याद आयो हजुरामा तिम्रो सत्कर्मको

0
87

मन्जु श्रेष्ठ

बेस्सरी याद आयो हजुरामा तिम्रो सत्कर्मको
त्यो डल्ले कसौडीमा आँटो फत्काएको,
त्यो कालो हाडीमा मकै भटमास् भुटेको,
फलामे तावामा रोटी पकाएको,
अँगेनाको कोइलाको रापमा रोटी सेकाएको,
याद आयो हजुरामा त्यो तिम्रो दैनिकी जीवनको ।
त्यो कालो माटे कराईमा दूध तताएर ठूलो डाडुले चलाएको,
त्यो तीनमाने ठेकीमा दही जमाएको,
घार्रघुर्र मदानीले मोही पारेको,
याद आयो हजुरामा तिमीले गरेका ती दैनिकी कामको ।
थुर्मेले घिउ झिकी तप्प चुहाउँथ्यौं,
झिसमिसै विहानीमा हामीलाई उठाउँथ्यौं,
हामी मस्त सुतेको बेलामा तिमी चर्को आवाजमा रेडियोमा भजन घन्काउँथ्यौं,
याद आयो हजुरामा तिमीले गरेको हरेक क्रियाकलापको ।
नित्य पूजामा घण्ट टिनीनी बजाथ्यौं,
निधारमा सधैं चन्दनको टिका लगाउथ्यौं,
आद आयो हजुरामा तिमीले गरेको हरेक नित्य कर्मको ।
जति पीडा भएपनि हामीसँग मुस्कुराउथ्यौं मात्रै,
नत कसैको गुनासो, न त कसैको आश,
बस् गथ्यौं आफ्नो नित्य कर्म,
र, देखाउँथ्यौं हामीलाई उज्वल भविष्य,
याद आयो हजुरामा तिम्रो सत्कर्मको,
आद आयो हजुरामा तिम्रो मुहारको ।