सपनाको पछाडि यसरी दौंडिएँ : भवानी राणा

0
18

भवानी राणा सफल व्यवसायी हुनुहुन्छ । उहाँ व्यावसायिक घरानामा नजन्मिए पनि कर्म भने व्यवसाय नै बनाउनु भयो। शुरू गरेपछि दृढताका साथ काम सम्पन्न गर्ने राणा नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष हुने पहिलो महिला हुनुहुन्छ ।

राणा आफूमात्र सफल उद्यमी तथा व्यवसायी बन्नुभएको छैन्, उहाँले नेपाली महिला पनि अब्बल व्यवसायी बन्न सक्छन् र नेतृत्वसम्म पुग्न सक्छन् भन्ने आत्मविश्वास समेत जगाउनु भएको छ। उद्यमी राणासँग नारी नेपालकी सम्पादक पूजा ढकालले ‘नारी उद्यमी’का विषयमा गरेको कुराकानी :

उद्योग वााणिज्य महासङ्घको अध्यक्षको कार्यकाल सकिएपछि अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले आफ्नै व्यवसाय सञ्चालन तथा महासङ्घमा मैले लिएको जिम्मेवारीे पूरा गर्नमा व्यस्त छु ।

व्यवसायमा कसरी प्रवेश गर्नुभयो र देशको निजीक्षेत्रको सबैभन्दा ठूलो संस्थाको नेतृत्वसम्म पुग्न सफल हुनुभयो ?

म व्यावसायिक घरानाबाट आएकी होइन । मेरो बुबा अञ्चलाधीश हुनुहुन्थ्यो । त्यसबेला म सेन्टम्यारिज स्कुलमा पढ्थेँ । छुट्टीको समयमा हामी (म र दिदी) बुबा भएको ठाउँमा जान्थ्यौं । बुबा जिल्ला–जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी भइरहनुहुन्थ्यो । दिदी र म ती कार्यक्रममा पनि जान्थ्यौं ।

यसरी बुबासँग कार्यक्रममा प्रत्यक्ष सहभागी हुँदा धेरै कुरा जान्ने र सिक्ने मौका पाएँ । बुबा विभिन्न कार्यक्रममा मञ्चमा बसेको देख्दा आफू पनि यस्तै मञ्चमा बस्न पाए हुन्थ्यो धेरै मान्छेका अगाडि बोल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । यसैले होला मलाई सानैदेखि नेतृत्वमा पुग्नुपर्छ भन्ने लाग्थ्यो । तर, केको नेतृत्व गर्ने, कसरी त्यहाँ पुग्ने भन्नेचाहिँ थाहा थिएन ।

विद्यार्थी जीवनमा मैले धेरै कुरा सिक्न पाएँ । यसै समयमा मलाई आफू आत्मनिर्भर हुनुपर्छ भन्ने सोच पनि आयो । यसमा मेरी आमाको भूमिका ठूलो छ । आमाले सधैँ महिला र पुरुषमा कुनै भेदभाव हुँदैन भन्नुहुन्थ्यो ।

घरबाट मैले आफैले केही गर्नुपर्छ भन्ने संस्कार पाएँ । विवाहपछि म नेपालगञ्ज गएँ, त्यहाँ मेरा श्रीमान् व्यवसाय गर्ने भएकाले म पनि व्यवसायमै प्रवेश गरेँ । विवाहअघि विद्यार्थी हुँदा केही हुटहुटी जागिरहन्थ्यो । आफैले कमाएको पैसा गोजीमा बोक्ने रहर हुन्थ्यो ।

विवाहपछि आपैmले व्यवसाय शुरू गरेँ । नेपालगञ्जमा जिल्ला उद्योग वाणिज्य सङ्घमा आबद्ध भए । समुदायमा पनि विभिन्न काम गर्दै गए । नेतृत्वमा पुग्ने प्रयास गरिरहेँ । यी सबै पृष्ठभूमिले मलाई व्यवसायी बनाएर नेतृत्वसम्म पुर्‍यायो ।

महिला भएकै कारण व्यवसाय तथा नेतृत्वदायी भूमिका निर्वाह गर्न गाह्रो भयो वा भएन ?

नेतृत्वमा पुग्नु भनेको अवश्य पनि चुनौतीपूर्ण र गाह्रो कुरा हो । नेपाल पुरुषप्रधान देश भएकाले व्यवसायमा मात्र होइन, महिलालाई अन्य जुनसुकै क्षेत्रको नेतृत्वमा पुग्न उत्तिकै चुनौती छ । चुनौतीका बाबजुद महिलालाई अहिले अवसर पनि छ ।

सरकार र अन्य निजी, संस्थाले पनि महिला सशक्तीकरणका लागि काम गरिरहेका छन् । महिला आफैले निकै मेहनत गर्नुपर्छ । मेहनतविना सफलता सम्भव छैन । लक्ष्यसम्म पुग्न कडा मेहनत आवश्यक पर्छ । सकारात्मक सोच पनि राख्नुपर्छ । सकारात्मक सोचले नै हामीलाई अघि बढ्न प्रेरणा दिइरहन्छ ।

हिम्मत र प्रेरणाले नेतृत्व सम्हाल्न सजिलो हुन्छ । चुनौती नआएका होइनन् तर चुनौतीलाई पार लगाउँदै म अघि बढिरहँे । महिला भएकै कारण मैले त्यस्तो कुनै विभेद भने भोग्नु परेन ।

अध्यक्ष भएका बेला देश दौडाहामा निस्कनुभयो होला, नेपालमा महिला उद्यमीको अवस्था कस्तो पाउनुभयो ?

नेपालको उद्यम तथा अन्य आयआर्जनको क्षेत्रमा महिलाको योगदान धेरै नै छ । तर, यसलाई प्रत्यक्ष रूपमा देखिएको भने पाइँदैन । ठूला उद्योगधन्दा कलकारखाना सम्हाल्ने ठाउँमा पुरुष नै हुन्छन् । महिला साना घरेलु तथा ह्यान्डीक्राफ्ट उद्योगमा लागेको पाइन्छ । पर्यटन, कृषिमा पनि महिला उद्यमी धेरै छन् । त्यसको मूल्याङ्कनचाहिँ कम नै छ ।

मैले गाउँ–गाउँका महिला उद्यमीसँग भेटेँ उनीहरू एकदम सक्षम छन् । सीप असाध्यै राम्रो छ तर सीप प्रवद्र्धन गर्न बजार व्यवस्थापन आवश्यक रहेको पाएँ । नेपाली महिलामा धेरै सीप र हिम्मत पनि छ । उनीहरूको सीपलाई निखार्ने र महिलाको आत्मविश्वासलाई दरो बनाउनुपर्ने छ ।

महिला उद्यमशीलताको विकासका लागि नेपालमा कसरी काम गर्न सकिन्छ ?

जबसम्म महिला आफै आर्थिक रूपमा सक्षम हुँदैनन् तबसम्म उनीहरूको आत्मविश्वास बढ्दैन र सफल पनि हुन सक्दैनन् । अहिले महिलामा व्यावसायिक सोच आएको छ र उद्यम–व्यवसायमा अघि बढिरहेका पनि छन् । अहिले जिल्लाहरूमा महिलालाई उद्यमी बनाउन संस्था पनि निर्माण भएका छन् ।

यसले महिलालाई ग्रामीण क्षेत्रबाट नै उद्यममा लाग्न प्रेरित गरेको छ । यतिले मात्र पुग्दैन, महिलालाई तालिम र पूँजीको व्यवस्था हुनुपर्छ । महिलालाई जहिल्यै पनि पूँजीको कमी हुने गरेको पाइन्छ । महिलालाई पारिवारिक समस्यासँग जुधिरहनुपर्छ ।

महिलालाई उद्यमी बनाउन कसरी पूँजी जुटाउन सकिन्छ भनेर महासङ्घ, चेम्बर पनि जिल्लामा लागि परेका छन् । सरकारले पनि अहिले महिलाका लागि सहुलियत दरमा कर्जा उपलब्ध गराएर सहयोग गरिरहेको छ । नयाँ प्रविधि र पूँजीमा खुला पहुँच अवश्यक छ ।

आम नेपाली महिलाले पूँजी जुटाउने उपाय के हुनसक्छ ?

महिला र पुरुषका बीचमा ठूलो खाडल छ, जस्तो पुरुषले व्यवसाय गर्ने चाहेमा उसले घर धितोमा राखेर पनि व्यवसाय गर्नसक्छ । किनकी उसको सम्पत्तिमा प्रत्यक्ष अधिकार छ । पछिल्लो समय सम्पत्तिमा महिलाको पनि अधिकार छ भनिन्छ तर त्यो व्यवहारमा लागू भएको छैन ।

महिलाले विवाहअघि केही गर्न खोज्यो भने आमाबुबाको सहयोग लिनुपर्ने, विवाहपछि श्रीमान् र छोराहरूको सहयोग लिनुपर्ने हुन्छ । धेरैले त सहयोग पनि पाउँदैनन् ।

महिलाले सहुलियत दरमा बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने ऋणको उपयोग गरेर व्यवसायमा प्रवेश गर्नुपर्छ । शुरू गरेको व्यवसायलाई पुनः धितोमा राखेर व्यवसाय विस्तार गर्न पनि सकिन्छ । सरकारले महिला उद्यमीलाई दिने कर्जा पनि सर्वसुलभ, छिटोछरितो र झन्झटरहित हुनुपर्छ ।

एउटी महिलाले उद्यमी बन्ने सपना देखिन् भने पूरा हुने सम्भावना कति छ ?

हामी कसैले सपना नदेखी कुनै कुरा पूरा गर्न सक्दैनौँ । मेरो व्यक्तिगत जीवनलाई हेर्नुहुन्छ भने पनि मैले सपना देखेँ र त्यसको पछाडि दौडिएँ । महिला होस् वा पुरुष सपना देख्नैपर्छ । सपना सफल बनाउन निकै मेहनत गर्नुपर्छ । दृढसङ्ककल्पसहित अघि बढेपछि सपना पक्कै पूरा हुन्छ भन्ने कुरामा म विश्वास गर्छु ।

संयोग नै मान्नुपर्छ तपाईं नेपालको निजीक्षेत्रको ठूलो संगठनको अध्यक्ष बन्नुभयो, सोही समयको आसपासमा नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख सबै महिला हुनुहुन्थ्यो । नेपालका लागि यो ऐतिहासिक कुरा पनि थियो ? यसले तपाईंलाई कस्तो महसुस गरायो र महिला सशक्तीकरणमा यसले कस्तो भूमिका खेल्यो ?

यो गर्वको विषय हो । राष्ट्रपतिमा महिला, निजीक्षेत्रमा महिला, न्यायालयमा महिला र संसद्को उपल्लो दर्जामा पनि महिला । वास्तवमै यो ऐतिहासिक क्षण थियो । एकपटक मात्र त्यहाँ पुगेर हुँदैन, यसको निरन्तरता हुनुपर्छ । आगामी दिनमा नेतृत्वमा आउन समग्र महिलामा हिम्मत पैदा गर्नु पनि हो ।

मेरो क्षेत्रको मात्र कुरा गर्दा जिल्ला–जिल्लामा उद्योग वाणिज्य सङ्घमा मनोनीत गरेर महिला ल्याउने गरिन्थ्यो । तर, उनीहरूले अहिले हामी मनोनीत होइन, चुनाव लडेर जान्छौं भन्नुहुन्छ । चुनावमा प्रतिस्पर्धी भएर आएको अवस्था छ । महिलालाई सधैँ सदस्यमा मात्र राखिन्थ्यो ।

अब सदस्यमात्र होइन, पदाधिकारीमा हामी जानुपर्छ भन्दै उहाँहरू आउनुभएको छ । महिला म पनि सक्षम छु भनेर अगाडि आउनु गर्वको कुरा हो । उहाँहरूमा जागरुकताका र आत्मविश्वास आउनु भनेको एकदम सकारात्मक पक्ष हो ।

तपाईंको व्यवसायको पनि कुरा गरौँ । नेपालगञ्जको आफ्नो पुख्र्यौली घरमा १० वटा कोठाबाट शुरू गरिएको होटल स्नेहाको अवस्था कस्तो छ ?
दशओटा कोठाबाट शुरू गरेको होटेल स्नेहा अहिले ६५ ओटा कोठामा विस्तार भएको छ । अहिले चारतारे होटलका रूपमा सञ्चालन गरिरहेका छौँ । कोरोनाको समयमा समग्र पर्यटन व्यवसायमा धक्का पुग्यो । अहिले आन्तरिक र बाह्य पर्यटकको आगमन भइरहेको छ । यसले अब होटल व्यवसाय पनि राम्रैसँग अघि बढ्छ ।

होटलबाहेक अन्य कुन–कुन क्षेत्रमा व्यवसाय विस्तार गर्नुभएको छ ?

होटलबाहेक कृषि, स्वास्थ्य सामग्री, बीमामा पनि हाम्रो व्यवसाय छ ।

त्यसो भए अहिले परिवार नै व्यवसायमा आबद्ध हुनुहुन्छ ?

मेरो बुबा सरकारी कर्मचारी, यता घरतिर सासूआमा पनि सांसद हुनुहुन्थ्यो, बुबाआमा स्वर्गे भइसक्नुभयो । अहिले हामी छोराछोरी सबै व्यवसायमा आबद्ध छौं ।

तपाईंको बाल्यकाल कसरी बित्यो ?

बाल्यकाल मेरो सारै रमाइलोसँग बित्यो । बुबा राजधानीबाहिर भएकाले म सानैदेखि होस्टलमा नै बसेर पढे र, त्यहीँ हुर्किए । हामी दिदीबैनी दुवै सेन्टमेरिजमा पढ्यौं । छुट्टीमा घर आउथ्यौँ । सानो छँदा म पढाइमा भन्दा पनि अन्य क्रियाकलाप गर्ने, खेल्ने, चकचक गर्नेमा पोख्त थिए ।

बुबा धेरै व्यस्त हुनुहुन्थ्यो । आमाले हामीलाई सधैँ केही न केहीमा व्यस्त राख्ने गर्नुहुन्थ्यो । छुट्टीमा घर आएको बेलामा हामीलाई पौडी र सङ्गीत सिक्न पठाउनुहुन्थ्यो । बाल्यकाल रमाइलोसँग नै बित्यो ।

तपाईंको दिनको शुरुआत कसरी शुरू हुन्छ ?
दिनको शुरुआत सकारात्मक सोचबाट हुनैपर्छ । मेरो दिन आर्टअर्फ लिभिङबाट शुरू हुन्छ । सामान्य कसरत गर्छु, कसरतपछि नित्य पूजा गर्छु । यसले मलाई दिनभर शक्ति प्रदान गर्छ । त्यसपछि म अरू दैनिक काममा व्यस्त रहन्छु ।