परिवार नियोजन साधनको प्रयोगकर्ता घटे

0
156

काठमाडौँ । एघार वर्षका अवधिमा परिवार नियोजनको आधुनिक साधन तथा विधिको प्रयोग बढाउन गरिएका उपलब्धि शून्य देखिएको छ । सन् २०११ देखि सन् २०२२ सम्ममा यस्ता विधिको प्रगति उकालो लाग्न सकेको छैन ।

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०११, २०१६ र गत शुक्रबार सार्वजानिक गरिएको छैटौँ स्वास्थ्य सर्वेक्षण २०२२ मा आइपुग्दा परिवार नियोजनको आधुनिक साधन तथा विधि ४३ प्रतिशतभन्दा उक्लिन सकेको छैन ।

सन् १९९६ मा प्रयोग प्रतिशत २६, २००१ मा ३५, सन् २००६ मा ४४ थियो । परिवार नियोजनको परम्परागत विधिमा भने थोरै प्रगति देखिएको छ । सन् २०१६ मा १० प्रतिशत रहेका सो विधि १५ प्रशितमा उक्लिएको छ ।

यसले असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या धेरै रहेको हुनसक्ने सङ्केतसमेत गरेको छ । पछिल्लो सर्वेक्षणले १५ देखि ४९ वर्षका विवाहिता महिलाले परिवार नियोजनको कुनै न कुनै साधन वा विधि प्रयोग दरमा केही वृद्धि भएको देखाएको छ ।

स्वास्थ सर्वेक्षणमा २०१६ मा यस्तो प्रयोग दर गर्ने ५३ प्रतिशत रहेकामा सन् २०२२ को सर्वेक्षणमा ५७ प्रतिशत पुगेको देखिएको छ । छैटौँ स्वास्थ्य सर्वेक्षण हिमाल, पहाड, तराईका सबै भूगोल तथा सातै प्रदेशका १३ हजार सात सय ८६ घरधुरीमा गरिएको थियो ।

आर्थिक सर्वेक्षण २०७९र८० का अनुसार आर्थिक वर्षको फागुनसम्ममा परिवार नियोजनका अस्थायी साधनको नयाँ प्रयोगकर्ताको सङ्ख्या चार लाख सात हजार पाँच सय ६६ पुगेको थियो ।

सन् १९९६ मा एक जना महिलाले औसत पाँच बच्चा जन्माउने गरेकोमा सन् २०२२ मा औसत दुई दशमलव एक बच्चा मात्र जन्माउने गरेको सर्वेक्षणले देखाएको छ । गर्भावस्था कमसँगै गर्भपतन गर्नेको सङ्ख्या बढे सर्वेक्षणले १५ देखि ४९ वर्षका महिलाको सबै गर्भ परिणाममध्ये ८० प्रतिशतमात्र जीवित जन्म रहेका तथ्याङ्क सार्वजानिक गरेको छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार नेपालमा गत आर्थिक वर्ष मुलुकभर ९५ हजार महिलाले गर्भपतन गरेका थिए । तीमध्ये ५७ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको तथ्याङ्क छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलाको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिन्छ ।