बुबाको परिचय नखुलेका बालबालिकाको जन्मदर्ता अब मावलीको थरबाट हुने

0
120

काठमाडौं । एकल महिलाबाट जन्मिएका बच्चाले अब मावलीकै थरबाट जन्मदर्ता बनाउन पाउने भएका छन् । गृह मन्त्रालयअन्र्तगत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सम्पूर्ण स्थानीय निकायमा निर्देशन जारी गर्दै बाबुको परिचय नखुलेका एकल आमाबाट जन्मिएका सन्तानको जन्मदर्ता मावलीको थरबाट बनाइदिन निर्देशन गरेको छ ।

यस अघि सरकारले त्यस्ता बालबालिको सन्दर्भमा स्पष्ट व्यवस्था नगरेकाले कुमारी आमाबाट जन्मिएका तर बाबुको ठेगान नभएका कैयौँ बालबालिकाले जन्मदर्ता बनाउन सकिरहेका थिएनन् । बच्चाको जन्मदर्ता नहुँदा बालबालिका पढ्नदेखि अन्य कामकाजमा अफ्ट्यारो भइरहेको थियो ।

विभागले जारी गरेको निर्देशनमा आमाको विवाह अघि जन्म भएको तर बाबुको ठेगना नभएको बच्चाको हकमा एकल महिलाल विवाह गरि बच्चासहित पतिको ठेगनामा बसेको भए उक्त बच्चाको मावलीको थर राखी आमाको हालको ठेगनामा जन्मदर्ता गरिदिन निर्देशन दिएको छ ।
साथै, मावलीको थरबाट बच्चाको जन्मदर्ता बनाएपछि बुबा पत्ता लागेमा मावलीको थरको जन्मदर्ता कानूनी नियम अनुसार रद्द गरि बाबुको ठेगनाबाट नयाँ जन्मदर्ता गरिदिन पनि निर्देशन दिएको छ ।

विभागको यो निर्देशनसँगै कुमारी आमाबाट जन्मिएका कैयौँको संख्यामा रहेका बालबालिकाले जन्मदर्ताको अधिकारबाट बञ्चित बन्नु नपर्ने भएको छ ।

यस अघि सरकारको स्पष्ट नियम नहुँदा कुमारी आमाबाट जन्मिएका र बाबुको परिचय नखुलेका बालबालिकाको जन्मदर्ता बनाउन स्थानीय निकायमा खटिएका कर्मचारी हिचकिचाउने गर्थे । साथै, वडाअध्यक्ष पनि ती वालबालिकाको जन्मदर्ता गर्न डराउँथे ।