‘महिला असफल भए समुदाय नै असफल हुन्छ’ : शर्मा

0
104

काठमाडौं । क्षमता भएर पनि अवसर नपाएका महिलाको वकालत गर्न मिडियाले भूमिका खेल्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भएको छ । आज पर्यटन बोर्डमा आयोजित ‘नारी नेपाल डटकम’ अनलाइन पत्रिका’ (www.naarinepal.com) को उद्घाटन गर्दै मन्त्री शर्माले नारी नेपालले महिलाका विषयवस्तुलाई सशक्त ढंगले उठान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

महिलालाई मानव नै नगनिने समाजबाट आएको स्मरण गर्दै उहाँले आजका दिनमा महिलाले ठूलो सफलता हासिल गरेपनि त्यसको अझै मूल्याङकन नभएको उहाँको भनाइ थियो। महिला शक्तिशाली भएपनि अझै उनीहरुलाई निर्णायक तहमा पुग्न विभिन्न बाहना गरि रोक्ने गरेको उहाँले बताउनु भयो। प्रतिनिधिसभाको उदाहरण दिंदै उहाँले भन्नुभयो ‘प्रतिनिधिसभामा महिलाको संख्या उल्लेखनीय भएपनि निर्णायक भूमिकामा महिला अझै पनि पछि परिरहेको अवस्था छ ।’,

आफूले काखमा छोराछोरी बोकेर काधमा बन्दुक बोकेको स्मरण गर्दै उहाँले भन्नुभयो ‘महिलाले दोहोरो जिम्वेवारी निर्वाह गर्दै पनि अघि बढ्नु पर्छ’ । पुरुष असफल हुँदा व्यक्ति असफल हुने र महिला असफल हुँदा महिला समुदाय नै असफल हुने भएकाले महिलालाई असफल हुने छुट नभएको उहाँको भनाइ थियो ।

जुनसुकै क्षेत्रमा रहेका महिलाले आफूलाई सफल बनाउनुको विकल्प नरहेको उहाँले बताउनु भयो । विभिन्न आन्दोलन र युद्धको परिणामस्वरूप हरेक क्षेत्रमा महिलाको भूमिका बढ्दै गएको उल्लेख गर्दै उहाँले महिलाको नेतृत्व विकासलाई व्यक्तिको मात्र नभएर, एउटा समुदायकै विकासको रुपमा लिनुपर्ने उहाँको भनाइ थियो।

सञ्चारमन्त्री शर्माले अहिलेको समय बजेटका निम्ति नीति कार्यक्रम बनाउने भएकाले सञ्चार मन्त्रालय र आमसञ्चार क्षेत्रलाई महिलासँग जोडेर उपयुक्त नीति तथा कार्यक्रम बनाउने विषयमा आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि महिलाका विषयवस्तुलाई प्राथमिकताका साथ समेट्ने विश्वास व्यक्त गर्नुभयो ।

सूचना प्रविधिको विकास, पहुँचमा र महिला सहभागिता कसरी बढाउने भन्नेबारे नीतिगत सुधार जरुरी रहेको मन्त्री शर्माको भनाइ छ ।
मन्त्री शर्माले आम सञ्चार ऐन बनाउने क्रममा विज्ञ सरोकारवालासँग छलफल गरिरहेको उल्लेख गर्दै आमसञ्चार ऐन महिलामैत्री बनाउन पहल गर्ने जानकारी दिनुभयो।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चारमाध्यमले मानव जीवनका सामाजिक क्षेत्र तथा समाजलाई आशावादी बनाउने गरी विषयवस्तु सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो ।

उनले पछिल्लो समय अनलाइन मिडियाको तीव्ररुपमा विकास भइरहेको र यसबाट सम्प्रेषण हुने विषयवस्तुमाथि विभिन्न टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै अनलाइनलाई व्यवस्थित र पारदर्शी ढङ्गले सञ्चालन गरिनुपर्ने उहाँको भनाइ थियो ।

‘अनलाइन मिडियाबीचमा पनि राम्रो गर्ने र नराम्रो गर्ने को हुन्, यो अनलाइनमा लेखेको कुराको विश्वास हुँदैन भनेर सबै अनलाइनलाई एउटै डालोमा हाल्दिने कुरा भइरहेको छ, जुन बेठीक छ’, मन्त्री शर्माले भन्नुभयो , ‘त्यसैले सबै मिडियालाई नियमन गर्ने, कानुन बनाउने र तिनको प्रवद्र्धन गर्नुपर्छ ।

पछिल्लो समय अनलाइन मिडियाको जुन ढङ्गले विकास भइरहेको छ, यसमा राज्यले ध्यान दिन जरुरी छ । अनलाइन मिडिया सम्बन्धि कानुन बनाउने क्रममा छौँ ।’
यस्तै कार्यक्रममा बोल्दै अन्य वक्ताले अनलाइन मिडियाले सम्प्रेषण गर्ने विषयवस्तु सत्यतथ्य, विश्वसनीय र भरपर्दो हुनुपर्नेमा विज्ञसरोकारवालाले जोड दिनु भएको छ।

अनलाइन मिडियाको तीव्र रुपमा भइरहेको विकाससँगै यसले सम्प्रेषण गर्ने विषयवस्तुबारे समाजमा नकारात्मक धारणा बनिरहेको भन्दै अनलाइन सञ्चारमाध्यमलाई मुलधारमा ल्याइनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा नारी नेपाल डटकमकी सम्पादक पूजा ढकाल (पवित्रा) ले नारी नेपाल छुट्टै पहिचानसहित पाठक माझ आएको जानकारी दिनुभयो । शहरका मात्र नभएर दूरदराजका महिलाको विषयवस्तु उच्च प्राथमिकताका साथ नारी नेपालमा प्रकाशित हुने उहाँको भनाइ थियो ।

नारी नेपालले महिलाका विविध पक्षको वकालत गर्ने उहाँको भनाइ थियो । ‘नारी नेपालमा मकै पोलेर परिवार गुजरा गर्ने महिलाका समचारदेखि ओहदामा भएका महिलाका विषयबस्तु समेट्ने छौं’, उहाँले भन्नु भयो ।

कार्यक्रममा अन्य वक्ताले अनलाइनलाई विश्वसनीय बनाएर छिटोछरितो र भरपर्दो सामग्री सम्प्रेषण गरिनुपर्ने औंल्याउनु भयो। राष्ट्रियसभा सदस्य अनिता देवकोटाले अनलाइन मिडियाले पेसागत मर्यादालाई ख्याल गरी भरपर्दो, छिटो र छरितो बनाएर विषयवस्तु दिनसक्नुपर्ने बताउनु भयो।

उनले नारी नेपाल अनलाइनका माध्यमबाट महिलाको वृत्ति विकास र संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि खबरदारी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त कमला ओली थापाले आधुनिक सूचना प्रविधिको युगमा प्रविधिको उच्चतम प्रयोग गर्दै निष्पक्ष र विश्वसनीय पत्रकारिता जरुरी भएको उल्लेख गर्नुभयो ।

उनले नारी नेपाल अनलाइनका माध्यमबाट महिलाको वृत्ति विकास र संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि खबरदारी गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

। नारी नेपालले चुनौतीका बीच सकारात्मक पहल लिएको भन्दै यसका विषयवस्तुको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन मिडियालाई मूलधारमा ल्याई अनलाइनको वर्गीकरण गर्न काउन्सिलले मापदण्ड बनाइरहेको जानकारी दिनुभयो ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले नारी नेपालले महिलाको हैसियत बढाउने र आत्मसम्मान अभिवृद्धिका लागि भूमिका खेल्ने बताउनु भयो । सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले मिडियामा महिलाको उपस्थित बढिरहेको सन्दर्भमा नारी नेपाल अनलाइन सञ्चारमाध्यमले नारीका विषयवस्तुलाई अझ सशक्त ढङ्गले उठाउने विश्वास व्यक्त गर्नुभयो।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले अनलाइनको भिडमा नारी नेपाल अनलाइन पत्रिकाले नारीको सङ्घर्ष र सफलतालाई समेटेर अनलाइन सञ्चारमाध्यम सशक्त ढङ्गले अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो।