‘मलाई त्यो सुनौलो संसारले रोक्नै सकेन’   तुलसीपुर उपमहानगरकी उपमेयर स्यानी चौधरी 

0
1275

 

तुलसीपुर उपमहानगर पालिकाकी उपमेयर, दिदीघर संस्थाकी संस्थापक, सामाजिक अभियन्ता,  स्यानी चौधरी आवरणमा हेर्दा  नाम जस्तै सानै कँदकी हुनुहुन्छ । अति साधारण पहिरन । साधारण बोलिचाली । खिरिलो जिउँडाल । सरलता, संघर्ष र आत्मविश्वासको पर्याय । जसको सरलता र संघर्षको उचाइ मापन गर्न सकिदैँन । उहाँ दाङ जिल्लाको तुलसीपुर उपमहानगर पालिकाको भौतिक,  सामाजिक र शैक्षिक विकासमा तल्लीन हुनुहुन्छ ।

जमिनदारको दास बनेको थारू समुदायको जीवनस्तर अझै उक्सिसकेको छैन । समय आधा शतक अगाडिको हो । त्यतिबेलाको समय झन् कठिन थियो । जतिबेला त्यहाँका थारू समुदाय सबैभन्दा बढी पिछडिएका थिए ।

गाउँघरमा जमिनदारहरूको शासन चल्थ्यो । हो त्यही समयमा थारू परिवारमा स्यानी चौधरीको जन्म भयो । जहाँ चरम अन्याय, अत्याचार, अशिक्षा र अभाव थियो । त्यतिबेला छोरीहरूलाई पढाउन चलन नै थिएन । थारू समुदायका छोराछोरी कसैले पनि पढ्ने अवसर पाउँदैँनथे ।

विकट गाउँको थारू समुदायमा जन्मिएकी स्यानी चौधरीलाई पनि पढ्ने अवसर कल्पनाभन्दा बाहिरको कुरा थियो । कतिपय व्यक्तिमा कल्पनाभन्दा पनि टाढा सोच्नसक्ने क्षमता हुन्छ । यस्तै सोँच आयो उहाँमा पनि । दाजुभाइ दिदीबैनी कसैले नपढेको बेला विद्रोह गरेर उहाँले पढ्नुभयो । चरम अभाव र गरिबीसँग जुध्दैँ, संघर्ष र विद्रोह गर्दै सफलताको भर्‍याङ चढ्नुभयो ।

थारू समुदायका छोराछोरी माघे सङ्क्रान्तिमा कमैयाँ कमलरीका रूपमा जमिनदारका घरमा बिक्री हुन्थे । हो त्यही समयमा उहाँले विद्रोह गर्नुभयो । उहाँमा विद्रोहको चेत आउँदा साथमा आत्मविश्वास मात्र थियो । उहाँले पढ्नका लागि समाजसँग मात्र होइन परिवारसँग पनि निकै संघर्ष गर्नुपर्‍यो ।

छोराले समेत विद्यालय टेक्न नपाएको थारू समुदायमा स्यानी स्कुल जान्छुभन्दा परिवार र समुदाय कसैको समर्थन रहेन । परिवार र समुदायसँग विद्रोह गरेर ७ वर्षमा उहाँ आफैँ  विद्यालय जानुभयोे । स्कुल जाने उहाँको दृढ इच्छा शक्तिलाई कसैले रोक्न सकेन ।

उहाँका ती पाइला अन्तर्राष्ट्रिय डिग्री लिनसम्म पुगे । जुन कुरा कल्पनाभन्दा बाहिरको थियो । त्यही शिक्षाका कारण उहाँले स्वदेशदेखि विदेशसम्मको यात्रा तय गर्नु भयो ।

स्कुल गएको केही दिनपछि शिक्षकले तिम्रा बाआमा तिमीलाई भर्ना गर्न पनि आएका छैनन् । तिम्रो नाम के हो भन्नुभयो ।  उहाँले जवाफ दिनुभयो, ‘घरमा स्यानी भनेर बोलाउँछन् ।’ शिक्षकले हाजिरीमा स्यानी चौधरी लेखिदिनुभयो त्यसै दिनदेखि उहाँको नाम रह्यो ‘स्यानी’ ।

उहाँ भन्नुहुन्छ, ‘हाम्रो थारू समुदायमा त्यो बेला कुनै पनि केटीहरू स्कुल पढ्न जाँदैनथे । म घरबाट भागेर स्कुल गए । बुबा आमा र दाजुहरूले मलाई स्कुल जानबाट रोक्नु पनि भयो तर, मेरा पाइला रोकिएनन् । म घरको सम्पूर्ण काम सकेर आमालाई रिझाएर पढ्न जान्थे ।’

स्यानी विद्यालय जानथालेपछि समुदाय र परिवारका अरू बालबालिका पनि स्कुल जान मन गर्न थाले । जसका कारण स्यानीको संयुक्त परिवार र समुदायमा ठूलै हलचल मच्चियो । सबैको एउटै स्वर रह्यो ‘स्यानीले बिगारी, केटी भएर स्कुल गई’ त्यसपछि स्यानीको संयुक्त परिवार छुट्टियो ।

काकाकाकी, ठूला बुबाहरूले आफ्ना छोराछोरीलाई विद्यालय पठाउनु भएन । मैले पढ्न थालेपछि आमा बुबालाई पनि समस्या भयो । किन छोरीलाई स्कुल पढाएको भनेर सबैको गाली खानुपथ्र्यो ।

विद्यालयमा शुल्क तिर्ने पैसा हुँदैनथ्यो । घरमा समस्यै समस्या थिए । ‘आमाले परालबाट गुन्द्री बुनेर बेच्ने गर्नुहुन्थ्यो । त्यो पैसाले  घरखर्च चलाएर विद्यालयमा शुल्क तिर्न पुग्दैनथ्यो । उहाँ भन्नुहुन्छ, ‘शुल्क तिर्न नसकेपछि विद्यालयमा ओछ्याउन गुन्द्री नै बोकेर जान्थे । माष्टरलाई शुल्क तिर्ने पैसा छैन । यही गुन्द्री राख्नुस् भन्थे ।’

उहाँकै कारण संयुक्त परिवारमा विखण्डन आयो । गाउँमा केटाकेटी बिगारेको आरोप लाग्यो । किताब कापी किन्नै सक्ने अवस्था थिएन । घरको काम सकेर स्कुल जानुपथ्र्यो । उहाँको दृढ इच्छाले पाइला अगाडि बढि रहे ।

दुई दर्जन कापीले दुई वर्ष
पाँच कक्षामा पढ्दा उहाँले खेलकूद प्रतियोगितामा भाग लिनुभयो । उहाँ प्रतियोगी बनेका दुई खेलमा प्रथम र द्वितीय हुनुभयो । पुरस्कारमा दुई दर्जन कापी पाउनुभयो । उहाँले भन्नुभयो, ‘२४ ओटा कापी मैले छ कक्षा र ७ कक्षालाई पु¥याए । दुईवर्ष कपी किन्नु नपर्दा घरमा समेत खुसियाली छायो ।’

एसएलसीको उत्सव
स्यानी  कक्षा दशमा पुग्दासम्म परिवार र समुदायमा केही परिवर्तन आइसकेको थियो । समुदायमा स्यानीले अब एसएलसी दिन्छे भन्न थालिएको थियो । त्यसवेला एसएलसी दिनुलाई निकै ठूलो कुरा मानिन्थ्यो । स्यानीले एसएलसी पास गरेपछि समुदायले नै उत्सव मनायो ।

उहाँको गाउँमा मात्र होइन दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरलगायतका जिल्लामा स्यानी चौधरी (थारूकी बच्ची) ले एसएलसी पास गरी भन्ने खबर सबैतिर फैलियो । स्यानी एकैपटक ठूली बन्नुभयो । स्यानीलाई समुदायमा तिमी भनेर बोलाउन थालियो ।

आयो परिवर्तन
स्यानीले एसएलसी पास गर्ने बित्तिकै दाङको आँखा अस्पतालमा  जागिरका लागि प्रस्ताव आयो । त्यहाँ छोटो समय काम गर्नुभयो । दाङमै थारू समुदायमा आधारित भएर काम गर्ने गैरसरकारी संस्था ‘बेस’मा बोलाइयो । त्यहाँ जागिर खाँदै उहाँले पढाइ पनि अगाडि बढाउनुभयो ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा कमलरी प्रथा विरूद्ध आन्दोलन चर्कियो । त्यो आन्दोलनमा स्यानी प्रत्यक्षरूपमा संलग्न हुनुभयो । स्यानीले गाउँ–गाउँमा प्रौढ कक्षा पनि सञ्चालन गर्नुभयो ।

गाउँका महिला शिक्षित हुन् भनेर । स्यानीले शिक्षाको महत्वबारे आफ्नो समुदायमा जनचेतना फैल्याइरहनु भयो । विशेषगरी थारू समुदायमा शिक्षा र स्वास्थ्यको बारेमा जनचेतना फैलाउन उहाँले काम गर्नुभयो ।

स्यानीले झैँ पढ्नुपर्छ
पढ्न हुँदेन भनेर अवरोध गर्ने समाजले पछि अरूलाई स्यानीले जसरी पढ्नुपर्छ भनेर उदारण दिन थालियो । थारू समुदायका बालबालिका विद्यालय भर्ना भए । उहाँ भन्नुहुन्छ, ‘यो निकै ठूलो परिवर्तन थियो । समुदायमा एउटा चेतना आएको थियो ।’ स्यानीले घरको समस्या टार्न थालेपछि गाउँमा छोरीलाई पढाउनुपर्छ भनेर लहर आयो ।

विदेश यात्रा
काम गर्न थालेपछि स्थानीय समुदायमा स्यानीको  पहिचान र प्रतिष्ठा अझ बढ्न थालको थियो । स्यानीलाई जापान जाने अवसर आयो । बेसमार्फत् उहाँ पढ्न जापान जानुभयो । जापानमा उहाँले नेतृत्व विकास विषय पढ्नुभयो ।

उहाँ भन्नुहुन्छ, ‘जापानमा अथाह मिहिनत गरे । अङ्ग्रेजीमा पढाइ हुने भएकाले निकै मिहिनितका साथ अध्ययन पूरा गरे । त्यहाँ मेरो मिहिनत देखेर ‘एक्टिभ लेडी’का नामबाट सम्बोधन गर्थे ।’  त्यसपछि उहाँ डेनमार्क गएर सुशासन विषयमा अध्ययन गर्नुभयो । त्यसपछि उहाँ थप पढ्नलाई अमेरिका जानुभयो ।

अमेरिकाबाट धेरै मानिसलाई सहयोग गर्ने सोँचका साथ नेपाल फर्कनुभयो । उहाँ भन्नुहुन्छ, ‘मैले आफूले भनेजस्तै जीवन प्राप्त गरे । अब मैले मेरो वाचा पूरा गर्नु थियो । मलाई अथाह सम्पत्ति जोड्नु थिएन । म अमेरिका बसेको भए आफूमात्र बन्थे तर नेपाल फर्किएर मैले धेरैका लागि काम गर्ने मौका पाए ।

त्यो सुनौलो संसारले मलाई रोक्न सकेन । म धेरै खुसी छु । अमेरिका मात्र होइन । म जापान जाँदा २० वर्षको मात्र थिए । म त्यतै सेटल हुन सक्थे । तर आफ्नो देश छोड्ने विचार कदापी आएन । त्यही भएर त अहिले उपमेयर हुन सके ।

दिदीघर जहाँ
उहाँ धेरै असहाय बालबालिकाको अभिभावक हुनुहुन्छ । कोही बालबालिका खान, बस्न र पढ्न पाएका छैनन् भन्ने सुनेपछि उहाँलाई छटपटी हुन्छ । उहाँले २०६२ सालमा दिदीघर नामक संस्था खोलेर अनाथ बालबालिकाको आमा बनेर लालन पालन गरिरहनु भएको छ । संस्था खोलेर बाबुआमा नभएका वेसहरा बालबालिकालाई पढाउनु पर्छ भन्ने लागेपछि दिदीघरको स्थापना गरेको उहाँको भनाइ छ ।

उहाँले केही समय जापानमा काम गर्दा कमाएको पैसाले दाङमा जग्गा किन्नु भयो । त्यही जग्गामा दिदीघर सञ्चालन गर्नुभएको छ । उहाँले उक्त जग्गा संस्थाको नाममा गर्ने प्रक्रिया करिब टुंगिन लागेको छ ।

अहिलेसम्म दिदीघरबाट ४० जना बालबालिकाले उच्चशिक्षा हासिल गरिसकेका छन् भने ३२ जना अनाथ बालबालिकाले दिदीघरमा अहिले पनि आश्रय लिएका छन् । आफ्नै कमाइले उहाँले संस्था चलाउनुभएको छ । कतिपय बालबालिकालाई कसैले पढाइदिने र खर्च व्यहोरिदिने पनि गर्ने गरेका छन् । उपमेयरको तलब पनि संस्थाकै लागि खर्च हुने गर्छ ।

जबरजस्त उपमेयरको टिकट
स्यानी चौधरी संस्था चलाएर आफ्नै तरीकाले बस्नुभएको थियो । स्थानीय निर्वाचनमा नेकपा एमाले उपमेयरको उम्मेदवार बनिदिन भन्दै खोज्दै आइपुग्यो । तपाईं हाम्रो पार्टीबाट उम्मेदवार बनिदिनुहोस् भनेर हातमा टिकट थमाइदिए । उहाँ दोधारमा पर्नुभयो के गर्ने, के नगर्ने, आफूले राजनीति गरेको होइन ।

केही समय स्वीकार गर्नुभएन निकै कर गरेपछि अगाडि बढ्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिमा आइहाल्छु भन्ने सोचेको थिइन । तर, राजनीतिभन्दा बाहिर बसेर म समाजका लागि योगदाने गरिरहेकी नै थिएँ ।

दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका  क्षेत्रमा  म नेतृत्व विकाससम्बन्धि तालिम दिइरहन्थे । मेरो स्नातक तहको अध्ययन पनि राजनीति शास्त्रमै थियो । परिस्थितिले मलाई राजनीतिमा ल्यायो । पहिले नै सेवा गरेर सबैको मन जितेकी  उहाँले सहजै निर्वाचन जित्नुभयो ।

उपमेयर भएपछिको एक वर्षे अनुभव
उपमेयर भएपछि उहाँ तुलसीपुरको विकासमा जुट्नु भएको छ ।  उहाँ भन्नुहुन्छ, ‘यहाँको विकास नै मेरो पहिलो प्राथमिकता हो । यहाँका जनताका लागि केही गर्न पाए त्यो नै मेरो सफलता हुनेछ । अब मैले आफ्ना लागि कमाउनु छैन । भएको सम्पति त संस्थाका लागि दिएको छु । मेरो अन्तिम इच्छा तुलसीपुरलाई बनाउनु हो ।’

विकास गर्न त्यति सजिलो नभएको उहाँको एक वर्षको अनुभव छ । ‘काम गर्न खोज्यो बजेट पनि छ तर, सम्पूर्ण पार्टी र स्थानीयको सबैको चित्त बुझाउन निकै गाह्रो ।’

न्याय समितिको प्रमुख भएका कारण दैनिक आउने स्थानीय समस्याको सामधानको जिम्मेवारी पनि उहाँको काँधमा छ । उहाँ भन्नुहुन्छ, ‘म जापान, अमेरिकालगायतका देशमा बसेका कारण मिहिनतमा विश्वास गर्छु । मिहिनतले मात्र विकासको मूल फुटाउँछ ।’

राजनीतिप्रतिको उहाँको धारणा यस्तो छ, ‘राजनीति फोहोरी खेल हो भनिन्छ । राजनीतिमा सकारात्मक सोँच, राम्रो भिजन र केही गर्छु भन्ने सोच भएको कुशल मानिस आयो भने आमूल परिवर्तन गर्न सक्छ । व्यक्तिगत स्वार्थ नभएको मानिस जानु पर्छ । यो फोहोरी खेल होइन् । विकासको मूल हो ।’

त्यो अंगालोको माया
दिनभर अनेक तनाव झेलेर दिदीघर आइपुग्दा प्रवेशद्वार घत्रक्क गर्न नपाउँदै साना बालबालिका दौडदै आएर उहाँलाई अंगालो मारेर चुम्वन गर्छन् । त्यतिबेला उहाँले सबै दुःख र झमेला भुल्नुहुन्छ उनीहरूसँगै खेल्नुहुन्छ रमाउनुहुन्छ । ‘अनेक झमेलाले  फुट्ला जसरी दुःखेको टाउको हल्का हुन्छ । मनमा शान्ति र आनन्द आउँछ,’ उहाँ भन्नुहुन्छ ।