दिदी-बहिनी हत्या आरोपित किशोरीलाई सुधारगृह पठाइयो

0
44
| Getty Images

काठमाडौं । रुकुम पूर्वमा दिदी(बहिनीको हत्या आरोपित दुई किशोरी बाल सुधार गृहमा पठाइएको छ । गत चैत २२ गते पुथा उत्तरगंगा गाउँपालिका(३ का १० वर्षीया रिना र ८ वर्षीया कालीमाया बुढाको हत्या भएको थियो। उक्त घटनामा जिल्ला अदालत रूकुम पूर्वले शुक्रबार आरोपित दुई किशोरीलाई सुधार गृहमा पठाउन आदेश दिएको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी रञ्जिता श्रेष्ठले हत्या आरोपित किशोरीहरू १५ वर्ष मुनिका भएकाले सुधार गृहमा पठाउन अदालतले आदेश दिएको बताउनु भयो । उनीहरूलाई भक्तपुरको सुधार गृहमा पठाइएको हो। उमेर नपुगेका बालबच्चाले जघन्य अपराध गरेपनि उनीहरूलाई सुधार गृहमा राख्नुपर्ने कानुनी व्यवस्था छ।

दिदीबहिनीले कान र नाकमा लगाएका सुनका गहना लुट्न हत्या गरेको प्रहरीसमक्ष बताएका थिए। उनीहरू खरायोका लागि घाँस काट्न र निगुरो टिप्नका लागि बारीमा गएका थिए । हत्या पछि आरोपित दुई किशोरीले शव खोल्सामा लुएको र अँध्यारो भएपछि डोकोमा राखेर एक किलोमिटर टाढा लगेर भिरबाट फालेको अनुसन्धानबाट खुलेको थियो।

चैत २३ गते बिहान मात्रै बुढा दिदीबहिनीको शव भिरमा फेला परेको थियो। उनीहरूको निधार र टाउकोमा दाउराले आक्रमण गरेको घाउ र घाँटीमा पनि निलडाम थियो। पहिले उनीहरूमाथि आक्रमण गरी बेहोस बनाइ घाँटी थिचेर हत्या भएको प्रहरीले बताएका थिए।