प्रहरी जवानबाटै श्रीमती र छोराको हत्या

0
85

श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन्। आइतवार दाङमा भएको घटनामा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेका हुन् ।

उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी जवान नेपाली नेपालगञ्जबाट श्रीमामति आएकी छन् भनेर शनिबार राति कार्यालयबाट बिदा मागेर गएका थिए।

उनीहरु घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा बसेका थिए। आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले जानकारी दिनुभयो।
श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा पुगेका थिए।

जवान पिमलालले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।