थोरै पैसालाई कसरी प्राथमिक शेयरबजार (आईपीओ) मा लगानी गर्ने ?

0
123

काठमाडौं । आजभोलि शेयरबजारको बारेमा पुरुष वा महिला, युवा वा बूढापाका सबैले चासो राख्ने गर्छन् । आफूसँग भएको थोरै पूँजी लगानी गर्ने उपयुक्त ठाउँ शेयरबजार भएकाले पनि यस विषयमा धेरैको चासो रहेको हो ।

अझ बन्दाबन्दीका कारण व्यापार व्यवसाय ठप्प भएको अवस्थामा शेयरबजार धेरैको नजरमा पर्‍यो र यस समयमा नेपालको शेयरबजारले नयाँ उचाइ पनि कायम गर्न सफल भयो । यहीँ समयमा शेयरबजारको बारेमा धेरैले ज्ञान पनि आर्जन गर्न सफल भए ।

शेयरबजारमा धेरै पैसा खन्याएर यसमा प्रवेश गर्नुपर्छ भन्ने छैन् । १ हजारबाट शेयरबजारमा प्रवेश गर्न सक्नुहुन्छ । विदेशबाट श्रीमान् वा आफन्तजनले पठाएको पैसा होस् वा स्वआर्जनको थोरै पैसा किन नहोस् तपाईंले शेयरबजारमा लगानी गर्न सक्नुहुन्छ । यसबाट तत्काल वा दीर्घकालीन दुवै फाइदा लिन सक्नु हुनेछ ।

नेपाल पूजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल भन्नुहुन्छ ‘आज शेयर बजारका बारेमा नसुन्ने धेरै कम हुनुहुन्छ तर, अझै पनि महिलाले प्रत्यक्ष रूपमा शेयर बजारमा आफै संलग्न भएको कम पाइन्छ । नारी आफै सक्षम हुन आवश्यक छ । आफूसँग भएको थोरै रकम पनि कसरी शेयर बजारमा लगानी गर्न सकिन्छ भनेर सोच्नु पर्छ ।’ ‘घर परिवारमा आश्रित महिलाले त झनै शेयरबजारका बारेमा बुझ्नु पर्छ ।’

यसले छोराछोरीको भविष्यमा निकै आर्थिक सहयोग पनि गर्ने छ । के हो त शेयरबजार ? हामीसँग भएको १ हजार रुपैयाँ कसरी लगानी गर्न सक्छौं यस विषयमा चर्चा गरौं ।

के हो शेयरबजार
कुनै पनि कम्पनीसँग भएको पूँजी वा स्वामित्वलाई धेरै एकाइ (कित्ता) मा लगानीकर्तालाई विक्री गरिन्छ । कम्पनीले आफूसँग भएको पूँजीलाई हामीलाई दुई तरिकाले बेच्न सक्छ एउटा प्राथमिक (आईपीओ) र अर्को दोस्रो बजार (सेकेन्डरी) शेयर । आज हामी नव लगानीकर्तालाई ध्यानमा राखेर प्राथमिक शेयर (आईपीओ) का बारेमा मात्र कुराकानी गर्नेछौं ।

के हो प्राथमिक वा आईपीओ शेयर ?
अहिले नेपालमा प्राथमिक शेयरमा लगानी गर्नेको संख्या यो १ वर्षभित्र ह्वात्तै बढेको छ । प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या अहिलेसम्म ४२ लाख भन्दा माथिसम्म पुगेको छ । कुनै पनि पब्लिक कम्पनीले पूँजी संकलन तथा वृद्धिका लागि पहिलोपटक निष्कासन गरेको शेयरलाई आईपीओ वा प्राथमिक शेयर भनिन्छ ।

प्राथमिक (प्राइमरी) शेयरमा लगानी गर्न सजिलो र लगानीको जोखिम नहुने भएकाले पनि प्राथमिक बजारमा आम जनमानसको आकर्षण बढेको हो । साथै, अनलाइनको पहुँच जताततै पुग्नु र विदेशबाट पनि सजिलै अनलाइनकै माध्यमबाट शेयर भर्न सक्नुले पनि आजभोलि जो कोही पनि शेयरबजारमा लगानी गर्न उत्साहित हुने गर्छन् ।

प्राथमिक बजारमा प्रवेश गर्न धेरै रकमको पनि आवश्यकता पर्दैन, तपाईंसँग १ हजार रुपैयाँ मात्र छ भने पनि प्राथमिक बजारमा प्रवेश गर्न सक्नुहुन्छ । सामान्यतया आईपीओमा प्रतिकित्ता १ सय रुपैयाँको दरले लगानी गर्ने र न्यूनतम १० कित्ता भनुपर्ने भएकाले १ हजार रुपैयाँ हुन आवश्यक छ । प्राथमिक बजारमा प्रवेश गरेको लगानीकर्ताले विस्तारै दोस्रो बजारमा प्रवेश गर्न सिकाउँछ ।

कसरी भर्ने आईपीओ ?
प्राथमिक बजार आईपीओ भर्नका लागि तपाईंसँग पहिला डिम्याट खाता हुनुपर्छ । डिम्याट खाता कुनै पनि बाणिज्य बैंकबाट लिन सक्नु हुनेछ । बैंकमा गएर तपाईंले डिम्याट खाता खोल्नका लागि फारम भर्नुपर्ने हुन्छ । डिम्याट खातासँगै त्यहीं बैंकबाट सीआरएन नम्बर पनि लिनुपर्ने हुन्छ ।

आईपीओ खोल्नका लागि डिम्याट खातासहित अनलाइन आइपीओ भर्न सीआरएन नम्बर आवश्यक रहन्छ । डिम्याट र सीआरएन नम्बर भएपछि घरमा बसीबसी शेयर भर्न सक्नुहुन्छ यसका लागि सि–आस्बा प्रणाली र दोस्रो शेयरमामार्फत लगानी गर्न सक्नु हुनेछ ।

इन्टरनेटको माध्यमबाट घरमा बसी–बसी कम्पयुटर मोबाइल तथा अन्य डिभाइसबाट शेयर आवेदन दिन सकिने व्यवस्थालाई सि–आस्बा प्रणाली भनिन्छ । अर्को सीडीएससीले सञ्चालनमा ल्याएको मेरो शेयर डट सीडीएससीडटकमडट एनपीमार्फत अनलाइनबाट नै आईपीओ भर्न सकिन्छ ।

घरबाट तपाईंले अनलाइन फर्म भर्न सक्नु भएन भने आफ्नो खाता भएको बैंकमा गएर पनि आईपीओ फारम भरेर आईपीओमा आवेदन दिन सकिन्छ ।

कसरी अनलाइन आस्बा सेवा लिने ?

पहिला त तपाईंले खाता खोलेको बैंकमा अनलाइन आस्बा सेवा प्रदान गरेको छ छैन यकीन गर्नुहोस् । यदि रहेछ भने बैंकमा गएर अनलाइन आस्बाका लागि केवाईसी फारम पनि भर्न सकिन्छ । नभए अनलाइनमार्फत सम्बद्ध बैंकको वेबसाइट खोलेर पनि अनलाइन फारम पनि भर्न सकिन्छ ।

यसका लागि बैंकको वेबसाइटमा रहेको केवाइसी फर्म भर्नुपर्ने हुन्छ । केवाईसी फर्ममा आफ्नो सम्पूर्ण विवरण भरेर आप्mनो केवाईसी नम्बर बनाउनुपर्छ । यसका लागि पहिला आफ्नो कम्प्युटरको ब्राउजर खोल्नुपर्छ । ब्राउजरमा आफ्नो खाता भएको बैंकको वेबसाइट खोल्नुहोस् ।

र, बैंकको वेबसाइट खुलेपछि माथि टपमा आस्बा लगिङ देख्नु हुनेछ । आस्बा लगिङलाई क्लिक गर्नहोस् । आस्बा लगिङ खुलेपछि त्यहाँ रजिस्टर लेखेको देख्न सक्नुहुन्छ । त्यो रजिस्टरमा क्लिक गर्नुहोस् । त्यहाँ एउटा फर्म देखिन्छ । त्यो फर्ममा भएको सम्पूर्ण कुरा भर्नुहोस् र पेश गर्नुहोस् । पेशगरे पछि केवाईसी नम्बर प्राप्त गर्न सक्नुहुन्छ ।

र, यो केवाइसी नम्बर र नागरिकता लिएर आफूले खाता खोलेको बैंकमा गएर अनलाइन आस्बा लगिङ युजर नेम र पासवर्ड प्राप्त गर्न सक्नुहुनेछ ।
आस्बा लगिङ र पासपोर्ट ल्याएपछि घरमा बसीबसी आईपीओ भर्न सक्नु हुनेछ । यसरी एकपटक सबै प्रक्रिया पु¥याएर सीआस्बा खोलेपछि बारम्बार झन्झटमा फस्नु हुँदैन । त्यसपछि आरामले घरबाट आईपीओ भर्न सक्नुहुन्छ ।

आईपीओ भरिसकेपछि जुन बैंकको खाताबाट शेयर भर्नुभएको छ त्यो बैंकले तपार्इंको खातामा भएको आईपीओ भरेको संख्या बराबरको रकम रोक्का गरिदिदन्छ । आईपीओ बाँडफाँट हुनसाथ पैसा रिजिल हुन्छ । शेयर परे पैसा काटिन्छ शेयर नपरे पैसा काटिँदैन । पैसा खातामा रहन्छ ।

कसरी थाहा पाउने आईपीओ खुलेको ?
आईपीओ भर्न सबै प्रक्रिया पुर्‍याएर सी–आस्बा लिएपछि ढुक्कले बस्न मिल्दैन । आईपीओ कहिले खुल्ने रहेछ भनेर पनि चनाखो भइरहनुपर्छ । आजभोलि आईपीओ र शेयरको बारेमा समाचार दिने धेरै वेबसाइट र युट्युब छन् ।

शेयरका बारेमा जानकारी दिने वेबसाइट र युट्युब च्यानल फलो गर्नुपर्छ, जसबाट कुन कम्पनीको आईपीओ कहिले खुल्दै छ, राम्ररी जानकारी पाउनु हुनेछ । नभए हप्तामा २/३ पटक मेरो शेयर लगिङ गरेर नि आईपीओ खुलेको हेर्न सक्नु हुनेछ । शेयरबजारमा प्रवेश गरेर आफ्नो थैली आफै दर्बिलो बनाउनुहोस् ।