पाठेघरको मुखको क्यान्सर ‘प्याप टेष्ट’ बाट कसरी पत्ता लगाउने : डा. रूपा बझगाँई

0
390

काठमाडौं । विश्वमा पाठेघरको मुखको क्यान्सरबाट पीडित हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । छातीको क्यान्सर पछि सबैभन्दा बढी हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पर्छ ।

अहिले विश्वभरी वार्षिक ७ लाखभन्दा बढी महिला पाठेघरको मुखको क्यान्सरबाट पीडित छन् भने तीन लाखभन्दा बढी महिलाहरूको यस रोगबाट मृत्यु हुने गर्छ । आज हामी पाठेघरको मुखको क्यान्सर कस्तो क्यान्सर हो ?

यो रोग लाग्न नदिन के गर्ने ? रोग लागे पछि कसरी उपचार गर्ने लगायतका विषयमा काठमाडौं मेडिकल कलेजमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रूपा बजगाईसँग कुराकानी गरेका छौँ ।

पाठेघरको मुख जसलाई हामी सर्भिक्स (cervix) भन्ने गर्छौ । यसमा हुने क्यान्सरलाई हामी पाठेघरको मुखको क्यान्सर (cervical) भन्छौँ । पाठेघरको मुखको क्यान्सर गर्भाशयको तल्लो भागमा हुने क्यान्सर हो । अहिले नेपाली महिलामा हुने क्यान्सरहरू मध्ये यो क्यान्सर पहिलो नम्बरमा आउँछ ।

पाठेघरको मुखको क्यान्सर त्यहाँ हुने कोशिकाहरूको अनियन्त्रित विकासले हुन्छ । यो क्यान्सर विशेषगरी प्रजनन उमेरका महिलामा देखिन्छ । सामन्यतया ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिलाहरूमा यो रोग देखिन्छ ।

पाठेघर मुखको क्यान्सर खतरनाक रोगभए पनि यो रोग लाग्नबाट बच्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर भइसकेपछि पनि शुरुवाती चरणमा छ भने उपचार गर्दा निको हुन्छ ।

पाठेघरको मुखको क्यान्सरको लक्षण अति सुस्त हुने भएकाले यसलाई सुरूवाती अवस्थामा थाहा पाइदैन । जब क्यान्सर शरीरमा फैलन्छ तबमात्र यसको लक्षण देखिन्छ ।

सुरूवाती चरणमा नै यसको लक्षण थाहा हुनका लागि शरीरमा देखिने संकेतहरूमा नै सचेत हुनुपर्छ । पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सर चाहिँ फरक–फरक क्यान्सर हो ।

पाठेघरको मुखको क्यान्सर यसरी पत्ता लगाउन सकिन्छ

पाठेघरको मुखको क्यान्सर जसरी एक नम्बरमा आउँछ त्यस्तै यो रोग लाग्नु अघि नै यसलाई पत्ता लगाउन सकिन्छ । र, यसको निदान गर्न सकिन्छ । १० वर्षपछि हुने क्यान्सरको जाँच हामीले १० वर्ष अघि नै गर्न सक्छौं । यसका लागि प्याप टेष्ट गर्न सकिन्छ । साथै ह्युमन प्यापिलोमा भाइरसको डिएनए टेष्ट गर्न सकिन्छ ।

यो दुईवटा टेष्ट गर्‍यौँ भने पाठेघरको मुखमा भएको क्यान्सर पत्ता लगाउन सकिन्छ । प्याप टेष्ट विवाह भएको ३ वर्षपछि गर्न सकिन्छ । यो टेष्टमा पाठेघरको पानी जाँच गरेर क्यान्सर भएको छ कि छैन् र क्यान्सर हुने संभावना छ कि छैन भनि पत्ता लगाउन सकिने एक विशेष र सजिलो किसिमको जाँच हो । हरेक विवाहित महिलाहरूले वर्षको एक पटक नियमित प्याप टेष्ट गराउनु पर्छ ।

यो प्याप टेष्ट धेरै सजिलो तथा तुरुन्त गर्न सकिने जाँच हो ।
यो नजिकको स्वास्थ्य केन्द्र र अस्पतालहरूमा गर्न सकिन्छ ।
यो स्त्री रोग विशेषज्ञबाट गर्न सकिन्छ ।
यो जाँच गर्दा दुख्दैन् ।
५ देखि १५ मिनेट भित्र यो टेष्ट गर्न सकिन्छ ।
टेष्ट गरिसकेपछि तुरुन्त घर फर्कन सकिन्छ
यो टेष्ट गर्न धेरै महंगो पनि छैन् ।

यसरी प्याप टेष्ट गरिरहने हो भने यो रोग लाग्नुभन्दा अघि नै यसलाई रोकथाम गर्न सकिन्छ । शुरूमा नै यो रोग पहिचान भयो भने सामान्य उपचारमा यो रोग निको हुन्छ । शुरूको अवस्थामा पाठेघर नै निकाल्नु पर्ने स्थिति हुँदैन । यो रोग रोकथामका लागि भ्याक्सिन पनि लगाउन सकिन्छ ।

यो भ्याक्सिन लगाउन ९ वर्षका बालिकाहरूदेखि नै शुरू गर्न सकिन्छ । यो भ्याक्सिन सेक्स्युयल एक्टिभ हुनु अघि नै लगायो भने यसको रिजल्ट अझ राम्रो हुन्छ ।

पाठेघरको मुखको क्यान्सर हुने कारणहरू
कलिलै उमेरमा विवाह हुनु
कलिलै उमेरमा बच्चा जन्माउने
बढी सन्तान जन्माएका महिलाहरूमा
एचआइभी भाइरसर सक्रमण भइरहेका महिलाहरूमा
बढी पुरूषसँग यौन सम्पर्क भएका महिलाहरूमा
खानपिनमा ध्यान नदिने कुपोषण भएका महिलाहरूमा
पाठेघर अथवा यौन सम्बन्धी बारम्बार संक्रमण भइरहने महिलाहरूमा
सन्तान नजम्माउनका लागि खाइने पिल्सहरुको अत्यधिक प्रयोग
ह्युमन प्यापिलोमा भाइरस (human papillomavirus) यस भाइरसको १६ र १८ ले पाठेघरको मुखमा लगातार इन्फेक्सन गराइरहँदा पाठेघरको मुखमा अन्यन्त्रित सेलहरुको विकास भएर यो क्यान्सर हुन्छ । ह्युमन प्यापिलोमा भाइरसका सयभन्दा माथि प्रकारहरू छन् यसका १६ र १८ स्ट्रेनले पाठेघरको मुखको क्यान्सर गराउँछ ।

यसका लक्षणहरू
शुरूको अवस्थामा पाठेघरको मुखको क्यान्सरका कुनै लक्षण नदेखिन सक्छन् । तर, रोग बढ्दै गएपछि निम्न लिखित लक्षणहरू देखिन सक्छ ।

गनाउने पानी बग्ने ।
यौनसम्पर्क पछि रगत देखिनु ।
महिनाबारीको बीच बीचमा रगत देखिनु ।
तल्लो पेट दुख्ने
ढाड दुख्ने
यस्ता लक्षण देखिए भने तुरून्त नजिकको स्वास्थ चौकीमा जचाउँनु पर्छ ।

यो रोगको उपचार
पाठेघरको मुखको क्यान्सर दोस्रो चरण माथि भए पाठेघरको शल्यक्रिया, रेडियो थेरापी वा किमो थेरापी पनि गर्नु पर्ने हुन्छ ।
प्याप चेकजाँचबाट शुरूकै चरणमा छ भन्ने पत्ता लागेमा ठूलो शल्यक्रिया गरिहाल्नु पर्दैन ।
शुरूकै चरणमा क्यान्सर पत्ता लाग्यो भने हामीले छ–छ महिनामा फलोअप गराएर प्यावटेष्ट, कल्पोस्कोपी र बायोप्सीका आधारमा उपचार गर्छौ ।
क्यान्सर हुनु अगावै पत्ता लागेमा पाठेघरको मुखमा मात्र शल्यक्रिया गर्दा यो रोग निको हुन्छ ।