स्ट्रेच माक्र्स (छाला तन्किएर बनेको दाग) लाई यसरी हटाउनुहोस्

0
83

काठमाडौं । सस्ट्रेच माक्र्स (बजन बढ्दा एक्कासी छाला तन्किएर बन्ने दाग) ले महिला वा पुरुष दुवैलाई सताउँछ । विशेषगरी गर्भावस्थामा धेरै महिलाको पेटमा स्ट्रेच माक्र्स बस्ने गर्छ । यो दाग पछिसम्म रहने भएकाले महिलाले साडी वा पेट देखिने छोटा लुगा लगाउँदा असहज महशुस गर्छन् ।

यस्तै, पुरुषमा पनि स्ट्रेच माक्र्सले समस्यामा पार्छ । पुरुषको वजन बढ्दा स्ट्रेच माक्र्स आउँछ । स्ट्रेच माक्र्स पेटको तल्लो भाग, ढाडको तल्लो भाग, पाखुरा, ब्रेष्टको वरिपरि तिघ्रामा आउन सक्छ । यो छालामा समानान्तर रेखामा देखिन्छ र यो छालाको रंगभन्दा फरक हुनेगर्छ । छाला एक्कासी तन्किदा स्ट्रेच माक्र्स देखापर्छ ।

स्ट्रेच माक्र्स शुरुमा रोतो वा बैजनी रंगको हुन्छ र, पछि फिक्का रंगको देखा पर्न थाल्छ । जसका कारण दागको रंग खैरो बन्न पुग्छ ।
गर्भवती महिलाले गर्भाअवस्थाको समयमा विषेशगरी पेट र तिघ्रामा दैनिक तोरीको तेलले मसाज गर्ने हो भने स्ट्रेच माक्र्स नआउने चिकित्सक बताउँछन् ।

एक पटक स्ट्रेच माक्र्स आइसकेपछि त्यसबाट छुटकारा पाउन त्यति सजिलो छैन् । हिजोआज स्ट्रेच माक्र्स हटाउने औषधी पाइन्छ भने पनि ती त्यती प्रभावकारी देखिएको छैन । साथै, ती औषधी अत्यन्त मंहगा पनि छन् । आज हामी तपाईंलाई स्ट्रेच माक्र्स हटाउने केही प्राकृतिक घरेलु उपचारका बारेमा बताउन गइरहेका छौं । जसले मासु तन्किएर बनेको दागलाई हटाउन धेरै नै मद्दत गर्ने छ ।

आर्गन तेल
आर्गन तेलमा भिटामिन ई प्रचुर मात्रामा हुने भएकाले यसले छालामा लचकता पन बढाउँछ । आर्गन तेलले छालामा मसाज गर्दा टुक्रिएका तन्तुहरुलाई जोड्ने काम गर्छ । आर्गन तेलले दैनिक मसाज गर्ने हो भने स्ट्रेच माक्र्स पुरै नगएपनि यसको रंग हलुका हुँदै जान्छ र झट्ट हेर्दा नदेखिने हुन्छ ।

कागतीको रस
कागतीको रसमा प्राकृतिक रुपमा नै ब्लीचिङ गुण हुन्छ । कागतीको रसमा स्ट्रेच माक्र्सलाई कम गर्ने गुणहरू पाइन्छ । स्ट्रेच माक्र्समा कागतीको रसलाई पनि लगाउन सक्नु हुन्छ वा त्यसलाई काटेर सिधै स्ट्रेच माक्समा रगड्न सक्नुहुनेछ । यसरी दैनिक कागतीको रस दागमा लगाउनाले विस्तारै दाग कम हुँदै जान्छ ।

अण्डाको सेतो भाग
अण्डाको सेतो भागमा प्रोटिन र एमिनो एसिड अत्यधिक मात्रमा हुन्छ । यो छालाका लागि सुपरफूडभन्दा कम हुँदैन् । अण्डाको सेतो भागलाई स्ट्रेच भएको ठाउँमा लगाउँदा यसले छालालाई कडा बनाएर स्ट्रेचलाई धमिलो बनाउँदै लैजान्छ ।

आलुको जुस
आलुमा स्टार्च हुन्छ, जुन एक इन्जाइम हो जसले छालाको रंगलाई निखार्न मद्धत गर्दछ । यसले गर्दा तपाईको डार्क सर्कललाई हटाउन पनि मद्धत गर्छ । त्यसैले आलुको जुसले छालामा रहेको दागलाई हटाउँछ ।

जैतुनको तेल (ओलिभ तेल)
मोइस्चराइजिंग गुणले भरिपूर्ण , जैतुनको तेलमा पर्याप्त मात्रामा एन्टि–अक्सिडेन्ट र अन्य पोषक तत्व हन्छ जसले क्षतिग्रस्त छालाको मर्मत गर्नका लागि आश्चर्यजनक रुपमा प्रभावकारी हुन्छ । स्ट्रेच मार्कमा जैतुनको तेल लगाउनाले दाग हट्दै जान्छ ।

घ्यू कुमारीको जेल
घ्यू कुमारी हाम्रो स्वास्थका लागि धेरै नै फाइदजनक रहेको सर्वविदित नै छ । यसले स्ट्रेच माक्र्सलाई हटाउनका लागि पनि उत्तिकै सहयोग गर्छ । घ्यू कुमारीको बाहिरी भागलाई हटाएर भित्र रहेको च्यापच्याप गर्ने जेललाई स्ट्रेच दागमा लगाउनु पर्छ र दुईदेखि तीन घण्टासम्म यसै राख्नुपर्छ । यसरी दैनिक घ्यू कुमारीको जेल लगाउने हो भने विस्तारै दाग हट्दै जान्छ ।

स्ट्रेच माक्र्स पूरा तरिकाले हटाउन सकिन्छ वा सकिदैन् ?
शरीरको छाला तन्किएपछि बनेको स्ट्रेच माक्र्स पूर्ण रुपमा हटाउन सकिदैन् । तर, यसलाई हलुका भने गर्न सकिन्छ । माथी दिएका प्राकृतिक औषधीलाई पूर्ण पालना गर्दै नियमित हेरचाह गर्नुभयो भने ६ देखि १२ महिनासम्ममा दाग अलिअलिमात्र रहन्छ । झट्ट हेर्दा दाग देखिदैन् ।

स्ट्रेच माक्र्स हटाउन मेडिकल औषधी कत्तिको प्रभावकारी छ ?
प्राकृतिक घरेलु उपचारले स्ट्रेच माक्र्सलाई सुरक्षित तरिकाले हल्का बनाउन मद्दत गर्छ । यसबाहेक पनि चिकित्सा वा शल्य चिकित्साको विकल्प पनि अपनाउन सक्नुहुने छ । ‘पल्स्ड डाई लेजर’, जसलाई ‘भास्कुलर लेजर’ पनि भनिन्छ । भर्खर बसेको स्ट्रेच माक्र्स दागलाई हटाउनका लागि धेरै प्रभावकारी हुने चिकित्सक बताउँछन् ।

तर, दाग पुरानो र बढी कालो छ भने यो उपचारले त्यति प्रभाव पार्दैन । प्राकृतिक उपचार बाहेक कुनै पनि मेडिकल उपचार गर्दा चिकित्सकसँग राम्ररी परामर्श लिनुपर्छ । विना परामर्श मेडिकल औषधीको प्रयोग नगर्नुहोस् ।