मिटरब्याजको ‘गलपासो’ मा गाउँका महिला

0
77

काठमाडौं । सिरहाकी रूस्लान खातुन उमेरले ६७ वर्ष लाग्नु भयो । यो उमेर घरमा नाती नातीना खेलाएर बस्ने उमेर हो । तर, उहाँ अहिले चाउरिएको अनुहार र सुन्निएका खुट्टा लिएर काठमाडौं आउनु भएको छ । उहाँले केही कामका लागि ४ वर्ष अघि साहुसँग लिएको ७ लाख रुपैयाँ ऋण नै गलपासो बन्न पुगेको छ ।

साहुलाई उहाँले सावा ब्याज गरी एकवर्ष भित्रै ९ लाख ३० हजार तिर्नु भएको थियो । तर, साहुले उहाँको धितोमा राखेको जग्गा अझैँसम्म पनि फर्काएको छैन् र तमासुक पनि च्यातिएको छैन् । साहुले उहाँलाई बारम्बार भन्ने गर्छन् ‘तिमीले २० लाख रुपैयाँ तिर्नु पर्छ अनि मात्र जग्गा फिर्ता हुन्छ ।’ लेखपढ गर्न नजान्ने रूस्लानलाई साहुको नाम समेत थाहा छैन् ।

अहिले सिरहा, सप्तरी र धनुषाका ४० जनाभन्दा बढी निम्नवर्गका महिला आफ्ना बालबच्चा च्यापेर ११ दिन हिडेर काठमाडौं आउनु भएको छ । मिटरब्याजको घनचक्करबाट आफूहरुलाई छुटकारा दिलाइमाग्न काठमाडौं आउनु भएको उहाँहरूको भनाइ छ । त्यहाँ आउने सबैका व्यथा एउटै छ । सबैका आँखामा आशु र मनमा बज्रपात परेको कुरा उहाँहरूको अनुहारमै झल्कन्छ ।

धनुषाकी परिवर्तित नाम रञ्जना दनुवारले २०७७ सालमा स्थानीय साहु विनिता शाहसँग छोरीको विवाहका लागि २ लाख रुपैयाँ लिनुभयो । ऋण लिएको एक महिनामा नै उहाँले बैंकबाट ऋण लिएर विनितालाई २ लाख रुपैयाँ दिनुभयो । एक महिनाको ब्याजलाई पुनः ऋणमा परिवर्तन गर्न विनितालाई आग्रह गर्नु भयो । विनिताले रञ्जनाबाट २ लाख रुपैयाँ लिनुभयो तर तमासुक च्यात्न मान्नु भएन ।

उल्टै रञ्जनालाई मिटर व्याजमा पैसा गयो अब तिमीले मिटरब्याजअनुसार पैसा तिर्नु पर्छ भन्नुभयो । मिटरब्याजमा रञ्जनाले २ लाखको ब्याज प्रतिमहिना ४० हजार रुपैयाँ तिर्नु पर्ने भयो । रञ्जनाले यो अन्यया हो भनेर प्रहरी र वडामा सम्पर्क गर्नु भयो ।

तर, वडाका प्रतिनिधि तथा कर्मचारीले तपाईंहरुको काम हामी हेर्दैनौ भन्दै पन्छिए । यता प्रहरीले तपाईंलाई उसले कुटपिट गर्‍यो भने मात्र हामीले समात्न मिल्छ नत्र हामीले उहाँलाई केही गर्न मिल्दैन भनेर रञ्जनालाई पठाइयो ।

उहाँले स्थानीय तहबाट कुनै न्याय नपाएपछि अहिले ११ दिन पैदल हिडेर न्याय माग्दै काठमाडौं आउनु भएको छ । उहाँ भन्नुहुन्छ ‘मिटरब्याजीले हामीलाई मर्न बाध्य पारेको छ ।’

यस्तै अर्की २५ वर्षीया महिला धनुषाबाट ८ महिनाको बच्चा बोकेर काठमाडौं आउनु भएको छ । उहाँको कथा पनि अन्य महिलाको जस्तै छ । उहाँले साहुसँग ५० हजार लिनु भएको थियो तर, ब्याजसहित १ लाख एक बर्षमा बुझाउँदा पनि अहिले उहाँलाई साहुले पैसा माग्न छाडेको छैन् । अझै उहाँले २ लाख ५० हजार तिर्नु पर्ने भएको छ ।

साहुले उहाँलाई २ लाख ५० हजार तिर्नु पर्ने तमासुक गराएको छ । यस्तै आन्दोलनमा आउनु भएकी जानकी शाहका श्रीमानले मिटरब्याजकै कारण बिस पिउनु भयो । श्रीमतिले समयमै बिस पिएको थाहा पाएर अस्पताल लगेर श्रीमान बचाउनु भयो । अहिले उहाँका श्रीमान् राम्ररी काम गर्न सक्नुहुन्न ।

सिरहाकी सनी खातुन एक गृहणी हुनुहुन्छ । उहाँको सदरमुकाम बजारमा पाँच धुर जग्गा र गाउँमा तीन कठ्ठा जग्गा छ । उहाँले साहुसँग (जसको नाम भन्न पनि उहाँलाई आउँदैन) ६० हजार रुपैयाँ तीन वर्ष अघि ऋण लिनु भयो । ६० हजारका लागि उहाँले सदरमुकाममा रहेको पाँच धुर जग्गा र गाउँको ३ कठ्ठा जग्गा साहुँका नाममा राखीदिनुु भयो ।

एक वर्षमा उहाँले ५० हजार र ब्याज साहुँलाई बुझाउनु भयो र १० हजार बुझाउन बाँकी थियो । साहुँले उहाँलाई साढे तीन लाखको कपाली तमासुक बनाइदिनु भयो । उहाँले साहुलाई १० हजारको ठाउँमा २० हजार दिन्छु मलाई जग्गा फिर्ता र तमासुक फिर्ता दिनु भनेपछि अहिले साहुले त्यो साढे तीन लाखबाट ब्याज बढाएको बढाइ छ ।

सिरहाकी लिलियादेवी ठाकुरको कथा पनि उस्तै छ । तीन वर्ष अघि एक लाख पचास हजार रुपैयाँ साहुँसँग लिनुभयो । आज उहाँले आफूसँग भएको सबै गरगहना बेचेर तथा छोराले विदेशबाट पठाएको पैसा साहुँलाई बुझाउँदा पनि उनी ऋणबाट मुक्त हुन सक्नु भएको छैन ।

एकलाख पचास हजारबाट बढेको ऋणमा ९ लाख रुपैयाँ त उहाँका छोराले तिरीसक्नु भएको छ तर, साहुँले २० लाख तिर्नु पर्ने नभए घर खाली गर भनिरहनु भएको छ । लिलियादेवीका श्रीमान ऋणका पिरले घर नआएको धेरै भएको छ ।

यी त केही दृष्टान्त मात्र हुन् । अहिले मिटरब्याजीको चर्को ब्याज र सम्पती नै गुमेका कैयौं परिवार घरवार विहीन भएका छन् । यसमा विशेषगरी महिला मिटरब्याजको चङ्गुलमा फसेका छन् ।