थकाली स्पेसल टमाटरको चटनी यसरी घरमा नै बनाउनुहोस्

0
106


काठमाडौं । ‘थकाली थाली’ भन्न साथ गुन्द्रुक र टमाटरको अचार तपाईंको दिमागमा पहिला आउँछ । वास्तवमा थकाली प्रख्यात हुनको कारण गुन्द्रुक, टमाचरको अचार र खानाको सजावटले हो भन्दा फरक नपर्ला ।

आज हामी तपाईंलाई थकाली खानामा प्रयोग हुने स्वादिष्ट जिब्रोमा च्वाट्ट झुण्डने टमाटरको अचार बनाउने तरिका सिकाउन गइरहेका छौं । आउनुहोस् यसरी बनाऔं थकाली टमाटरको अचार ।

थकाली टमाटरको चटनी

सामग्रीः
टमाटरः आफूलाई चाहिने जति रातो पाकेको लिनुहोला । यसमा अझ लोकल टमटर छ भने झनै राम्रो । लोकल टमाटर चखिलो भएकाले यसले अचारलाई अझ स्वादिष्ट बनाउँछ ।
नुनः स्वादअनुसार
टिमुरः आधा चम्चा
खुर्सानीको धुलोः आधा चम्चा । खुर्सानीको धुलो नराख्नु भएपनि हुन्छ । यसमा हरियो खुर्सानी मात्र प्रयोग गर्छु भन्दा पनि हुन्छ । अकबरे खुर्सानी प्रयोग गर्दा झनै राम्रो ।
हरियो धनियाँ
लसुन

बनाउने तरिका

टमाटरलाई पखालेर ठिक्क टुक्रामा काट्नुपर्छ । एउटा टमाटरलाई चारवटा टुक्राभन्दा सानो टुक्रामा नकाट्नुहोस् । साथै, यहाँ बुझ्नु पर्ने कुरा के छ भने, थकाली टमाटरको अचार बनाउनका लागि कुनै पनि तेलको प्रयोग गरिदैन् ।

तातेको प्यान वा काराइमा पकाउन तयार परिएको टमाटरमा हाल्ने । त्यसमा नुन, लसुन, खुर्सानी पनि राख्नुहोस् तर, टमाटरलाई तत्काल नचलाउनुहोस् । यसलाई एकछिन छोपिदिनुहोस् । यसरी पकाउँदा सानो आँचमा पकाउनु पर्छ किनकी टमाटरलाई तेलमा नभुटेका कारण ठूलो आँचमा पकाइयो भने टमाटर डढ्न सक्छ ।

२ मिनेट पछि यसको ढक्कन खोल्नुहोस् । यसमा पानी आउन शुरु भएको देख्न सक्नुहुन्छ । जब पानी आउँछ तबमात्र यसलाई चलाउनुहोस् । अब आगोको आँचलाई केहीं बढाउनुहोस् ।

यो उम्लिन शुरु गरेपछि ढक्कनले छोपेर पकाउनुहोस् । यसलाई बिचबिचमा चलाउँदै गर्नुहोस् । टमटरमा पानी सुक्दै गएपछि बाक्लो बन्दै जान्छ । विस्तारै पानी सुकुन्जेलसम्म यसलाई पकाउनुहोस् ।

पानी सुकेपछि टमाटरको चटनी बाक्लो हुन्छ । पाकी सकेको टमाटरमा टिमुर राख्नुहोस् । थकाली स्टायलमा टमाटरको चटनी बनाउँदा टिमुरलाई शुरुमा राख्नु हुँदैन् । शुरुमा टिमुर हालेर पकाउँदा टिमुरको स्वाद केहीं कम हुन जान्छ । चटनी पाकेर तयारभएपछि मात्र टिमुर राख्नुहोस् ।

अब चटनीलाई एकछिन चिसो हुन छोड्दिनुहोस् । छटनी चिसो भएपछि मसिनो गरि काटेको धनियाँलाई मिक्स गर्दिनुहोस् । यसरी तयार पारिएको अचारलाई पुनः मिक्सचरमा पिस्नु पर्छ । तपाईंसँग मिक्सचर छैन् भने यसलाई खल वा सिलौटामा पनि पिस्न सक्नुहुनेछ । यो पहिल्यै पाकेको भएकाले यसलाई मिक्सचरमा पिस्दा धेरै मिहीन बनाएर पिस्नु पर्दैन ।

मिक्सचरमा टमाटर पिसिसकेपछि अब यो स्वादिलो जिब्रोमा च्वाट्ट लाग्ने किसिमको चटनी तयार भएको छ । यो चटनी विशेषगरी ढिंडो, खाना वा अन्य परिकारसँग खान सकिन्छ । घरमा थकालीको जस्तै टमाटरको अचार बनाएर आफू पनि खानुहोस् र परिवारलाई पनि खुवाउनुहोस् ।