प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक : पूर्वमुख्यमन्त्री राउत

0
90

धनुषा । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजना तथा राष्ट्रिय समाचार समिति (रासस) को सहकार्यमा वीरगन्जमा आयोजित राससकर्मीका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा पूर्वमुख्यमन्त्री राउतले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेकाले महिलालाई सक्षम, सवल र योग्य बनाउन आफ्नो नेतृत्वको सरकारले हरेक निकायमा उनीहरुलाई ५० प्रतिशत आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो पहिलो प्रदेश हो, जहाँ महिलालाई ५० प्रतिशत आरक्षण दिइएको छ । दलितको उत्थानका लागि दलित सशक्तीकरण ऐन ल्याएर त्यसको कार्यान्वयनका लागि दलित विकास प्राधिकरण गठन गरिएको छ ।”

प्रदेश सरकार स्थापना भएदेखि महिलाको समान सहभागिताको सवालमा गम्भीरतापूर्वक कार्य गर्दै आएको उल्लेख गर्दै पूर्वमुख्यमन्त्री राउतले प्रहरीसहित प्रदेश सरकारका सबै सेवामा महिलाको ५० प्रतिशत सहभागितालाई अनिवार्य गरिएको छ । त्यसैले आगामी दिनमा मधेसको प्रहरी कार्यालयलगायत क्षेत्रमा महिलाको ५० प्रतिशत उपस्थिति देखिने बताउनुभयो । उहाँले भन्नुभयो, “छोरी जन्मिएपछि आमाबुवा दुःखी हुने र छोरा जन्मिएपछि खुसी मनाउने परिपाटीलाई मध्यनजर गर्दै समाजमा छोरीलाई हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउन र छोरीलाई पनि छोरासरह सक्षम बनाउन छोरी बीमा कार्यक्रम, साइकल वितरण, लोकसेवा कक्षा सञ्चालनलगायत कार्य गर्दै आएका छौँ ।”

प्रदेश नयाँ संरचना भएर पनि आफ्नो नेतृत्वको सरकारले विगतका आन्दोलनमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक, शैक्षिक, भौतिक पूर्वाधारको साथै चौतर्फी विकासको क्षेत्रमा सन्तोषजनक कार्य गरेको पूर्वमुख्यमन्त्री राउतको भनाइ थियो ।

शून्यबाट सुरु भएको प्रदेश सरकारले पाँच वर्षको अवधिका भौतिक संरचनादेखि आवश्यक ऐन, कानुन निर्माणका साथै सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा उल्लेखनीय काम गरेको पूर्वमुख्यमन्त्री राउतले बताउनुभयो