पोखराको रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला

0
67

काठमडौं । पूर्व राजपरिवार पोखरा आउँदा बस्नका लागि बनाइएको रत्नमन्दिर दरबार गणतन्त्र दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला भएको छ । यसअघि पटक–पटक खुलाउने भनिए पनि खुल्न सकेको थिएन । आज गणतन्त्र दिवसको अवसर पारेर दरबार खुला गरिएको हो ।

शाहवंशीय राजा महेन्द्रले कान्छी रानी रत्नको नाममा पोखरा उपमहानगरपालिका–६ लेकसाइडमा रत्नमन्दिर दरबार निर्माण गर्नुभएको थियो । राजसंस्थाको अन्त्यपछि २०६४ सालमा नेपाल ट्रस्टको स्वामित्वमा दरबारसहित एक सय ७४ रोपनी जग्गा छ ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दरबारमा सर्वसाधारण प्रवेशका लागि उद्घाटन गर्दै खुला गर्नुभएको हो ।

दरबारमा प्रवेश गर्न नेपालीका लागि एक सय रुपैयाँ शुल्क तोकिएकोमा विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइनेछ । यस्तै विदेशी पर्यटकलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।

रत्न मन्दिर विसं २०१३ मा निर्माण सुरु भएर विसं २०१५ मा सम्पन्न भएको थियो । तीन तले दरबारमा ११ वटा कोठा छन् । भुइँ तलामा अतिथि कक्ष, भोजनालय, राजाका सुरक्षा अधिकृत ९एडीसी० बस्ने कोठा र आराम कक्ष छन् ।

दोस्रो तलामा पाँच वटा कोठा छन् । कोठाबाहिरको मुख्य हलमा बैठक कक्ष छ । जसमा राजपरिवारका सदस्यमात्र बैठक बस्ने गर्थे । दोस्रो तलामा राजपरिवारले खेल्ने कोठा पनि छ । यस्तै युवराजको शयन कक्षसहित तीन वटा पाहुना कोठा छन् । राजपरिवारका निकटस्थ नातेदार र आफन्तका लागि ती कोठा प्रयोग गरिन्थ्यो ।

सबैभन्दा माथिल्लो तलामा राजारानीको शयन कक्ष र पूजा कोठा छ । बाहिरपट्टि आराम कक्ष र दृश्यावलोकनका लागि कौसी छ । हरेक कोठामा रहेका पलङ, खाट, कुर्ची, टेबललगायत फर्निचरका सामग्री बेतबाट बनेका छन् ।

मुख्य कोठामा सजावट र उपहारका सामग्री राखिएका छन् । भित्तामा पूर्वराजा तथा पूर्वयुवराजका तस्बिर सजाइएका छन् । काठ र ढुङ्गाबाट दरबार बनेको छ । दरबार अहिले सोमवारबाहेक बिहान १० बजेदेखि दिउँसो ५ बजेसम्म खुलाउने ट्रस्टले जनाएको छ ।