‘म पुन: नेपाल आउन चाहन्छु’ : भारतीय अभिनेत्री भाग्यश्री

0
92

काठमाडौं । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ वितरण समारोहमा नेपालमा आउनु भएकी भारतीय अभिनेत्री भाग्यश्रीले नेपालको प्रशंसा गर्नु भएको छ ।

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करणका लागि नेपाल आउनु भएकी भाग्यश्रीले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताउनु भएको हो। उहाँले नेपालीहरुले माया गरिरहे पुनः आफू परिवारसँग नेपाल घुम्न आउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको सुन्दरता र विश्वभरमा चर्चा छ, मैले यहाँ थोरै मात्रै देखेको छु। तर म नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु।’

फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम आइतवार काठमाडौंस्थित एक होटलमा सम्पन्न भएको हो। समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

अवार्ड प्रदान गर्न भारतीय अभिनेत्री भाग्यश्री, रञ्जित, विन्दुदारा सिंह लगायतका भारतीय चर्चित कलाकारहरु नेपालमा आएका थिए। अवार्ड समारोहले नेपाल र भारतबीचको धार्मिक, सांस्कृतिक तथा भाइचाराको सम्बन्धलाई अझ बलियो बनाएको बताइएको छ।