‘श्रीमानलाई उपहार दिने सपना अधुरै’

0
85

काठमाडौं । जेठको पहिलो साता चलचित्र ‘ए साथी सुन’ प्रदर्शनमा आउने भएको छ । चलचित्रकी निर्मात्री विना कार्की सो जानकारी दिनु भएको छ ।  फरक क्षेत्रमा रहेर कर्म गरिरहनुभएकी विनाले यो चलचित्र आफ्नो श्रीमानलाई ‘उपहार’ दिन निर्माण गर्नुभएको हो ।

चलचित्रबारे जानकारी दिन आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा चलचित्रभन्दा कार्कीको कथाले उपस्थितलाई मर्माहत बनायो । तर जानकारी नदिई उपहार दिने उहाँको सपना अधुरै रह्यो । कोरोना भाइरसका कारण निर्मात्री कार्कीले श्रीमानलाई गुमाउनु प¥यो ।

“श्रीमानलाई जानकारी नदिई निर्माण गरेँ । तर भन्नसमेत पाइनँ । यद्यपि उहाँको यादमा तयार गरेको चलचित्र अहिले प्रदर्शनको तयारीमा छ”, उहाँले भन्नुभयो । श्रीमान् श्रव्यदृश्यप्रति आकर्षित र आफ्नो सन्तानलाई कलाकार देख्न चाहना राखेको जानकारी दिनुभयो ।

चलचित्रमा कार्कीका छोरा इभानले पनि अभिनय गरेका छन् । “चलचित्र हामीले निर्माण गरेका हौँ भन्ने थाहा थिएन । तर छोरालाई अभिनय गराएको भन्ने जानकारी दिएकी थिए । उहाँ निकै खुसी हुनुभयो”, निर्मात्री कार्कीले भन्नुभयो ।

व्यवसायका कारण संयुक्त अरब इमिरेटस्को दुबईमा बसोबास गरिरहेकै कारण नेपालमा कोरोना महामारीका बेला उहाँहरू अलग हुनुभयो । निर्मात्री कार्की छोरा लिन नेपाल आएको समयमा लकडाउनका कारण यही बस्नु प¥यो । “अन्तिम समयमा उहाँलाई देख्न समेत पाइनँ ।

अहिले मैले किन भनिनँ भन्ने पनि लाग्छ”, उहाँले भन्नुभयो । चलचित्रमा सम्पूर्ण समूह नै नयाँ छन् । नयाँलाई चलचित्र बनाउन झैँ प्रदर्शन गर्न पनि सहज नरहेको निर्देशक राम राघव आचार्यले बताउनुभयो । “चलचित्र बनिसकेपछि प्रदर्शन गर्न सहज छैन । नयाँ समूहलाई जसरी कलाकारले बुझ्दैनन्, प्रदर्शनमा पनि त्यस्तै हुन्छ”, उहाँले भन्नुभयो ।

नेपालमा केही साङ्गीतिक भिडिओ र छोटा चलचित्रमा काम गरेपछि उहाँले भारतमा अभिनय र निर्देशनको शिक्षासमेत लिनुभयो । त्यहाँ केही टेलिचलचित्रमा काम गरेपछि कोरोना भाइरसका कारण भएको पहिलो लकडाउनमा कार्की नेपाल आउनुभएको थियो ।

“नेपाल आएपछि बसाइका क्रममा लेखेको कथालाई सुनाएपछि चलचित्र निर्माण गर्ने निर्णय लिएका हौँ । यसको नाम कलिपुरुष राखेका थियौँ । किनकि मानवद्वारा भइरहेको गलत क्रियाकलापको कथा प्रस्तुत गरेका छौँ”, निर्देशक आचार्यले भन्नुभयो ।

प्रेमकथानक थ्रिलर विधामा निर्माण भएको चलचित्रमा सुशील पोखरेल, जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।