फरवार्डलाई ओठमा चुम्बन गरेकोमा स्पेनिस फुटबल अध्यक्षले मागे माफी

0
22

स्पेनले महिला विश्वकप २०२३ जितेपछि फरवार्ड जेनी हर्मोसोलाई ओठमा चुम्बन गरेकोमा स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियालेसले माफी मागेका छन्।

आइतबारको फाइनलमा इंग्ल्याण्डलाई १-० ले पराजित गरेपछिको समारोहमा रुबियालेसले स्पेनिस फरवार्डलाई चुम्बन गरेका थिए।

तीव्र आलोचनापछि अध्यक्ष रुबियालेसले माफ माग्दै भनेका छन्, ‘म पूर्ण गलत थिएँ, मैले यो स्वीकार गर्नुपर्छ। यो धेरै उत्साहको साथ एक समयमा खराब नियतबिना थियो।

त्यतिबेला हामीले यसलाई स्वाभाविक रूपमा लियौं, तर बाहिर हंगामा भएको छ। मैले माफी माग्नुपर्छ, यसबाट पाठ सिक्नु पर्छ, र बुझ्नुपर्छ कि जब तपाईं अध्यक्ष हुनुहुन्छ भने तपाईं धेरै सावधान हुनुपर्छ।’ रुबियालेसको विषयमा स्पेन सरकारका मन्त्रीहरूले आलोचना गरेका छन्। यस्तै उनको हर्कतको विषयमा सामाजिक सञ्जालमा पनि व्यापक आलोचना भइरहेको छ।

स्पेनकी समानता मन्त्री इरेन मोन्टेरोले आलोचना गर्दै भनेकी छन्, ‘यो एक प्रकारको यौन हिंसा हो जुन महिलाहरूले दैनिक रूपमा भोग्नुपरेको छ।’ उनले यस्ता हिंसा अदृष्य हुने गरेको र यसलाई ‘सामान्य बनाउन सक्दैनौं,’ भनेकी थिइन्।

स्पेनका खेलकुद मन्त्री मिकेल इसेटाले स्पेनिस सार्वजनिक रेडियोलाई फुटबल महासंघका अध्यक्षले फरवार्ड हर्मोसोलाई चुम्बन गर्नु ‘अस्वीकार्य’ थियो भनेका छन्।