू बेड खाली नहुँदा महंगो शुल्क तिरेर प्रकाशले दुई बच्चालाई निजी अस्पतालमा राख्नु भएको छ । तीन बच्चा मात्रै रिम्समा छन्।

ठेलामा फुलफूल बेचेर गुजारा गर्दै आउनु भएका प्रकाशको आर्थिक अवस्था कमजोर भएका कारण पाँच बच्चाको बाबु बन्नुको खुसीभन्दा उनीहरूलाई कसरी बचाउने भन्ने पीर छ।

१६ दिनअघि नै श्रीमतीलाई अस्पतालमा भर्ना गराइएको र गर्भमा पाँच बच्चा रहेको भन्ने थाहा हुँदाहुँदै अस्पताल प्रशासनले एनआइसियूमा बेड नराखिदिएको प्रकाशको आरोप छ।

अस्पताल प्रशासनले भने एनआइसियू वार्ड पहिलेदेखि नै खाली नरहेका कारण प्रकाश र अंकिताका दुई बच्चालाई अन्य अस्पतालमा राख्न भनिएको जानकारी दिएको छ।