लोकल कुखुराको झोल बनाउने लोकल तरिका

0
99

काठमाडौं । तराई होस् वा पहाड लोकल कुखुराको झोल भन्नासाथ ताततातो भात वा ढिडोको सम्झना आइहाल्छ । गाउँदेखि शहरसम्म लोकल कुखुराका पारखी धेरै भेटिन्छन् । अझ ग्रामीण क्षेत्रको यात्रा गर्दै गाउँघर गएका छौं भने लोकल कुखुराको झोलसँग ढिडो वा खाना खान धेरैले छुटाउँदैँनौ ।

आज हामी लोकल पाराले लोकल कुखुराको झोल कसरी अझ स्वादिष्ट बनाउने भन्ने बारेमा जानकारी दिन गइरहेका छौँ । लोकल पारामा पकाएको लोकल कुखुराको झोल अझ स्वादिष्ठ हुन्छ ।

sajilo kitchan

लोकल कुखराको झोल बनाउनका लागि चाहिने सामग्रीः


तोरीको तेलः केही चम्चा
प्याजः सानो २ वटा
सौँप : कुखुराको मासुमा सौँप राख्दा एकदमै मिठो हुने गर्छ । भिन्न स्वाद पनि हुन्छ ।
गरम मसलाः ल्वाङ, सुकमेल, दालचिनी
जिराः एक चम्चा
धनियाँः सानो २ चम्चा
ज्वानोः आधा चम्चा
मरिचः पाउडर वा दाना
अलैचीः एउटा
रातो सुकेको खुसार्नी ३ वटा
अदुवा र लसुनको पेष्ट
टमाटर :३ वटा
हरियो धनियाँ पत्ता
तेजपत्ता
बेसार
नुनः स्वादअनुसार
बेसार र नुन बाहेकको मसलालाई सिलौटामा वा ग्राण्डरमा पिसेर पेष्ट तयार पार्ने ।


पकाउने विधिः
शुरूमा कराइलाई राम्ररी तताउने । त्यसमा ३ चम्चा तोरीको तेल राख्ने । तोरीको तेलले लोकल कुखुराको मासुलाई अझ स्वादिलो बनाउँछ । राम्ररी तातेको तेलमा सौँप फुराउने । कुखुराको मासुमा सौँप फुराउँदा अझ स्वादिलो बन्छ ।

त्यसमा ल्वाङ, सुकमेल, दालचिनी र तेजपत्ता पनि फुराउने । केहीबेर फुराएपछि काटेको प्याज हालेर केहीबेर चलाउनुहोस् । प्याज रातो भएपछि बेसार राख्नुहोस् । यसपछि लोकल कुखुराको मासु राखेर राम्रोसँग चलाउनुहोस् । (प्याज राख्दा मासु केही भुटिएपछि पनि राख्न सक्नु हुन्छ । अगाडि तेलमा प्याज फुराउँदा मासु रातो गरि भुट्दा प्याज डढ्न पनि सक्छ ।)

स्वादअनुसार नुन पनि राख्नुहोस् । र, १५ मिनेट सानो आगोको आँचमा पकाउनुहोस् । १५ मिनेट पछि एक पटक मासुलाई पुन ढक्कन खोलेर चेक गर्नुहोस् । सानो आँच भएकाले मासु पाक्न केही समय लाग्छ ।

केही समय पछि मासु पुनः चलाउनु होस् । यसरी मासु चलाउँदा मासुबाट निस्किएको पानी सुकेको छैन् भने पुनः १० मिनेट छोपिदिनु होस् । र, त्यसपछि मासुबाट पानी सुकेर तेलमा भुटिन थाल्छ । तेलमा भुटिन थालेपछि मासु रातोरातो हुन्छ ।

मासु रातोरातो हुन थालेपछि अघि पिसेको मसलालाई हालेर राम्ररी चलाउनु होस् । केहीबेर मसला पाक्नका लागि पुनः मासुलाई भुट्नु पर्छ । मसला पाकिसकेपछि काटेको टमाटरलाई हाल्ने ।

टमाटरलाई मसलासँगै ग्राण्डर गरेको छ भने अहिले हाल्नु पर्दैन । मसलामा पिसेको छैन् भने टमाटरलाई एकछिन पकाउनु होस् । टमाटर राम्ररी पाकेपछि मासुमा तातो पानी हालेर झोल बनाउनु पर्छ ।

तातोपानी हालेर झोल बनाउँदा झोलको स्वाद अझ स्वादिष्ठ हुन्छ । मासु कति छ र कस्तो खान मन छ त्यसअनुसार बाक्लो वा पातलो झोल बनाउन सक्नुहुनेछ । त्यहीअनुरूप पानी हाल्नु होस् ।

र, केहीबेर उमाल्नुहोस् । ४/५ मिनेट उमालेपछि त्यसमा हरियो धनियाँ राख्नु होला । साथै, हरियो लसुनको पत्ता छ भने रस उम्लिएपछि हाल्नु भयो भने रस अझ स्वादिष्ठ बन्छ । यति गरेर पकाएपछि लोकल कुखुराको मासु खानका लागि तयार भएको छ ।
यसरी लोकल पाराले बनाएको लोकल कुखुराको मासु झोल भात वा ढिडोसँग खान सक्नु हुनेछ ।