‘अवसर पाए महिलाहरू बिजेता बन्छन्’ रेखा शर्मा

0
133

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रहनुभएकी रेखा शर्मा नेपाली राजनीतिमा नयाँ नाम होइन । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षमा उठाएका आठ महिला उम्मेदवारमध्ये जित प्राप्त गर्ने एक मात्र भाग्यमानी सांसद् पनि हुनुहुन्छ।

गत २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा लुम्बिन प्रदेशका पहिलो मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शक्तिशाली नेता, महासचिव शङ्कर पोखरेललाई हराउन सफल हुनुभयो ।

सोह्र वर्षको उमेरमा २०४३ सालबाट राजनीतिमा प्रवेश गर्नु भएकी शर्मा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुहुन्छ। यो विजय उहाँले राजनीतिक जीवनमा गरेको सङ्घर्षपूर्ण बलिदानको प्रतिफल हो ।नेपाल नारीकी सम्पादक पूजा ढकालले उहाँसँग राजनीतिका विषयमा गरेको कुराकानी :

तपाईं पहिलोपटक प्रत्यक्षबाट निर्वाचनमा सहभागि हुँदा कस्तो अनुभव गर्नुभयो ?

म प्रत्यक्षबाट पहिलोपटक चुनावमा उठे पनि राजनीति क्षेत्र र चुनावका लागि नितान्त नयाँ व्यक्ति होइन । यसअघि नै म दुईपटक संसद्मा र अन्य साथीभाइलाई प्रत्यक्ष चुनावमा सघाएको अनुभव प्रशस्त थियो । आफू नै प्रत्यक्ष निर्वाचनमा उम्मेदवारका रूपमा होमिँदा केही फरक अनुभव रह्यो । आफै चुनावमा होमिदा समाजलाई मिहिन ढङ्गबाट बुझ्न पाइने रहेछ । आफ्नो क्षेत्रका कुनाकाप्चा तथा त्यहाँका जनतासँग प्रत्यक्ष भेटघाट गर्दै सुख, दुःख र गुनासो सुन्दा ऊर्जा प्राप्त हुँँदो रहेछ ।

हुन त हिजो जनयुद्धमा पनि म जनताकै साथमा थिएँ । जनताकै घरदैलोमा थिएँ र म मन्त्री हुँदा वा संसद्मा रहँदा पनि जनतालाई नै केन्द्र विन्दुमा राखेर काम गरेकी छु । जनताभन्दा पर कहिल्यै थिइन र हुने पनि छैन । कति जनाले मलाई भेट्न पाउनु भएको थिएन र मैले पनि कतिपयलाई भेटेको थिइनँ । यो चुनावले सबैसँग साक्षात्कार गर्ने मौका दियो ।

यसले मलाई थप ऊर्जा र उत्साह थपेको छ । मैले चुनावका दौरानमा सबैको साथ सहयोग प्राप्त गरँे । यो चुनाव मेरा लागि उत्साहप्रद रह्यो ।
एमालेका शक्तिशाली नेता तथा लुम्बिनी प्रदेशका पूर्व प्रमुख शङ्कर पोखरेलसँग प्रतिस्पर्धामा चुनावी मैदानमा हुनुहुन्थ्यो । उहाँलाई हराउँछु भन्ने लागेको थियो ?
म कमजोर व्यक्तिसँग चुनाव लडिरहेकी थिइनँ । सबै हिसाबले शक्तिशाली व्यक्तिलाई चुनौती दिँदै थिए । म के कुरामा स्पष्ट थिएँ भने मेरो छवि व्यक्तिगत र पार्टीगत रूपमा कहीँ कतै खोट लगाउने किसिमको थिएन । ढाट्नुपर्ने कुरा केही थिएन, जे थियो स्पष्ट थियो ।
हाम्रा एजेन्डा पनि राम्रा थिए । गठबन्धनको पनि साथ थियो ।

यति हुँदाहुँदै पनि मेहनतको विकल्प छैन भन्ने मैले राम्ररी बुझेकी थिएँ । म रातमा तीन/चार घण्टा मात्र सुतेर भए पनि जनताको घरदैलो पुग्ने कोसिस गरिरहँे । यसपटकको चुनावमा म आफ्नै रहरले प्रत्यक्षमा उठेँ र संयोगले दाङ पुगेँ ।

पार्टीको ऐक्यबद्घता, गठबन्धनको सहयोग तथा समग्र क्षेत्रवासीको साथ र सहयोगले मेरो जित सुनिश्चित भयो । यो हुन्छ भन्नेमा म विश्वस्त पनि थिए ।

शङ्कर पोखरेलसँग जम्मा १९६ मतान्तरले जित्नुभयो । मतगणनामा विपक्षीले मतान्तर घटाउँदै गर्दा र अन्तिम चरणको मत परिणाम आउँदै गर्दा मुटु कत्तिको ढुकढुक भएको थियो ?
मनमा कताकता डर नहुने भन्ने होइन, त्यो भइहाल्छ । म मानसिक रूपमा तयार थिएँ । मैदानमा उत्रिसकेपछि जित र हार जे पनि हुनसक्छ । हारेको खण्डमा पनि म निराश हुनेवाला थिइनँ ।

अहिले नयाँ–नयाँ पार्टीको उदय भइरहेका बेलामा मतदाताले पुराना नेता र पार्टीलाई कसरी हेर्दा रहेछन् ?

अहिलेको परिस्थिति फरक ढङ्गले आएको छ । युवामा तुरुन्त परिवर्तन र विकल्प खोजिहाल्ने प्रवृत्ति ह्वात्त बढेको छ । आफूले चुनेर पठाएको नेतासँग सहज पहुँच नभएर पनि हो । जनप्रतिधि सहज र सर्वसुलभ हुने, आफ्नो क्षेत्र, गाउँठाउँमा पुग्ने जनअपेक्षाअनुरूप काम गर्ने हो भने युवा हामीबाट टाढिँदैनन् । मैले महिला हिंसा तथा सशक्तीकरणका लागि गरेको आन्दोलन र संसद्मा रहँदा कानून बनाउने क्रममा गरेको कामले पनि जनताले मलाई चुने ।

वास्तवमा अहिलेको चुनावमा मैले ठूला–ठूला सपना बाँडिनँ । मैले गर्नसक्ने कामका बारेमा मात्रै जनतालाई भनेँ । मैले जनतासँग भोट माग्दा ‘मलाई नै भोट दिनुपर्छ भन्ने छैन तर राम्रो नेता छान्नुहोस्,’ भने । गाउँमा अहिले पनि पुराना पार्टी तथा नेताप्रति जनताको अविश्वास बढेको छ । तर, हामीले कताकता बाटो पो बिराउन थालेका हौं कि यसको समीक्षा हुनु जरुरी छ ।

जनआकाङ्क्षा र मनोभावना बुभ्mनुपर्छ । त्यसैअनुरूप काम पनि गर्नुपर्छ । हामीले सेवक भएको प्रत्याभूति दिलाउन सक्यौँ भने जनताले हामीलाई धोका दिने छैनन् । जनताले राम्रो पार्टी र नेता नै चुन्नेछन् न कि पुरानो र नयाँ ।

विशेषगरी पार्टीले महिलालाई प्रत्यक्षभन्दा पनि समानुपातिकमा सांसद बनाउँछन् । महिलाका लागि प्रत्यक्ष चुनाव कठिन भएरै समानुपातिकमा राखिएको हो ?
महिला नै भएका कारण प्रत्यक्षमा चुनाव लड्न सकिँदैन भन्ने होइन । मेहनतचाहिँ धेरै नै गर्नुपर्छ । जुनसुकै क्षेत्रमा पनि तपाईं जति मेहनत गर्नुहुन्छ त्यसकै आधारमा सफलता प्राप्त गर्नुहुन्छ । चुनाव सजिलो कुरा पक्कै होइन । जनताले उम्मेदवारको जन्मकुण्डली मात्र होइन, शरीरका अङ्गअङ्गको एक्सरे गर्नसमेत भ्याउँछन् । अब जनता एउटा वादमा मात्र लाग्नेवाला छैनन् । नेताको छवि र काम गर्न सक्ने नसक्ने पनि हेर्छन् । पुरुषले प्रत्यक्षमा जित्ने महिलाले नजित्ने भन्ने हुँदैन ।

चुनौती महिलालाई मात्र हुने होइन पुरुषलाई पनि हुन्छ । पुरुषले पनि त सबै क्षेत्रबाट जित्छन् भन्ने छैन । अवसर पाएको बेलामा आफूले सकेको जति राम्रो गर्नुपर्छ सकिएन भने नराम्रो चाहिँ गर्नु हुँदैन । मनमा हाउगुजी पालेर बस्नु हुँदैन ।

अहिले जनताले कुनै राजनीतिक अनुभव नभएका युवालाई प्रतिनिधिसभामा पठाएका छन्, यसलाई कसरी हेर्नुहुन्छ ?

युवा संसद्मा आउनुपर्छ र यो राम्रो कुरा पनि हो । तर, उनीहरूले निकै मेहनत गर्नुपर्छ । मेहनत नगर्ने हो भने यसले खासै फरक पार्दैन ।
ठूला राजनीतिक दलप्रति जनताको वितृष्णाका कारण ६ महिनाअघि दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो सफलता प्राप्त गर्‍यो ।

अहिलेको जनमत हेर्दा ठूला दलले आफूलाई परिवर्तन गर्न कत्तिको आवश्यक छ ?

अहिले मानिसले चाँडै परिवर्तन खोज्छ । विश्व परिवेशलाई हेरेर चाँडै परिवर्तन खोज्नु ठीक पनि हो । विकासका ठूला–ठूला काम आजको भोलि हुँदैन । ठूलो विकासका लागि केही समय पक्कै लाग्छ । यसो भनिरहँदा जनतालाई पीर मार्कामा पारेर विकासका कामलाई वर्षौंपछि घचेट्नु भन्ने होइन ।

अहिले युवाले बेग्लै धार लिएर हिँडेका छन् । देशको परिवर्तन हामीबाट मात्र सम्भव छ भनेर जनतालाई जसरी भनिएको छ यसमा पनि सत्यता भने छैन । हिजो हामीले जीवनलाई आहुति दिएर सङ्घर्षपूर्ण बलिदान गरेकै कारण आज यो भएन त्यो भएन भन्न सम्भव भएको हो ।
विशेषगरी, माओवादीले जसरी जनयुद्ध ग¥यो, यसले गाउँगाउँमा राजनीतिक चेतनाको स्तरलाई सतहमा ल्याइदियो । हेर्नुस् त यो १० वर्षमा नै जनता कसरी जागेका यो हिजो सम्भव थियो ?
अन्य नयाँ–नयाँ दलको जन्म हुनु हँुदैन भनेको होइन । यो लोकतन्त्रको सुन्दर पक्ष हो । यो सुन्दर पक्षलाई पहिलाका पार्टीले जग नहालेका होइनन् तर जनताले चाहेअनुरूप पक्कै नभएको हो । ठूला पार्टी र शीर्ष नेताले पनि अब आफूलाई परम्परागत ढङ्गले अघि बढाउने होइन, समयसापेक्ष परिवर्तन गर्नुपर्छ ।

पार्टी तथा समग्र देशको विकासमा आफूलाई अग्रसर गर्नैपर्छ । नेपालका जनतालाई गुमराहमा राख्ने छूट अब कुनै पार्टी र नेताले छैन । जनतालाई विश्वासमा लिएर काम गर्नुपर्छ ।

तपाईंका भावी योजना के–के छन् ? दाङको विकासमा तपाईंको भूमिका कस्तो रहन्छ ?

संसद्मा जानेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, सुशासनका निम्ति संस्थागत सुधार, समृद्धि नै हाम्रो पहिलो प्राथमिकतामा पर्छ । हामी कानून बनाउने ठाउँमा छौं । देश र जनताको भलाइ हुने काममा मात्र मेरो प्रतिबद्धता हुनेछ ।

महिला भएका कारण विशेषगरी महिलासम्बन्धी बन्ने कानूनमा मेरो प्रत्यक्ष संलग्नता हुनेछ । यसैगरी, आफ्नो क्षेत्रको आर्थिक, सामाजिक विकासमा मेरो प्रमुख भूमिका रहनेछ । दाङका जनतालाई दुःखी बनाउने काम मबाट हुँदैन ।

यो अन्तर्वार्ता रेखा शर्मा सञ्चारमन्त्री हुनुपूर्व लिएकाले सञ्चारमन्त्रीको अनुभव तथा सञ्चारका कुरा यहाँ राखिएको छैन् । यो अन्तर्वार्ता अहिले राख्नुको प्रमुख उद्देश्य राजनीतिक दलले निर्वाचनमा प्रत्यक्ष तर्फबाट महिलालाई अत्यन्त कम संख्यामा उठाउने र उठाइहाले पनि नजित्ने निश्चित प्रायः भएका ठाउँबाट उठाउने, प्रत्यक्षमा उठ्नुअघि नै महिलाले जित्न सक्दैनन् भन्ने मानसिक अवस्था तयार पार्ने गरिन्छ ।

यी तमाम विषयलाई चिर्दै माननीय सञ्चारमन्त्रीसमेत रहनुभएकी शर्मा चुनावी अनुभव र राजनीतिका विषय अहिले पनि तमाम नेपाली नारी, राजनीतिक दल तथा महिला नेतालाई मार्गदर्शन छ ।