नवजात शिशुको स्याहार कसरी गर्ने ? अपनाउनुहोस् यी तरिका

0
26

काठमाडौं । आज जन्मिएको नवजात शिशु परिवारका लागि मात्र होइन् देश विदेशका लागि पनि योग्य र स्वास्थ्य नागरिक हुन् । यसका लागि नवजात शिशुको हेरविचारमा हामीले विशेष ध्यान दिनुपर्छ । नवजात शिशु बच्चा जन्मिएर २८ दिन सम्मको अवस्थालाई नवजात शिशु भनिन्छ । आजभाली गर्भवती महिलालाई अस्पतालमा सुत्केरी गराइन्छ ।

यदि घरमा सुत्केरी गरिएको छ भने शिशु जन्मनासाथ नवजात शिशुलाई सफा तथा नरम कपडाले पुछ्नु पर्छ । पुछि सकेपछि नरम कपडामा बेनु पर्छ । अस्पतालमा शिशु जन्मिएको छ भने यो काम नर्सले गर्दिन्छन् । नवजात शिशु तथा सुत्केरी आमा दुबैलाई स्वास्थ्य परीक्षणका लागि पहिलो, तेस्रो र सातौं दिनमा नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्छ । यस्ता सेवाहरु नेपाल सरकारले नै शुल्क उपलब्ध गराएको छ ।


शिशुलाई स्तनपान कसरी गराउने ?


शिशु जन्मिनसाथ एक घण्टाभित्र आमाको पहिलो विगौती दूध खुवाउनु पर्छ । शुरुमा शिशुलाई स्तनपान गराउन आमालाई नआउन सक्छ यसकालागि नर्स वा गाउँघरमा अनुभवी आमाहरुसँग सिकाइमाग्नु पर्छ । सुत्केरी आमाले बच्चमले राम्ररी दूध चुसेको नचुसेको समेत थाहा पाउनु पर्छ र पटक–पटक दूध चुसाउनु पर्छ । पटक–पटक दूध चुसाउँदा आमाको दूध आएको छैन् भने पनि आउन थाल्छ ।

भर्खर जन्मिएको नवजात शिशुलाई २४ घण्टामा कम्तीमा १० देखि १२ पटक वा सोभन्दा बढी पनि स्तनपान गराउनु पर्छ । दिन र रात दुवैमा सोही रुपले स्तन पान गराउँनु पर्छ । नवजात शिशु धेरै सुत्ने गर्छन् । यसरी उनीहरु २ घण्टाभन्दा बढी समयसम्म सुतिरहेका छन् भने उनीहरुलाई उठाएर भएपनि स्तनपान गराउनु पर्छ । स्तनपान गराउँदा दुवै तर्फको स्तनको दूध निखारेर खुवाउनु पर्छ ।


नवजात शिशुलाई हप्तामा कति पटक नुहाउँने ?


भर्खर जन्मिएको नवजात शिशलाई २४ घण्टासम्म सकेसम्म नुहाउनु हुँदैन् । विश्व स्वास्थ्य संगठनकाअनुसार नवजात शिशुलाई सकेसम्म २४ घण्टासम्म नुहानु हुँदैन् । नुहाउुन पर्ने वाध्यता आइलाग्यो भने कम्तीमा जन्मिएको ६ घण्टापछि मात्र नुहाउन सुजाएको छ । मौसम अनुसार स्वास्थ्य शिशुलाई हप्तामा दुईदेखि तीन पटकसम्म नुहाउनु पर्छ । तर, शिशु अस्वस्थ र कम तौलको जन्मिएको छ भने चिकित्सकको सल्लाहअनुसार मात्र शिशुलाई नुहाइदिनु पर्छ ।


नवजात शिशुको नाभिको ख्याल


धेरैजसो अवस्थामा केही हप्ताभित्र नै शिशुको नाभिको नाल सुक्छ । तर, कहिलेकाहीं नवजात शिशुको नाभिमा संक्रमण हुने सम्भावना धेरै नै हुन्छ । यसैले शिशुको नाभिको हेरविचार राम्ररी गर्नु पर्छ । नाभि संक्रमण रोकथामका लागि नाभीलाई सफा राख्नुपर्छ । साथै, नाभिमा संक्रमण नहोस भनेर चिकित्सक वा स्वयंसेविले (क्लोरहेक्साडिन) मलम पनि दिने गर्छन् यसको पनि हामीले प्रयोग गर्नु पर्छ ।

नाभि संक्रमण भएको यसरी थाहा पाउन सकिन्छ । नाभि संक्रमण भएमा नाभीको वरिपरीको क्षेत्र (कर्ड) फुल्छ र सुन्निन्छ । रातो वा कोमल पनि हुन्छ । साथै नाभिबाट दुर्गन्धित श्राव आउन सक्छ । शिशुको नाभिमा यस्तो प्रकारको लक्षण देखिएमा नाभिमा संक्रमण भएको हुन सक्छ ।
नाभि सफा गर्नका लागि ओसिलो नरम कपडा वा रुवा भिजाएर गर्नुपर्छ र एन्टिबायोटिक मलम चिकित्सकको सल्लाहमा प्रयोग गर्नुपर्छ ।


शिशुलाई कसरी स्याहार गर्ने ?


नवजात शिशुलाई बढी गुम्साउने वा खुला छाडिदिने पनि गर्नु हुँदैन् । शिशुको शरीर र छाला अति संवेदनशिल हुने भएकाले वाह्य वातावरणले तुरुन्तै असर गर्छ । साथै, शिशुलाई सफा मनतातो पानीमा कपास भिजाएर शिशुका दुवै आँखा दैनिक सफा गरिदिनुपर्छ । आँखाबाट धेरै चिप्रा आए चिकित्सकको सल्लाह लिनुपर्छ ।


शिशु जन्मिएको २४ घण्टा भित्रमा दिसा पिसाव गरेको हुनुपर्छ । यदि शिशुले दिसा पिसाव नगरेमा वालरोग विशेषज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ । नवजात शिशुलाई बिसिजी खोप जन्मिने वित्तिकै र एक वर्षभित्र शिशुलाई डीपीटी\हेपटाइटिस बी\पोलियो तीन डोज (छैठौं, दशौं र चौधौं हप्तामा) दादुरा÷रुवेलाको दुई मात्रा र पोलियो थोपाको तीन मात्रासमेतको पूर्ण खोप लगाउनुपर्छ । यीसँगै अन्य खोप पनि लगाउनुपर्छ ।


यदि शिशुको तौल साढे दुई किलोभन्दा थारै छ भने त्यस्तो शिशुलाई विशेष प्रकारले न्यानो राख्नुपर्छ । वा मायाको अंगालो आमाको छातीको दुई स्तनको बीचमा न्यानो कपडाले बेरेर राख्नुपर्छ । यसरी राख्दा शिशुलाई सास फेर्न सजिलो हुने गरी राख्नुर्छ । बच्चा जन्मिएको २–३ दिनसम्म कालो वा गाढा हरियो रंगको दिशा हुनु सामान्य हो । बिस्तारै उक्त दिसा पहेँलो रंगको हुँदै जान्छ ।

साथै, शिशुले खाएको आमाको दूधको केहीं मात्रामा दही जस्तो बान्ता गर्नु पनि सामान्य हो । शिशुले थोरै थोरै वान्ता र २४ घण्टामा ६ चोटीभन्दा बढी पिसाव गरेको छ भने अत्तिनु पर्दैन् ।शिशु जन्मिएको केहीं दिन हलुका पहेलो रंग देखिन सक्छ यो सामान्य हो । तर, बच्चाको छालाको रंग गाढा पहेंलो र हत्केला वा पैताला पनि गाढा पहेंलो देखिए बाल विशेषज्ञलाई देखाउनु पर्छ । जन्डिस पनि हुन सक्छ । शिशुलाई यस्तो लक्षण देखिएमा तुरुन्त चिकित्सकलाई देखाउँनुहोस्


छिटो छिटो सास फेरेमा
कडा कोखा हानेमा
सुस्त वा बेहोस वा कम चलाई भएमा
आमाको दूध राम्ररी चुस्न नसकेमा
हात खुट्टा चिसो भएमा
ज्वरो आएमा, निधार, काखी र पेट छाम्दा तातो भएमा
नाइटो पाकेको वा छालामा पीप भएका फोका भएमा


यस्तो लक्षण देखिएमा तुरुन्त स्वास्थ सेवा वा चिकित्सकसँग सम्पर्क राख्नुपर्छ ।


सुत्केरी र नवजात शिशुको स्याहारमा परिवारको भूमिका


यस समयमा सुत्केरी आमालाई श्रीमान् र परिवारको समर्थन र सहयोगको आवश्यक्ता पर्दछ । सुत्केरी र नवजात शिशुका लागि सुरक्षित ओड्ने ओछ्याउने तथा ती कपडा नरम हुनुपर्छ । पुराना कपडा भए पनि त्यसलाई डिटोल पानीमा भिजाएर सफा गनुपर्छ । सुत्केरी आमाको घाउ तथा पाठेघरलाई निको पार्न र पहिलेको अवस्थामा आउन दिनको लागि पर्याप्त आराम आवश्यक हुन्छ ।

सुत्केरी आमालाई बेलाबेलामा पौष्टिक खाना तथा मनतातो झोल खुवाउनु पर्छ । सुत्केरी आमालाई साविकभन्दा बढी खाना खान दिनुपर्छ । पोष्टिक खानाले सुत्केरीको शरीर मर्मत र तन्दुरुस्त बनाउँछ । यसको साथै पौष्टिक खानाको प्रभावले शिशुलाई आवश्यक दूध निर्माण हुन्छ । सुत्केरी आमामा निम्न लिखित लक्षण देखापरेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्छ । ज्वरो आएमा योनीबाट गन्हाउने पानी बगेमा वा तल्लो पेट (पाठेघर) दुखेमा
धेरै रगत बगेमा, टाउको साह्रै दुखेमा, हातखुट्टा अररो भइ मुर्छा परेमा ।