दृष्टिविहीन महिलालाई गमनशिलता तालिम प्रदान

शर्मिला विश्वकर्मा

0
154

काठमाडौं । दृष्टिविहीन अपाङ्गता भएका महिलाहरुलाई गमनशिलता तालिम प्रदान गरिएको छ । दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूलाई हिड्डुल गर्न कठिन हुने भएकाले त्यसलाई सहज बनाउनका लागि यो तालिम प्रदान गरिएको हो ।

नेपाल सरकारले वर्गीकरण गरेको १० प्रकारका अपाङ्गता मध्ये दृष्टिविहीन अपाङ्गता पनि एक हो । अन्य व्यक्तिहरुको तुलनामा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुले गमनशिलता अर्थात हिड्डुल गर्न गाह्रो हुने भएकाले यो तालिम प्रदान गरिएको हो ।

अपाङ्गता मध्ये दृष्टिविहीन अपाङ्गता भएका व्याक्तिले तालिम पाएको खण्डमा सहज रुपमा आफ्नो गन्तव्यसम्म पुगी दैनिकी सञ्चालन गर्न सक्षम हुन्छन् । यो तालिममा सहयोगी बिना नै सेतो छडीको प्रयोग गरेर हिड्डुल गर्न अपाङ्गता भएका व्यक्तिहरूलाई सिकाइन्छ । हिड्डुल गर्न सहज होस् भन्दै प्रयत्न नेपालले यही बैशाख २२ गते दिख २६ गते काठमाडौंमा गमनशिलताको तालिम प्रदान गरेको हो ।

गमनशिलता तालिममा सहभागि काठमाडौं डिल्लिबाजर निवासी दृष्टिविहीन महिला प्राथाना श्रेष्ठले यो तालिम लिन पाएकोमा खुशी व्यक्त गर्दै , सहयोगी बिना नै सेतो छडीको प्रयोग गरेर हिड्डुल गर्न सकिने बताउनु भयो ।

यस तालिमबाट सेतो छडी प्रयोग गर्दै, स्वतन्त्र रुपमा सुरक्षित हुदै, बाटो पत्ता लगाउदै आफ्नो गनतव्यमा पुग्न सजिलो हुने भन्दै आयोजकलाई धन्यवाद समेत दिनुभयो ।

त्यसै गरी चितवनकी दृष्टिविहीन महिला शुशिला मोक्तानले पनि यो गमनशिलताको तालिम लिन पाउदा ज्यादै खुशी लागेको बताउनु भयो । तालिमले हिड्डुलमा सजिलो बनाउने र आफूमा आत्मविश्वास बढेको बताउनु भयो ।

५ दिनसम्म सञ्चालन भएको गमनशिलता तालिमको अन्तिम दिन समापनका क्रममा तालिमका प्रशिक्षक तथा सहजकर्ता रविन्द्र खनालले तालिममा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुलाई सेतो छडी समात्ने तरिका, चलाउने तरिका, सेतो छडि लिएर हिड्न, बाटो पत्ता लगाउने १० वटा विधीहरु सिकाएको बताउनु भयो ।

यस्तै तालिममा प्रयोगात्मक अभ्यास पनि गराइएको उहाँको भनाइ छ । यसै क्रममा उहाँले यो गमनशिलताको तालिम सबै क्षेत्रमा रहेका दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुका लागि अति आवश्यक भएको पनि बताउनु भयो ।

कार्यक्रममा प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछानेले गमनशिलता तालिम दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई हिड्न, दैनिक जीवन यापनमा ठूलो सारथी बन्ने विश्वास व्यक्त गर्नु भयो ।

यस तालिमले दृष्टिविहीन अपाङ्गता भएका महिलाहरुको आत्मबल बढ्ने भन्दै आगामी दिनमा ग्रामीण क्षेत्रमा पनि दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुलाई गमनशिलताको तालिम सञ्चालन गरिने बताउनु भयो । उक्त तालिममा विभिन्न जल्लाका ११ जना दृष्टिविहीन अपाङ्गता भएका महिलाहरुको सहभागीता रहेको थियो ।