प्राध्यापक प्याकुरेलको स्मृतिमा ५० लाखको अक्षयकोष स्थापना

0
74

काठमाडौं । त्रिभुवन विश्वविद्यालयकी कान्छी प्राध्यापक उर्मिला प्याकुरेलको स्मृतिमा ५० लाखको अक्षयकोष स्थापना गरिएका छ । प्याकुरलेको ४५ दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा परिवारको तर्फबाट ५० लाखको ‘प्रा डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान’ घोषणा गरिएको परिवारले जानकारी भएको छ ।

प्याकुरेल क्यान्सर रोगबाट लामो समयदेखि बिरामी भएपछि उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग रकम जम्मा भएको थियो । उपचारको क्रममा नै प्याकुरेलको निधन भएपछि उपचारका लागि संकलित भएको रकममा परिवारको तर्फबाट रकम थप गरेर अक्षय कोष स्थापना गरिएको हो ।

प्राध्यापक डाक्टर उर्मिला प्याकुरेल, मधुश्री प्रतिष्ठान दर्ता गरेर सोही प्रतिष्ठान मार्फत ५० लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको प्याकुरेलका भाइ राजेन्द्रप्रसाद प्याकुरेलले जानकारी दिनु भएको छ ।

प्याकुरेलको उपचारको लागि ५६ लाख १४ हजार २२३ रुपियाँ संकलन भएको थियो । उक्त रकमबाट ७ लाख ६४ हजार ८५३ रुपियाँ मात्रै उपचारको क्रममा खर्च भएको थियो ।

बाँकी रहेको ४८ लाख ४९ हजार ३७० मा परिवारको तर्फबाट बाँकी रकम थप गरेर ५० लाखको अक्षय कोषको स्थापना गरिएको हो । प्रतिष्ठान दर्ताको क्रममा रहेको र दर्ता लगायत सबै कानुनी प्रक्रिया सकेपछि उक्त प्रतिष्ठान माफर्त वार्षिक रुपमा विभिन्न क्षेत्रलाई समेटर पुरस्कार प्रदान गरिने स्वर्गीय प्याकुरलका भाइ द्वारिका प्याकुरेलले जानकारी दिनुभयो।

अक्षयकोषबाट प्राप्त ब्याजबाट हरेक वर्ष उत्कृष्ट अनुसन्धान, साहित्य,उत्कृष्ट छात्रा–छात्रा, गरिब तथा जेहेन्दार छात्राछात्र र स्वास्थ्य उपचारको क्षेत्रमा सहयोग गरिने छ । प्रतिष्ठान मार्फत क्यान्सरविरुद्ध जनचेतना फैलाउने काममा समेत कोषको रकम खर्च गर्ने योजना रहेको परिवारको भनाइ छ ।

स्वर्गीय उर्मीला प्याकुरेलका गुरु तथा त्रिभुवन विश्वविद्यालयमा गणित विभागका प्रमुख टंकनाथ धमलाको संयोजकतत्वमा ‘प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान’ प्रस्ताव पनि गरिएको परिवारको भनाइ छ । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ कालिकाकी प्याकुरेलले उमेर ४१ वर्षको थियो ।