पत्रकारको न्यूनतम तलब ३४ हजार बनाउन सिफारिस

0
60

काठमाडौं । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारलाई सिफारिस गरिएको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारलाई सिफारिस गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रामिक बढाउन प्रस्ताव गरेको छ।

मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भए पनि श्रमजीवी पत्रकारले जीवन निर्वाह गर्नसक्ने गरी तलब पाउनुपर्ने बताउनु भयो ।

‘न्यूनतम पारिश्रामिक पनि नदिने मिडिया हाउसलाई सरकारले लोककल्याणकारी विज्ञापन दिने बेलामा मापदण्ड बनाउँछ,’ मन्त्री शर्माले भन्नुभयो ।

मन्त्री शर्माले सरकारको नीति तथा कार्यक्रममा समानुपातिक विज्ञापन प्रणालीको विषय राखिएकाले सरकारले लोककल्याणकारी विज्ञापन कटौती गर्न नखोजेको पनि जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सिफारिस गरिएको न्यूनतम पारिश्रामिक पूर्ण रूपमा कार्यान्वयन गरउन सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।
समिति अध्यक्ष खड्काले ४० प्रतिशत तलबमान वृद्धिसहित विभिन्न आठ बुँदा कार्यान्वयनका लागि सरकारमा सिफारिस गरिएको बताउनु भयो।

श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५९ लागू भएको २७ वर्ष भइसकेको र उक्त ऐन पहिलो पटक संशोधन भएको पनि १४ वर्ष वितिसकेको हुँदा परिवर्तित परिस्थितिअनुरूप पुनः ऐन संशोधन आवश्यक भएकाले यसका लागि प्रक्रिया सुरु गर्नुपर्ने सिफरिसमा उल्लेख छ।