मिटरब्याजीका ऋणी महिला थप पीडित, यौन हिंसा पनि भोग्दै

0
106

काठमाडौं । मिटरब्याजी साहुको ज्यादती सहन नसकेर न्याय माग्दै काठमाडौं आउनु भएका अधिकांश महिला हिंसामा परेको बताउनुहुन्छ । एकातिर आफूले लिएको ऋणले घरबार विहीन बन्न पुग्नु भएको छ भने अर्कोतिर तिनै साहुले ऋणी महिलालाई आफूसँग शारीरिक सम्बन्ध राख्नु पर्ने सम्मको प्रस्ताव गर्ने गरेको उहाँहरूको भनाइ छ ।

ऋणको साँवा ब्याज चुक्ता गरिसक्दा पनि साहुले बारम्बार अपशब्द बोल्ने, जथाभावी आरोप लगाउने, धाक धम्की दिने, महिलालाई शारीरिक सम्बन्ध राख्नु पर्ने प्रस्ताव गर्ने गरेको अधिकांश महिला बताउनु हुन्छ ।

धनुषाकी परिवर्तित नाम रेश्मा दनुवारका अनुसार महिला मात्र भएका घरमा पैसा तिर्न नसके दिनको ५ हजार १० हजार दिन्छौ मेरोमा सुत्न आइज भनेर साहुले मानसिक तनाव दिने गरेका छन् । गाउँका अधिकांश महिलालाई साहुले यस्तो प्रस्ताव राखेको उहाँ बताउनु हुन्छ ।

मैथिली भाषामात्र बोल्न सक्ने रेश्माले ३ वर्ष अघि साहुसँग ५० हजार रुपैयाँ ऋण लिनु भएको थियो । ऋण लिएको एक वर्षमा मिटरब्याज अनुसार ५० हजार साँवा र ५० हजार ब्याज गरेर साहुलाई एकलाख बुझाउनु भयो ।

naarinepal

तर, अहिले उहाँका नाममा साढे तीन लाखको कागज बनिसकेको छ । साहुले बारम्बार उहाँलाई पुलिस आएर पक्रिने, मुद्धा लाग्ने र जेल जानु पर्ने भन्दै दैनिक मानसिक तनाव दिने गरेका छन् । ‘साहुले दिएको तनावले मलाई जतिखेरै मर्न मात्र मन लाग्छ’, उहाँले भन्नु भयो ।

मिटरब्याजका कारण अहिले सिरहा, सप्तरी, धनुषा, महोत्तरी लगायतका जिल्लाका अधिकांश महिला मानसिक तनावमा जीवन गुजार्न बाध्य भएको बताउँनुहुन्छ धनुषाकी नारयणी पोख्रेल ।

उहाँका अनुसार मिटरब्याजका कारण अधिकांश महिला साहु कतिखेर आउँछ र पक्रेर लैजान्छ भन्ने त्रासमा बाचेका हुन्छन् । एकातिर पैसा आफूले बुझाउने भन्दा धेरै नै साहुलाई बुझाइसकेको हुन्छ अर्कोतिर साहुले अझै पैसा तिर्नुपर्ने भन्दै ज्यान नै मार्नेसम्मको धम्की दिइरहको हुन्छ ।

साहु आउने डरले महिला दिनमा काँसघारीमा लुक्ने गरेको पनि उहाँले बताउनु भयो । ‘साहु दुई/चार जना मान्छे पनि लिएर आउँछ र, हामीलाई कुट्ने, पिट्ने र मार्नेसम्मको धम्की दिन्छ । काँसघारीमा नलुकेर कहाँ जानु,’ पोख्रेल भन्नुहुन्छ ।

नाम नखुलाउने शर्तमा एक पीडित महिला भन्नुहुन्छ ‘साहुले मलाई निक्कै ज्यादती गरेको छ । बच्चा पेटमा थियो । साहुले भन्थ्यो अहिले बच्चा जन्मा जन्मिनसाथ मार्दिने छौं । मलाई निकै डर लाग्यो । त्यसवेला मेरो मानसिक अवस्था निकै कमजोर भएको थियो । अहिले बच्चा छ साहुले जतिखेरै भन्छ तलाई र तेरो बच्चालाई मार्दिन्छु ।

त्यतिमात्र होइन् मलाई कैयौ पटक साहुले पैसा तिर्न सक्दैनस भने सुत्न आइज भन्यो । तपाईं आफै भन्नुहोस् हामी कसरी बाच्ने ? कसरी सहने यस्तो पीडा ? कसलाई देखाउने आफ्नो पीडा ?’

naarinepal

मिटरब्याजका कारण अभिभावक मात्र होइन उहाँहरुका छोराछोरी पनि हिंसा र तनावमा जीवन गुजार्न बाध्य छन् । सिरहाकी गरिमा राई अहिले १३ वर्षकी हुनुभयो उहाँ पनि ११ दिन हिडेर काठमाडौं आउनु भएको छ । उहाँकी आमाले चार वर्ष अघि तीन वर्षको भाइको उपचारका लागि साहुसँग एकलाख रुपैयाँ ऋण लिनु भएको थियो ।

साहुलाई तीन वर्ष अघि नै उहाँले ऋणको साँवा ब्याज नै बुझाउनु भयो तर, अहिलेसम्म उहाँको ऋण चुक्ता भएको छैन् । साहुले बारम्बार धम्की दिएका कारण अहिले गरिमाको पढाइ छुटेको छ । ‘साहुले मार्ने धम्की दिएकाले म सात महिनादेखि स्कुल जान सकेकी छैन,’ गरिमाले भन्नुभयो ।

ग्रामीण भेगका अधिकांश महिलाले घरव्यवहार चलाउनकै लागि ऋण लिएको देखिन्छ । गरिमाकी आमा भन्नुहुन्छ ‘घर व्यवहार चलाउँदा सानो रकम माग्न साहुको मा नै जानु पर्छ साहुले त्यो पैसालाई मिटरब्याज ऋणमा परिणत गर्छन् । यता भएको भौतिक सम्पती पनि साहुले आफ्नो बनाइसकेका हुन्छन् । मिटरब्याजमा पैसा तिर्न निकै गाह्रो छ । पैसा लिएको थोरै हुन्छ तर, पैसा तिर्नुपर्छ जीवनभर ।’

राईका अनुसार गाउँमा पुरुषलेभन्दा पनि महिलाले ऋण लिएका हुन्छन् । पुरुष कि बेदेश कि मजदुरीका शिलशिलामा बाहिर नै हुन्छन् । गाउँमा भएका पनि ऋणको तनावले घर नै आउन मान्दैनन् । महिला राम्ररी खान र सुत्न पनि पाउँदैनन् । साहु कुनबेला आउने हो र कस्तो खालको तनाव दिने हो पत्तै हुँदैन ।

अर्की पीडित महिलाको कथा पनि उस्तै छ । धनुषाकी जानकी शाह भन्नुहुन्छ ‘मलाई काठमाडौंबाट घर फर्कन मन छैन् । ‘म घर फर्कन नै चाहन्न । बरु सक्नु हुन्छ भने मलाई यहाँ एउटा सानोतिनो रोजगार खाजिदिनु होस् । कुराकानीका क्रममा उहाँले मलाई आग्रह गर्नु भयो । घर र गाउँ सम्झनसाथ मलाई डर लागेर आउँछ । रुदा रुदा मेरा आशु सुकिसकेका छन् । मन जतिखेरै पोल्छ ।

साहुले थुन्छ भन्ने पिरले म एक महिनादेखि गाउँबाट भागेर काठमाडौं बसिरहेकी छु अर्की महिला भन्नुहुुन्छ । गाउँ फर्कने ठाउँ छैन् । साहुले अदालतमा उजुरी हालेको छ । अदालतका मानिसले मलाई पक्रने छन् । म कहाँ जाउ ? उहाँको दुःखेसो छ ।

मेरो घर परिवार राम्रै थियो । आफू स्कुल पनि पढाउथे । तर, गर्दा भन्दा म लघुवित्त र मिटरब्याजमा फसे । मिटरब्याजमा ल्याएको ऋण तिर्न मैलै म सँग भएका ४ तोला सुन बेचे । जग्गा पनि बेच्नु प¥यो । धनुषाकै अर्की महिलाको कथा हो यो ।

अहिले ग्रामीण भेगका निम्न आयस्तर भएका अधिकाशं महिला साहुको चर्को मिटरब्याजको चंगुलमा फसेका कारण आफू मानसिक रुपमा विक्षिप्त भएको बताउनुहुन्छ ।